Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

बिरामी भई निको भएपछि कुद्न केही समय लाग्छ, शेयर बजारको चक्रमा पनि यही हुने हो

विगत लामो समय देखि शेयर बजारमा लागेका सन्तोष राज बजगाई शेयर बजार विकास र विस्तारका निमित्त निरन्तर आफ्नो हिसाबमा लाग्ने एक पात्र हुन्।  शेयर बजारको विषयमा बजगाईले निरन्तर कलम चलाउँदै आउनु भएको छ।  सानै उमेरमा शेयर बजारमा प्रवेश गरेका बजगाईको एक दशक जतिको शेयर बजारको अनुभव रहेको छ।  भारतमा हुँदा भारतीय पुँजी बजारको समेत ज्ञान हासिल गरेका बजगाईं हाल नेपाली शेयर बजारका नव-प्रेवेशीलाई लक्षित एक पुस्तक लेख्दै हुनुहुन्छ। शेयर बजारको वर्तमान अवस्था र समसामयिक कुराहरुसँग केन्द्रित हुँदै ज्ञानमाण्डू डट कमका विक्रम भट्टराईसँग गरेको कुराकानीमा आधारित:

अहिलेको वर्तमान शेयर  बजारलाई कसरी हेर्नु भएको छ ?
वि.स. २०७३ साल श्रावण १२ गते आज भन्दा करिब साढे ३ वर्ष अघि नेपालको शेयर बजार इतिहासमै "इन्ट्रा डे" मा १८८८को विन्दु सम्म पुगे पनि सो दिन बजार बन्द हुँदा १८८१ को विन्दुमा गएर बजार बन्द भएको थियो। त्यस पछि निरन्तर घटेको बजार २०१९ मार्चको पहिलो साता "इन्ट्राडे" मा ११०० को विन्दु भन्दा मुनि आए पनि बजार बन्द हुँदा ११०० विन्दु भन्दा माथि नै बन्द भएको थियो। त्यस पछि बजारले निकै धेरै पटक ११०० भन्दा मुनि आउन खोजे पनि ११०० को विन्दुलाई बलियो टेवा बनाउँदै बजारले माथिल्लो दिशा समातेको थियो। यस बाट बजारले ११००को विन्दु लाई बलियो टेवा बनाएको प्रस्ट देखिन्छ। हाम्रो बजारको चक्र हेर्ने हो भने पनि ३ वर्षको बियरिस ट्रेन्ड रहेकोमा सो अवधि पनि समाप्त भएको देखिन्छ।

त्यसो भए बजार बढ्न किन मानिरहेको छैन?
मानौँ एउटा मान्छे करिब २-३ वर्ष देखि अस्वस्थ भएर अस्पतालमा भर्ना भएको छ। लामो समय अस्पतालमा बसेपछि उसलाई डाक्टरले निको भयो भन्दै घर जाने सल्लाह दिन्छ। उ घर पनि जान्छ तर पहिले जस्तै दैनिक कार्य गर्न उ केही समय सक्दैन। अहिलेको बजारमा पनि भएको यही नै हो। बजार ३ वर्ष देखि नराम्रो हिसाबले बियरिस चक्रमा फस्यो र अब उ दौडिन केही आराम गर्दै छ भन्दा फरक नपर्ला कि । (हाँस्दै) बजारले यस्तो अवस्थामा राम्रो हेरचाह र औषधी पाएमा छिट्टै कुद्न सक्छ न भए केही समय लाग्न सक्छ। 

त्यसो हो भने अहिलेको बजारको औषधि मुलो के हो त ?
बजारका अन्य पाटाहरू जति नै बलियो भए पनि बजार बढ्न बैङ्किङ्ग प्रणालीमा तरलता धेरै हुनु पर्दछ र बैङ्कको व्याज घट्नु पर्दछ। अमेरिकामा त्यसै भनिएको होइन "Don't fight with fed" लगानीकर्ताले बचत भन्दा शेयर बजारका संस्थाहरूले दिने लाभांशको प्रतिफल धेरै हुनु पर्छ र लगानीकर्ताले सस्तोमा कर्जा पाउनु पर्छ। त्यस्तै नियामक निकायले पनि बजारलाई विस्तार गर्न ठोस कदम चाल्नु पर्छ र लगानीकर्ताहरूले सरकार शेयर बजार प्रति सकारात्मक छ भनेर विश्वस्त हुनुपर्छ।

अहिलेको अवस्थामा बजार मूल्य र कम्पनीलाई दाँज्दा के पाउनु भएको छ?
वाणिज्य बैङ्कहरूको कुरा गर्ने हो भने धेरै वाणिज्य बैङ्कको मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम छ त्यस्तै बेन्जामिन ग्रामको वास्तविक मूल्यको सूत्र प्रयोग गर्दा पनि बैङ्कहरू अन्डर भ्यालुड नै देखिन्छन् । लाभांशलाई बजार मूल्य सँग दाँज्दा बचतको व्याज जस्तै देखिएको छ। अन्य क्षेत्र सँग दाँज्दा वाणिज्य बैङ्क र विकास बैङ्कहरू मूल्य-आम्दानी, लाभांश र बजार मूल्यको आधारमा अन्डर भ्यालुड देखिन्छन्।

त्यसो भए बजार बढ्दा बीमा र लघुवित्त मात्रै बढेको देखिन्छ नि, किन ?
बजारमा माग र आपूर्तिको पनि ठुलो हात हुन्छ। वाणिज्य बैङ्कको तुलनामा बीमा र लघुवित्तको साधारण शेयर बजारमा कम छ जसको साधारण शेयर बजारमा कम छ उसमा उतारचडाव धेरै हुन्छ र साधारण शेयर बजारमा धेरै हुने कम्पनीहरूको उतारचडाव केही कम देखिन्छ। यही कारणले गर्दा कारोबारीहरूले बैङ्कहरू भन्दा बीमा र लघुवित्तमै आफ्नो ध्यान केन्द्रित गर्ने गर्दछन्।

आजकल केही शेयरमा "पम्प एन्ड डम्प" र "शेयर कर्नरिङ्ग" भयो भन्ने सुन्निन्छ, यसको खासमा मतलब के होला ?
पम्प एन्ड कम्प र कर्नरिङ्ग भनेका शेयर बजारमा केही ठुला खेलाडीहरूले प्रयोग गरेर आफू अनुकूल बजार मूल्य निर्धारण गर्न खोज्छन्। कुनै कम्पनीको शेयर आफू र आफ्नो समूहले किनेर बजारमा कृत्रिम रूपमा आपूर्ति घटाउने र बजार मूल्य बढाउने प्रक्रियालाई शेयर कर्नरिङ्ग भनिन्छ त्यस्तै आफूसँग भएको शेयरको अनावश्यक सकारात्मक हल्ला फैलाएर कम्पनीको बजार मूल्य बढाई आफू शेयर बेचेर निस्कने प्रक्रियालाई नै पम्प एन्ड डम्प भनिन्छ। खेलाडीले शेयर बेचे पछि अब शेयरको मूल्य घट्न थाल्छ।

यी दुवै कारणले गर्दा धेरै लगानीकर्ताहरू फस्दै आएका छन्। नियामक निकायले यसलाई नियन्त्रण गर्न ठोस कदम चाल्नु पर्ने देखिन्छ।

केही समय यता जीवन बिमामा लगानीकर्ताहरू आकर्षित हुनुको कारण के होला ?
बैङ्क तथा वित्तीय संस्थाहरूले लाभांश प्रस्ताव गरी धेरैले साधारण सभा गरिसकेको अवस्था छ। केही निर्जीवन बीमा कम्पनीहरूले पनि लाभांश प्रस्ताव गरिसकेका छन् तर एउटा पनि जीवन बीमा कम्पनीले लाभांश प्रस्ताव नगरेकाले लगानीकर्ताहरू जीवन बीमा कम्पनीको शेयरमा आकर्षित हुनु स्वाभाविक हो ।

अहिलेको अन्लाईन कारोबार प्रणालीलाई कसरी हेरिरहनु भएको छ ?
सर्वप्रथम अन्लाईन ल्याउनु भएकोमा नेप्सेलाई धन्यवाद दिन चाहन्छु। तर पूर्ण स्वचालित अन्लाईन कारोबार प्रणालीमा बैङ्क खाता र डिम्याट खाता Integration हुनु पर्दछ। लगानीकर्ताले शेयर किने पश्चात् स्वचालित रूपमा बैङ्कबाट पैसा काट्ने र बेचे पश्चात् स्वचालित रूपमा बैङ्क खातामा रकम आउने व्यवस्था गरिनु पर्दछ।

पूर्ण स्वचालित अन्लाईनमा ब्रोकर सँग भौतिक रूपमा लगानीकर्ताले त्यति धेरै जानु आउनु पर्दैन। धेरै लामो प्रयास पश्चात् अनलाइन ट्रेडिङ्ग आएको छ अब आगामी दिनहरूमा स्वचालित रूपमा अन्लाईन कारोबार सम्भव हुने नै छ। सबै कुरो एकै पटक हुने पनि त होइन नि ?

नव प्रवेशी लगानीकर्ताहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
शेयर बजारमा साथी भाइ, टोल छिमेकीले कमाए भन्दैमा भए भरको पैसा एकै पटक लिएर शेयर बजारमा प्रवेश गर्नु हुँदैन। अरूको आम्दानी भयो भन्दैमा देखासिकी गरेर लगानी गर्नु हुँदैन।

बजारमा प्रवेश गर्दा धेरै नै आशावादी भएर लगानी गर्नु पनि हुँदैन। बजारमा सर्वप्रथम आफ्नो पुँजी घट्न नदिने रणनीति अपनाउनु पर्दछ। कम्पनीहरूको मूल्य आम्दानी अनुपात कम भएको बेलामा, व्याज दर घटिरहेको बेलामा, निरन्तर लाभांश दिने कम्पनीहरू र प्रत्येक वर्ष व्यापार वृद्धि गर्दै गएका कम्पनीहरूका शेयर किनेर दीर्घकालीन लगानी गर्दा शेयर बजारमा केही वर्षमा राम्रो प्रतिफल नजिक पुग्न सकिन्छ तर शेयर किने पछि बिर्सिने बानी गर्नु राम्रो होइन, बजारका अन्य तत्वहरु र कम्पनीको बारेमा निरन्तर जाँच गरिरहनु पर्दछ। पोर्टफोलियो व्यवस्थापन बिनाको लगानीमा निकै नै जोखिम हुन्छ।

वारेन बफेटका अनुसार खोला तर्दा दुईवटा खुट्टा एकै पटक खोलामा हाल्नु हुँदैन त्यस्तै शेयर बजारमा आफूले लगानी गर्ने रकम एकै पटक शेयर बजारमा लगाउनु हुँदैन। अत्याधिक कर्जा लिएर बजारमा लगानी गर्नु पनि उत्तिकै जोखिम हुन्छ। 

तपाईको आउंदै गरेको पुस्तकको बारेमा केही भन्न चाहनुहुन्छ ?
मैले नेपालको शेयर बजारमा प्रवेश गर्न चाहने नवप्रवेशीलाई लक्षित एउटा पुस्तक लेख्दै छु।  समयको अभावले सो पुस्तक निर्धारित समयमा प्रकाशन गर्न अप्ठेरो भयो।  अर्को वर्ष लगानीकर्ताको हातमा सो किताब पुग्ने छ।
किताब नवप्रवेशीलाई राम्रो हुने मैले विश्वास गरेको छु।  मेरो पुस्तक वि.स. २०७७ सालमा मा प्रकाशन हुने कुराको जानकारी पनि आजको यो अन्तर्वार्ता बाट जानकारी दिन चाहन्छु। 

अन्त्यमा हजुरको व्यस्त समयको लागि धन्यवाद दिन चाहन्छौ!
ज्ञानमाण्डू र विक्रम सरलाईपनि पनि धन्यवाद, मेरो केही विचार राख्न समय र अवसर दिनु भएकोमा।

प्राविधिक सहयोग : नरेश गुरुङ्ग

Ad After News Content

GME

Enjoy Your Study