हर्ष, उल्लास र उमङ्गको चाड दशैं

ज्ञानमाण्डू।हाम्रो धर्म हाम्रो संस्कृति र आचरणबाट जोडिएको छ । प्रकृतिसँग बेग्लै  मेलमिलाप को भावना बोक्ने हामी नेपालीहरूको पर्व र चाडहरू पनि मौसम विविध छन् । असारको  चर्को  घाम देखी माघे  सङ्क्रान्तिको शीतलता सम्म हाम्रा चाड पर्वहरूमा प्रकृतिले आफ्नै अनौठो  भूमिका बाँध्ने गरेको छ । हामीले परम्परागत रूपमा मनाउने चाड, पर्व, जात्रा, मेला तथा अन्य सांस्कृतिक उत्सवहरूको आ–आफ्नो विशेषता पनि जोडिएको छ ।

महिना दिनअघि, असार १५ मा दही चिउरा खाने पर्वबाट सुरु भएका हाम्रा चाढहरु आज आइपुग्दा विजय दशमी को छैटौँ दिनमा छौँ ।हामी नेपालीहरूले मान्ने चाडमध्ये प्रमुख चाडपर्वको रूपमा दशैं पर्व पर्दछ । विशेष गरेर हिन्दु धर्म मान्नेहरूले यो पर्वलाई धर्म संस्कृति र परम्पराको रूपमा मनाउँदै आएका छन् । दशैं  वा बडा दशैं (अन्य नाम: दश हरा, विजया दशमी नवरात्र आयुध-पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने दशैं(नवरात्र) हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दसौँ दिन बिहान दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रूपमा पूर्णिमा सम्म (प्रसाद ग्रहणका लागि)मनाउने गर्छन् ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन परम्परागत हो ।  आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ । यस कारण, यस दशमीलाई विजया दशमी भनिएको हो ।

महासप्तमी:
नव रात्रिको सातौँ दिनलाई फुलपाती, आठौँ दिनलाई महा अष्टमी, नवौँ दिनलाई महा नवमी एवं दशौँ दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्त्व अधिक रहेको पाइन्छ। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्र्याउने कार्यलाई फुलपाती भित्र्याउने गरिन्छ ।

महा अष्टमी:
नव रात्रिको आठौँ दिनमा महा काली -भद्रकालीको विशेष पूजा-आज गरिन्छ। देवीदेवता अनुसार प्राचीन कालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौँ योनि-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ।

महा नवमी:
नव रात्रिको नवौँ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आज गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नव कन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईर्ष्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोह ग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटुन्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दशैंको हो ।

विजया दशमी:
नव रात्रिको दशौँ दिनलाई विजयादशमी पनि भनिन्छ | यस तिथिका दिन घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अबिर र दहीमा मुछेको चामलका टीका निधारमा र घटस्थापनाका दिन रोपिएको जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्।

हाम्रो समाज, जहाँ १२५ जातिहरू मध्ये १२३ जातिहरूले आफ्नो भाषा बोल्ने गर्दछन्, हाम्रो दशैं मनाउने तरिका बेग्ला बेग्लै भएतापनी हाम्रो भाव र महत्त्वाकाङ्क्षा समान हुने गर्दछ ।

शरद ऋतुको शीतल याम, वन उपवनमा ढकमक्क फुलेका फुलहरू हेर्दा हरेके नेपालीको मन हर्षित हुने गर्दछ । खेतमा लहलह झुलेका धानका बालाहरू, फलफुलहरूको मिठो सुगन्ध, थामिएको वर्षा, न जाडो छ नत गर्मीको आभास हुने चाड  नै दशैं हो । दशैं पर्व उल्लास र उमङ्गको चाड हो ।

बडा दशैंको उपलक्ष्यमा हाम्रा समस्त पाठक, शुभचिन्तक, विज्ञापन दाता, स्वयम् सेवक रूपमा सहयोग गर्नु हुने सहयोगात्मक तथा साइन्टिफिक लर्निङ सेन्टर र ज्ञानमाण्डूलाई माया गर्नु हुने सबैमा बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।