Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

चिडियाखाना अवलोकनका लागि घरबाटै टिकट

ज्ञानमाण्डू।तपाईँ चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ ? कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ । तपाईँले घरमै बसिबसी टिकट ‘बुक’ गर्न सक्नुहुन्छ । 

जावलाखेलमा रहेको सदर चिडियाखानाले अवलोकन कर्ताका लागि घरमै बसेर टिकट काट्ने व्यवस्था गर्न लागेसँगै दर्शकका लागि लाइन बस्ने समस्या टर्ने भएको हो । अवलोकन कर्ताको ध्यानलाई मध्यनजर गर्दै चालू आर्थिक वर्षभित्रै यस किसिमको व्यवस्था गर्न लागेको सदर चिडियाखानाले जनाएको छ । 

पहिलो पटक गर्न लागिएको यस कामका लागि चिडियाखाना व्यवस्थापन पक्ष अहिले अभ्यास रत रहेको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी गराए । अनलाइनबाट टिकट काट्ने व्यवस्थासँगै अवलोकन कर्ताको समय बचत हुनुका साथै कर्मचारी अभावको समस्या पनि टर्ने डा पोखरेलले बताएका छन् । टिकट काट्नका लागि भन्दै अहिले दैनिक पाँच कर्मचारी खटिएका छन् । तर आगामी दिनमा एक कर्मचारीले मात्रै अवलोकन कर्तालाई टिकट उपलब्ध गराउन सक्नेछन् । 

प्रवेशद्वारमै सूचना केन्द्र: 

अवलोकन कर्तालाई ध्यानमा राखेर चिडियाखाना व्यवस्थापनले प्रवेशद्वारमै सूचना केन्द्र स्थापना गरी विद्युतीय सूचना पाटी राखेको छ । सूचना पाटीबाट चिडियाखानामा राखिएका जनावरका बारेमा जानकारी लिन सकिन्छ । दश महिना स्थापना गरिएको सूचना केन्द्रबाट अवलोकन कर्तालाई निकै सहज भएको छ । सूचना पाटीमार्फत कुन कुन जनावर राखिएको छ ?, त्यसको विशेषता के हो, कहाँ पाइन्छ ? पाउन कतिको सहज छ ? के खान्छ ? र कति वर्ष आयु छ ? जस्ता विषयमा जानकारी प्राप्त गर्न सकिने छ । 

त्यसै गरी टिकट लिएर प्रवेश गर्ने बेलामै अवलोकन कर्ताले हाल के कति जनावर रहेका छन् र कुनको सङ्ख्या कति छ जस्ता विषयको जानकारी सहज रूपमा लिन सक्नेछन् । यति मात्रै होइन, कुन जनावर कुन स्थानमा राखिएको छ भनी हेर्नका लागि सहज बनाइएको छ । हाल चिडियाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका २०० विद्यालयका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन् । सूचना केन्द्रलाई यी विद्यार्थीका कारण निकै सहज भएको छ । 

मुख्य आकर्षण: 

चिडियाखानामा ११९ प्रजातिका एक हजार ९८ जीव/जनावर छन् । मुख्य आकर्षणका रूपमा बाघ, भालु चितुवा, रेडपाण्डाजस्ता जनावर छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । 

पछिल्लो समय काठमाडौँ उपत्यकामा कम हुँदै गरेको खुला स्थान र जीव÷जनावर हेर्ने चाहनाका कारण चिडियाखानामा आउने अवलोकन कर्तामा कुनै कमी आएको छैन । अवलोकनका लागि विदेशीका लागि रु ७५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु १५० र विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ रु १५ करोडको आर्थिक कारोबार हुने गरेको छ । 

उद्धार केन्द्र अभाव: 

सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव छ । जङ्गली जनावरले समय समयमा मानव बस्तीमा आएर समस्या पार्ने गरेकाले तीनलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसरी मानव बस्तीमा आएर दुःख दिने जनावरलाई पहिलो चरणमै चिडियाखानामा राखिएको अन्य जनावरसँग घुलमिल गराएर राख्न समस्या हुन्छ । तिनलाई लामो समय स्वास्थ्य परीक्षण गर्नका लागि विशेष निगरानीमा राख्नुपर्ने भए पनि चिडियाखानामा यस्तो स्थानको अभाव छ । 

“प्रत्येक वर्ष १०/१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएको जीवजन्तुलाई छ महिनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु चिकित्सकको निगरानीमा संरक्षण गरी राख्नुपर्छ, तर स्थान अभाव छ”, प्रमुख व्यवस्थापक डा पोखरेलको भनाइ रह्यो । चिडियाखानाका सूचना अधिकारी लीना चालिसे उद्धार केन्द्र मात्र नभएर पछिल्लो समय जीवजन्तुको सङ्ख्या बढिरहेकाले स्थान अभाव पनि भएको बताउँछिन् ।रासस