Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

वैदेशिक रोजगारीमा जानेलाई मनोपरामर्श दिन सुझाव

ज्ञानमाण्डू।मानसिकरुपमा स्वास्थ्य नभएसम्म शारीरिकरुपमा सक्षम नहुने भएकाले वैदेशिक रोजगारीमा जाने कामदारको शारीरिक परीक्षणसँगै उचित मनोपरामर्श दिनु आवश्यक भएको सरोकारवालाले बताएका छन् । 

राष्ट्रिय मानवअधिकार आयोग र ‘कोसिस’ नामक संस्थाले संयुक्तरुपमा आयोजना गरेको ‘आप्रवासन र मानसिक स्वास्थ्य’ विषयको अन्तरक्रियामा सहभागी वक्ताले पारिवारिक वियोगसँगै गन्तव्य मुलुकमा आइपर्ने मानसिक तनाव व्यवस्थापनका लागि प्रस्थान पूर्व नै मानसिक स्वास्थ्य जाँच गरिनु आवश्यक भइसकेको बताए । 

परिवारको समृद्धिका लागि बिदेसिएको युवाले आप्रवासका विभिन्न चरणमा मानसिक समस्या भोग्दै आएका छन् । वैदेशिक रोजगारीमा जाँदाको उच्च लागत, गन्तव्य मुलुकको भाषा तथा कानुनको ज्ञान नहुनु, कार्यस्थलमा अतिरिक्त बोझ, दुर्व्यवहार, परिवारसँगको बिछोडलगायत कारणबाट आप्रवासी कामदार मानसिक समस्यामा फस्दै आएका छन् । मानसिक समस्याबाट प्रताडित कतिपय युवाले आत्महत्यासमेत गर्दै आएका छन् । वैदेशिक रोजगारीमा आत्महत्या हुनुको प्रमुख कारण मानसिक समस्या रहेको पाइएको छ । 

पछिल्लो दश वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका ८९२ ले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डको तथ्याङ्कअनुसार आत्महत्या गर्नेको सङ्ख्या वार्षिकरुपमा वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०६५/०६६ मा ९, आव २०६६/०६७ मा २४, आव २०६७/०६८ मा ६४, आव २०८६/०६९ मा ६६, आव २०६९/०७० मा ८१ र आव २०७०/०७१ मा ९३ जनाले विभिन्न गन्तव्य मुलुकमा आत्महत्या गरेका छन् । यस्तै आव २०७१/०७२ मा ११३, आव २०७२/०७३ मा १०९, आव २०७३/०७४ मा ९०, आव २०७४/०७५ मा १३२ र आव २०७५/०७६ मा १११ जनाले विदेशी भूमिमा आत्महत्या गरेको बोर्डले जनाएको छ । 

मानोविद् डा नरेन्द्रसिंह ठगुन्ना ‘कल्चरल सक्ड’, परिवारसँगको बिछोडका कारण एक्लोपन महसुस हुनु, मानसिक तनाव, कार्यस्थलको तनावका कारण आत्महत्या गर्ने अवस्थामा पुगेको बताउँछन् । 

सिभिल अस्पतालका मनोचिकित्सक डा दिनेशकुमार लम्साल मानसिक समस्यासँगै शारीरिक समस्या पनि उत्तिकै महत्त्वपूर्ण भएको बताउँछन् । “वैदेशिक रोजगारीमा जाने कोही पनि व्यक्तिको मानसिक स्वास्थ्य परीक्षण गर्ने प्रचलन रहेको छैन, फर्केका व्यक्तिमा पनि उत्तिकै समस्या छ”, “शारीरिक परीक्षण मात्र गरिन्छ, मानसिक समस्या भएका व्यक्तिले कसरी काम गर्छन्, त्यसतर्फ बेलैमा सोच्नुपर्छ ”, उनको भनाइ रह्यो।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक प्रारम्भिक अध्ययनबाट १३ प्रतिशत कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारमा झन् यो समस्या ठुलो छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका मानसिक रोग विभागका प्रमुख सरोज ओझा वैदेशिक रोजगारीमा गएका व्यक्ति मात्र नभई परिवार पनि मानसिकरुपमा विक्षिप्त हुने गरेको बताउँछन् । वैदेशिक रोजगारीबाट मानसिक समस्या झेलेर उपचारको खोजीमा शिक्षण अस्पताल आएका व्यक्तिको अध्ययन गर्दा ३० प्रतिशतमा ‘डिप्रेसन’को समस्या देखिएको उनको भनाइ छ । 

“वैदेशिक रोजगारीमा जानु पूर्व मानसिक स्वास्थ्य जाँच गरिनु अत्यन्त आवश्यक छ, गन्तव्य मुलुकमा पनि मानसिक उपचारका लागि संवाद गर्नुपर्छ”, उनका अनुसार, “अब गन्तव्य मुलुक पनि जिम्मेवार बन्नुपर्छ, साधारण मानसिक समस्या भएरै विदेशबाट कामदारलाई फर्काइनुहुन्न ।” कामदारको मानसिक समस्यालाई शारीरिक समस्या सरह हेर्न उनी सुझाव दिन्छन् । 

मानोविद् ठगुन्ना ‘साइको थेरापी’ र ‘काउन्सलिङ’बाट ९० प्रतिशत मानसिक रोगको समाधान हुने बताउँछन् । “यो धेरै खर्चिलो पनि छैन, गन्तव्य मुलुकका स्वास्थ्य संस्थासँग सम्पर्क राख्दिनुपर्छ”, उनको भनाइ रह्यो । 

सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक राना वैदेशिक रोजगारीमा जाने क्रममा चर्को सेवा शुल्क तिर्नुपर्ने कारणबाटै कामदार मानसिक समस्यामा पर्ने गरेको बताउँछन् । “अपारदर्शी भर्ना प्रक्रियाबाट कामदारमा मानसिक तनाव उत्पन्न हुन्छ, त्यस्तै गन्तव्य मुलुकमा न्यायमा पहुँच हुँदैन, सानो मानसिक समस्याले आत्महत्या जस्तो विकाराल रूप लिँदै छ, यसमा सबै गम्भीर बन्नु पर्छ”, उनको भनाइ रह्यो । 

अभिमुखीकरण व्यवसायी महासङ्घका अध्यक्ष राजाराम गौतम पछिल्लो समय अभिमुखीकरण पाठ्यक्रममा परिमार्जन गरी मानसिक समस्या, तिनको समाधानका उपायबारे कामदारलाई अभिमुखीकरण दिने गरिएको बताउँछन् । पछिल्लो समय प्रस्थान पूर्व, प्रस्थान गर्दा, गन्तव्य मुलुकमा हुँदा र स्वदेश फर्कँदा आइपर्ने मानसिक समस्या समाधान गर्ने गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिँदै आएको महासङ्घले जनाएको छ । 


नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विष्णु गैरे कामदारलाई मानसिक स्वास्थ्यका बारेमा जानकारी दिनुपर्ने बताउँछन् । कामदारको मनोपरामर्शमा सरकारसँग सहकार्य गर्न व्यवसायी तयार रहेको उनको भनाइ थियो । 

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक जान श्रेष्ठ मानसिक समस्यामा पर्ने नेपाली कामदारको सङ्ख्या अधिक रहेको पाइएको हुँदा अभिमुखीकरणको क्रममा तनाव व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउँछन् । 

“श्रव्य दृश्यको माध्यमबाट हामीले कामदारलाई तनाव व्यवस्थापनका बारेमा तालिम दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा गएका परिवारलाई लक्षित गरेर सुरक्षित आप्रवासन परियोजनामार्फत ३९ जिल्लामा मनोसामाजिक परामर्श दिँदै आएका छौँ । फेरि पनि आप्रवासी कामदारलाई मानसिक रूपमा स्वास्थ्य राख्न हाम्रो प्रयास जारी छ ।” आयोगका सदस्य सुदिप पाठकले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा मानसिक स्वास्थ्य गम्भीर विषय भएको र यो आयोगको चासोको विषयसमेत भएको बताए ।रासस

Ad After News Content

GME

Enjoy Your Study