Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

दुई पर्यटकीय गन्तव्य जोड्न पदमार्ग

ज्ञानमाण्डू।गलकोट नगरपालिकाका ऐतिहासिक दुई पर्यटकीय गन्तव्य स्थललाई जोड्न करिब डेढ किमी पदमार्गको निर्माण कार्य सुरु गरिएको छ । 

गलकोट नगरपालिका–७ मल्मस्थित ऐतिहासिक सिद्धेश्वर शिवालय मन्दिर र वडा नं ९ को पाण्डुकेशरी गुफाबिचको आउजाउ सहज बनाउन पदमार्गको निर्माण सुरु गरिएको हो । करिब डेढ किमी दुरीको पदमार्ग निर्माण यही वर्ष सक्ने लक्ष्य लिइएको छ । व्यवस्थित पदमार्गका लागि वडा नं ७ बाट गत आव र चालू आवमा गरी रु चार लाख बजेट छुट्टाएको छ । पदमार्ग निर्माण गर्दा २० प्रतिशत जन श्रमदानसमेत गर्ने बताइएको छ । 

“अघिल्लो वर्ष ५०० मिटर पदमार्ग बनायौँ, बाँकी काम यो वर्ष पूरा हुन्छ”, सिद्धेश्वर शिवालय सेवा समितिका अध्यक्ष ज्ञानबहादुर थापाको भनाइ छ । साँघुरो र जीर्ण बनेको घोढेटो बाटोलाई स्तर सुधार गरी पदमार्ग बनाइएको उहाँको भनाइ छ । धार्मिक र पर्यटकीय महत्त्वका दुई गन्तव्य स्थल जोड्ने गरी पदमार्ग बनाउन स्थानीयवासीले पहल गरेका थिए । विसं १८१० मा बनेको मन्दिर र विसं २०४२ तिर फेला परेको गुफालाई जोडेर अन्य पर्यटकीय पूर्वाधार निर्माणको कामसमेत अघि बढाइने योजना समितिको छ । 

“गुफा परिसरमा उद्यान, वनभोज स्थललगायतका संरचना बनाउने योजना छ”, समितिका अध्यक्ष थापाले भनेका छन् , “गुफादेखि माथि टिम्लेचौरस्थित माईको मन्दिर पुनः निर्माण गरिने योजनाका साथ समिति अगाडि बढेको छ ।” 

वडा नं ९ को रु पाँच लाख बजेटमा दुई वर्षअघि बाँस खोलादेखि गुफासम्म दुई किमी पदमार्ग निर्माण भइसकेको छ । गत आवमा रु एक लाख बजेटमा गुफामा ‘रेलिङ’ राख्ने काम गरिएको वडाध्यक्ष तेजबहादुर थापाले बताए । सीमा क्षेत्रमा पर्ने हुँदा गुफाको संरक्षणमा दुवै वडाले लगानी गरेका छन् । 

गुफा र मन्दिरबिच वर्षौँ पुरानो सम्बन्ध छ । बालाचुर्तदशी पर्वमा मन्दिरदेखि सतबीज छर्दै गुफा पुग्ने र पूजाआजा गर्ने चलन छ । उक्त पर्वमा गुफामा भक्तजनको ठुलो घुइँचो लाग्ने गर्छ । घाँस दाउरा गर्ने क्रममा गाउँलेले विसं २०४२ मा गुफा फेला पारेका थिए । गुफाभित्रको पत्थरमा विभिन्न देवीदेवता र नागका आकृति छन् । गाईका थुनजस्ता देखिने आकृतिबाट बाह्रै मास पानीका धारा चुहिने गर्छन् । गुफा छिर्ने भक्तजन बढ्दै जाँदा धारा पनि बढ्ने गरेको बताइन्छ । गुफाको भुइँतलामा ससाना जल कुण्डसमेत छन् । माथिल्लो तला भने सुक्खा छ । 

भर्‍याङ र कृत्रिम प्रकाशको सहायताले मात्र गुफाको उपल्लो तलामा पुग्न सकिन्छ । एक सय जनाले एकैसाथ गुफाको अवलोकन र पूजाआजा गर्न सकिने वडा नं ९ का अध्यक्ष तेजबहादुर थापाले बताए । मानिसले कुँदेका जस्ता देखिने विभिन्न अलौकिक आकृतिले गुफा पुग्नेलाई आकर्षित गर्ने गर्छ । “धार्मिक महत्त्वसँगै गुफा क्षेत्र प्राकृतिक हिसाबले पनि रमणीय छ”, वडाध्यक्ष थापाले भनेका छन्, “गुफालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक छ ।” शिवालय मन्दिरको पनि पुनः निर्माणसहित बृहत्तर विकास योजना अघि बढाइएको छ । संरक्षण नहुँदा मन्दिरको अस्तित्व नासिने खतरा थियो । 

मन्दिरसहित धर्मशाला, शिव लिङ्ग मण्डप, सभाकक्षलगायतका संरचना बनाइने समितिले जनाएको छ । पूर्वाधार तयारीका लागि जग्गा/घडेरी सम्याउने काम सकिएको छ । एक सय आठ शिव लिङ्गका मूर्ति प्रतिस्थापनका लागि काम सुरु भएको छ । शिव लिङ्गसहित द्वादश रुद्र, एकादश रुद्र, गणेश, हनुमान, नव ग्रहको समेत गरी कूल १३८ मूर्ति राखिने जनाइएको छ । 

झन्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदशी पर्वमा ठुलो मेला लाग्ने गर्छ । विशेष पर्वबाहेक मन्दिरमा दैनिक पूजाआजासमेत हुने गरेको छ ।रासस