Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

जीवन जिउन वृद्धको दाम्लो सहारा

ज्ञानमाण्डू।पुस माघको कठ्याङ्ग्रिँदो जाडो । त्यसमाथि बाक्लो हुस्सु, उस्तै चलेको छ सिरेटो । शीतलहरका कारण लपक्कै भिजेको छ सबैतिर । यस्तो अवस्थामा घरभित्र सुरक्षित वस्तु, न्यानो कपडा लगाउन, आगो ताप्न, तातो खानेकुरा खान कसलाई मन हुँदैन र ? तर लुगलुग काम्दै बिहान झिसमिसेदेखि नै सडक पेटीमा दाम्लो बाट्न निस्कनु पर्ने बाध्यता छ ८५ वर्षीय वृद्ध लक्ष्मीप्रसाद दाहाललाई । 

कनकाई नगरपालिकाको दुर्गापुरमा डेरा गरी बस्दै आउनुभएका उदयपुर निवासी दाहालको विगत ३० वर्षदेखिको दैनिकी यस्तै छ । दाम्लो बाटेर बिक्री नगरे हात मुख जोड्न समस्या हुने भएपछि पुस माघको ठिहिर्याउँदो जाडो होस् या असार साउनको भेलबाढी नै किन नहोस्, दुई छाक टार्न दाहाललाई दाम्लाकै सहारा लिनुपरेको छ । 

तीस वर्षअघि धन कमाउन उदयपुरबाट झापा आएका दाहालले धन कमाउन त परै जाओस् गुजारा टार्न समेत हम्मे हम्मे परेपछि हातमा भएको सीप प्रयोग गर्दै दाम्ला बाट्न सुरु गरे । सुरुमा भोर्ला, ओदाल (जङ्गलमा पाइने एक प्रकारको वनस्पति)का दाम्ला बाटेर बिक्री गरी जीवन निर्वाह गर्दै आउनुभएका दाहाललाई सशस्त्र द्वन्द्वका समयमा नेपाली सेनाले तत्कालीन विद्रोही माओवादी भन्दै जङ्गलमै पक्राउ गरेको थियो । 

ओदाल र भोर्लाको लोक्ता लिन जङ्गल पुग्नुभएका दाहाललाई नेपाली सेनाले पक्राउ गर्दै केरकार गरेपछि दाहालले आफ्नो वृत्तान्त सुनाए । नेपाली सेनाले त्यो दिन दाहाललाई आइन्दा जङ्गल नआउने सर्तमा छाडेपछि उनले प्लास्टिकका बोरा र कपडाका दाम्ला बाट्न सुरु गरे । अहिले पनि दाहाल कपडा र बोराकै दाम्ला बाट्छन् । उनले दाम्ला बाटेरै श्रीमती एक छोरा र एक छोरीसहित चार जनाको परिवार धान्दै आएका छन् । 

‘बर्मा गए कर्मसँगै,नेपाल गए कपालसँगै’ भन्ने उखान झैँ ८५ वर्षको उमेरमा पनि उहाँले जाडो गर्मी केही नभनी जीवन जिउनकै लागि दाम्ला बाटेर बिक्री गर्नुपरेको छ । “दाम्ला बाटेर दैनिक ३०० रुपैयाँसम्म कमाउँछु”, दाहालले भने , “दाम्ला बेचेकै पैसाले घर खर्च चलेको छ ।” एउटा दाम्लो ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए । दाहालले भने , दिनमा “आठ/दश वटा दाम्ला बिक्छन् । सानो दाम्लो ३० रुपैयाँमा विक्री गर्छु, ठुलो चाहिँ पचास रुपैयाँमा ।” 

दाहालले पटपटी फुटेका हात देखाउँदै भने , “दाम्ला बाट्दा बाट्दा हात पनि चिराचिरा परेका छन् । कहिलेकाहीँ त हातले खाना खान पनि सक्दिनँ, चहर्‍याउँछ । त्यस्तो बेला चम्चाले भात खान्छु ।” 

उच्च रक्तचापको समस्याका कारण दाहालले दैनिक औषधि सेवन गर्नुपर्छ । बाटेको दाम्ला नबिके कहिलेकाहीँ औषधि किन्नसमेत पैसा हुँदैन । उनकी श्रीमती पनि शारीरिक रूपमा अशक्त छिन् । “भाडामा बस्छौँ, समयमा भाडा तिर्न त परै जाओस् औषधि खानसमेत पैसा समेत नहुँदा जीवनदेखि नै निराश लागेर आउँछ ।”

केही वर्ष अघिसम्म पशुपालन कृषकले मनग्य दाम्ला किन्ने गर्थे । अहिले प्लास्टिकका बाटेका दाम्ला बजारमा पाइन थालेपछि दाम्लाको व्यापार घटेको दाहाल बताउँछन् । “नगरी खान पुग्दैन, अब त गर्न पनि सक्न छाडेँ, शरीरमा रोग लाग्यो, बुढो शरीर कतिञ्जेल गर्ने, नगरे पनि के खाने रहर हैन बाबु सडकमा बसेर दाम्ला बाट्नु मेरो बाध्यता हो”, गहभरि आँसु पार्दै दाहालले भने , “सकुन्जेल यही काम गर्छु ।” 

बल छँदा साना ठुला १०/१२ वटा दाम्ला बाट्ने गरेको तर अहिले दाम्ला बाट्न पनि सक्न छाडेको उहाँको भनाइ थियो । विगत सम्झँदै उनले भने , “पहिला १० रुपैयाँमा बिक्ने दाम्ला अहिले ५० मा बिक्छ तर पनि पुग्दैन, महँगी बढ्यो दाम्ला पनि बिक्न छाड्यो ।”रासस

Sunrise Bank

Ad Below News Title

Ad After News Content

IME

Enjoy Your Study

GME