Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

भत्किएका छाउगोठभित्र नभत्किएका मन

ज्ञानमाण्डू।जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुसी लागेको छ । सामाजिक कुरीतिका रूपमा रहेको छाउगोठ बस्ने प्रचलन सुमित्राले आमाबाट सिकेकी थिइन् । 

पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्ने गरेको छ । अहिले सुमित्रा जस्तै गाउँका अधिकांश महिला छाउगोठ भत्काएर विगतको कुसंस्कारलाई सधैँका लागि अन्त्य गर्ने योजनामा छन् । गाउँमा पढे, लेखेका युवाहरू यो अभियानमा लागे पनि अघिल्लो पुस्ता भने छाउगोठ भत्काउने अभियानमा सक्रियताका साथ सहभागी भएको देखिएको छैन । अघिल्लो पुस्ता अझै देवता रिसाउने र अनिष्ट हुने भन्दै कुसंस्कारको जगेर्नातर्फ उन्मुख भएको झिनो स्वरहरू मसिनो रूपमा उठाउँदै आएका छन् । 

शिक्षित परिवारकै घरमा छाउगोठ भत्काए पनि घरभित्र चुलो रहेको र देवता ध्वजापताका भएको ठाउँमा भने महिनावारी हुँदा जान नपाउने बाध्यता अझै कायम रहेको छ । विद्यालयमा पढाउने शिक्षकले विद्यालयमा कुप्रथा भन्दै कक्षाकोठामा पढाउँछन् तर घरमा जाँदा छोरी, बुहारी र श्रीमतीलाई महिनावारी हुँदा सात दिनसम्म मूल कोठाको प्रवेशमा रोक लगाउँछन्, अनि कसरी हुन्छ परिवर्तन ? जुनिचाँदे गाउँपालिका–७ का रामबहादुर खड्काको भनाइ रह्यो । 

खड्काले भने, “हाम्रा सोच, विचार र संस्कारहरू बदल्न आत्मदेखि आनीबानी बदल्न जरुरी छ, शिक्षक आफै धामी छ, दैनिक छिमेकीको घरमा देवता निकालेर बिरामीलाई भूत, प्रेत र बोक्सी लागेको भन्दै हिँड्छ ? ” 

जिल्ला प्रशासन कार्यालयले छाउ बस्ने र बस्न बाध्य पार्नेलाई सरकारी सेवा सुविधा रोक्ने भन्दै सदरमुकाममा प्रचार गरे पनि त्यो सूचना गाउँ गाउँमा पुग्न सकेको छैन । छाउगोठ भत्काउन सुरु गरे पनि मानिसभित्र रहेको कुसंस्कारभित्र रुमलिएका चेतना परिवर्तन नभएसम्म महिनावारी हुँदा भान्सा बस्न नपाउने, दूध, दही, मही, घ्यू खान नपाउने अवस्था ज्युँका त्युँ रहेको छ । अहिले पनि छाउगोठ भत्किए तर आम नागरिकका चेतना परिवर्तनका लागि भत्किएका छैनन् । जस कारण महिलाहरू दुःख पाइरहेका छन् । जिल्लाका अन्य ठाउँमा छाउगोठ नभए पनि महिनावारी हुँदा आगो बाल्ने चुलोसम्म जान नपाउने अवस्था विद्यमान छ । 

देवता रिसाउने भन्दै मूल चुलो भएको कोठा र देवताका ध्वजा, पताका भएको ठाउँमा महिनावारी भएको समयमा जान नपाउने अवस्था निरन्तर चलिरहेको डोल्पा मुड्केचुला गाउँपालिका–८ का विष्णु सिंहले जानकारी दिए । “सदरमुकाममा हल्ला गर्दैमा ग्रामीण क्षेत्रमा सबै परिवर्तन हुँदैन, हाम्रो ठाउँमा कसले सचेतनाका कार्यक्रम गर्छ र सबैले थाहा पाउन ।”-सिंहको भनाइ रह्यो।उहाँ जस्तै अधिकांश गाउँका महिलाहरू पुरुषका कारण हेपिएका छन् । उनीहरू सामाजिक कुसंकारका रूपमा रहेको परम्परालाई तोड्न खोज्दा अलछिना भनेर पगरी गुथाएर अपहेलना हुँदै आएको पञ्च भयार मावि नलगाड नगरपालिका–८ का शिक्षिका नन्दा शाहीले बताए । शाहीले, परम्पराका नाममा ठुलो ज्यादती रहेको छ, गोठ भत्काएको खबर त सुनियो तर मनमा विगतदेखि पत्थर भएर बसेको परम्परालाई मनबाट हटाउन जरुरी रहेको कुरामा जोड दिए। 

राज्यको मात्र दायित्व नभई सबै सचेत नागरिकले समाजमा भएका गलत मान्यतालाई हटाउनका लागि सङ्गठित भएर लाग्नुपर्ने नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले औँल्याए । उनका अनुसार जन युद्धमा समेत यस्ता खालका विकृति हटाउने सबै खालका कारबाही गरिएको थियो, सो समयमा छाउगोठ बस्ने, छुवाछुत व्यवहारहरू हटाउनका लागि जनकारवाहीसम्म गर्ने गरी यसको न्यूनीकरण गरिएको थियो । रावलले अहिले समाज खुल्ला छ, जसले जे गरे पनि मतलब छैन भन । कुसंस्कारको विरुद्धमा बोल्ने जो कोही अहिले परम्पराको विरोधी देखिन्छ , त्यसैले सबै जना सङ्गठित भएर गलत संस्कारका विरुद्ध एकजुट भएर लागे यस्ता खालका गतिविधि शून्यमा झार्न सकिन्छ । जाजरकोट, डोल्पाका अधिकांश गाउँमा अहिले पनि सञ्चारमाध्यमको पहुँच नहुँदा त्यहाँ सचेतनाका कार्यक्रमले छुन सकेको छैन ।रासस 

Ad After News Content

GME

Enjoy Your Study