ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ । काठमाडौंमा आज आयोजित एक समारोहबीच दुई बैंकका अध्यक्षहरुले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । दुवै बैंकको वार्षिक साधारण सभा सम्पन्न गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति प्रश्चात एकीकृत कारोबार सुरु हुनेछ ।

उक्त सम्झौता कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाहरुको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्ज भएको बताउँदै मर्जपछि यो संस्था ७७ जिल्लामै शाखा संजाल भएको नेपालकै सबैभन्दा ठूलो बैंक बन्न सफल हुने विश्वास व्यक्त गरे ।

ग्लोबल आइएमई बैंक मर्जरमा सधैं अग्रपंक्तिमा रहेको बताउँदै अध्यक्ष ढकालले यस अघि ग्लोबलले १० वटा विभिन्न वित्तीय संस्थासँग र जनताले ७ वटासँग मर्ज गरिसकेकोले यो १८ औं मर्ज रहको र यो वित्तीय क्षेत्रमा नयाँ किर्तिमान हो भनेका छन् ।
सो अवसरमा जनता बैंकका अध्यक्ष रायमाझीले देशको उत्कृष्ट वित्तीय संस्था स्थापना गर्ने योजना एवं नीति बमोजिम ग्लोबल आइएमई बैंकसँग नेपाल राष्ट्र बैंकको सहमति लिएर मर्जमा जाने निर्णय गरिएको बताउदै उनले ग्लोबल बैंकसँगको मर्जरका सम्पूर्ण प्रक्रिया टुंगो लागिसकेकाले चाँडै संयुक्त कारोबार हुने बताए ।

यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतीपत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको सीईओ परशुराम कुँवर क्षेत्री रहने र ग्लोबल आइएमई बैंकका कामु सीईओ महेश शर्मा ढकाल वरिष्ठ डेपुटी सीईओ हुने सहमति भएको छ ।

मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । संयुक्त बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १२ अर्ब भन्दा बढी र कुल कर्जा लगानी २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकका ३०० भन्दा बढी शाखा र ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै संयुक्त बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक सम्पर्क कार्यालय रहने छन् ।