Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

बाह्य पर्यटकको पहिलो रोजाइ दलित घरबास

ज्ञानमाण्डू।तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङस्थित आँपस्वाँरा सामुदायिक होमस्टे (घरबास) मा सन् २०१९ मा करिब २०० बाह्य पर्यटकले घरवासको सुविधा लिएका छन् । सदरमुकाम दमौलीबाट करिब पाँच किलोमिटर दुरीमा रहेको नेपालकै पहिलो र नमुना उक्त घरबासमा आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । भ्रमण वर्ष २०२० मा गत वर्षको भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको आँपस्वाँरा सामुदायिक घरबास व्यवस्थापन समितिले जनाएको छ । 

घरबासमा विशेष गरी अमेरिका, स्वीट्जरल्याण्ड, चीन, जापान, जर्मन अस्ट्रेलिया र फ्रान्सलगायतका देशबाट पर्यटक आउने गरेका छन् । आन्तरिक पर्यटकको सङ्ख्या भने नगन्य छ । 

त्यस क्षेत्रका चौबिस घरधुरीका विश्वकर्मा जातिका मानिसले विसं. २०७३ कात्तिक महिनाबाट सञ्चालनमा ल्याएको उक्त घरबासमा बढीमा १०० जना पर्यटकलाई व्यवस्था गर्न सकिने क्षमताको रहेको बताइएको छ । स्थानीय स्तरमा उत्पादन गरिएका जैविक तरकारी, कुखुरा, खसी बोका र कालो सुँगुर नै यहाँको प्रमुख खाना हो । 

घरबास सञ्चालक सबै घरधुरीले आआफ्नै बारीमा तरकारी खेती र पशुपालन गर्दै आएका कारण बजार धाउनु नपरेको समितिका अध्यक्ष रेसम विश्वकर्माले बताए । दलितले सामुदायिक घरबास सञ्चालन गर्न थालेदेखि अन्य समुदायका मानिसले हेर्ने दृष्टिमा परिवर्तन आएको छ भने जातीय विभेद हटाउन सहज बनेको छ । 

होमस्टेबाट माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङखलाका साथै मनोरम हरियाली दृश्य हेर्न सकिने हुँदा पर्यटकको आकर्षण बन्दै गएको छ । पर्यटन मन्त्रालय गण्डकी प्रदेशबाट केही दिनअघि आएको अनुगमन टोलीसमेतले उक्त घर बासको अनुगमन गरेको थियो । अनुगमनका क्रममा महत्त्वपूर्ण सुझाव पाएको विश्वकर्माले जनाए । प्रदेश सरकारबाट प्राप्त रु दश लाख र व्यास नगरपालिकाको रु एक लाख गरी रु एघार लाखको लागतमा एक किलोमिटर (सिँढी) बाटोमा ढुङ्गा बिछ्याउने र स्वागत द्वार निर्माण गरिएको छ । 

व्यास नगरपालिकाले घरबास प्रवर्द्धनका लागि पटक पटक गरी हालसम्म रु एघार लाख ५० हजार बजेट विनियोजन गरिसकेको छ । उक्त बजेटबाट घरबासमा स्नान गृह निर्माण, घरको आँगनमा ढुङ्गा बिछ्याउने, खाट(लो–बेड) खरिदलगायतको कार्य गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिएका छन् । 

घरबासमा आउने पाहुनालाई मनोरञ्जन प्रदान गर्न बेलुकाको समयमा सांस्कृतिक कार्यक्रम गरिने गरेको समितिका कोषाध्यक्ष मधुमाया विकले बताए । यहाँ आउने पाहुनालाई दलित समुदायको रहनसहन, जीवनशैली, पेसा र संस्कृति देखाइन्छ । उनले भने , “घरबास सञ्चालन पश्चात् यहाँका मानिसको आनीबानीमा आमूल परिवर्तन हुनुका साथै स्वरोजगार बन्न सफल भएका छन् ।” 

दलित सङ्ग्रहालयको अवधारणा: 

समितिले पुख्र्याैली पेशालाई संरक्षण गर्ने उद्देश्यले दलित सङ्ग्रहालय बनाउने भएको छ । आफ्नो पुर्ख्यौली पेशाका दृश्य र निर्माण गरेका सामग्री सङ्ग्रहालयमा राखेर संरक्षण गर्न लागिएको अध्यक्ष विश्वकर्मा बताउँछन् । विशेष गरी विश्वकर्मा जातिको आरन पेसा, नेपालीको जुत्ता सिलाउने, हलो बनाउने र परियारको लुगा सिलाउने पुख्र्याैली पेसा पछिल्लो समय लोप हुँदै गएका कारणले पनि यस्ता सामग्रीको संरक्षण गर्न लागिएको हो । 

घरबासमा आउने पर्यटकलाई जातीय पुर्ख्यौली पेशाबारे जानकारी दिँदै यस्ता सामग्री निर्माणको लागि प्रोत्साहन गर्ने गरिएको समितिका कोषाध्यक्ष विकले जानकारी दिए ।रासस