Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

अलैँचीको खपत बढाउन पहल

ज्ञानमाण्डू।अलैँचीको उचित बजार मूल्यका लागि स्वदेशमा खपत बढाउन पहल गरिने भएको छ । पूर्वी पहाडमा ठुलो मात्रामा उत्पादन हुने अलैँचीले बजार र उचित मूल्य नपाएका बेला अलैँचीको खपत बढाउन पहल थालिने भएको हो । अहिले नेपालमा उत्पादन हुने अलैँचीको करिब एक प्रतिशत मात्रै स्वदेशमा खपत हुने गरेको नेपाल अलैँची व्यवसायी महासङ्घको तथ्याङ्क छ । 

अलैँचीबाट गरम मसला, चिया मसला, गोटा अलैँचीलगायत उत्पादन गरी बिक्री गर्ने तयारी थालिएको हो । पाँचथरको फालेलुङ गाउँपालिकामा अलैँची खेतीमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अलैँचीको स्वदेशमै खपत हुने परिकार उत्पादन थालिने भएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची विकास जोनका कार्यक्रम संयोजक प्रकाश विश्वकर्माका अनुसार मसलालगायत खाद्य परिकार उत्पादनको प्रयास सुरु भएको हो । फालेलुङ–१ मा अलैँचीको गरम मसला उद्योग स्थापना गरी उत्पादन थालिएको छ । यहाँ उत्पादित गरम मसलाको गुणस्तरबारे परीक्षण एवम् अनुसन्धानका लागि खाद्य गुणस्तर विभागमा पठाइएको छ । 

परियोजनाअन्तर्गत नै अलैँचीको गरम मसला र चिया मसला उत्पादन गर्न कृषकलाई तालीम दिने तयारीसमेत गरिएको विश्वकर्माले जानकारी दिए । अलैँचीको गरम मसलाले अन्य गरम मसलालाई प्रतिस्थापन गर्ने तथा गोटा अलैँची प्याकेटले सुकुमेललगायत विदेशबाट आयात हुने सामग्रीलाई प्रतिस्थापन गर्ने विश्वास लिइएको विश्वकर्माले बताए । 

स्वदेशमा खपत हुनसक्ने खाद्य सामग्री उत्पादन गर्न सके अलैँचीले उचित मूल्य प्राप्त गर्ने तथा अलैँचीको बजार अभाव अन्त्य हुने अपेक्षाका साथ काम थालिएको हो । तीन वर्षदेखि यहाँको फालेलुङ गाउँपालिकामा सञ्चालित परियोजनाले अलैँचीको खेती विस्तार एवम् उत्पादन वृद्धिमा जोड दिइरहेको छ । गुणस्तरीय अलैँची उत्पादनमा वृद्धि भए पनि अलैँची बिक्री हुनै छाडेको तथा बिक्री भए पनि उचित मूल्य प्राप्त नभएपछि परियोजनाले स्वदेशमै खपत गर्ने विकल्पका कार्यक्रम अघि बढाएको विश्वकर्माले जानकारी दिए । 

कृषक समूह महासङ्घ पाँचथरका अध्यक्ष गणेश पोखरेल बजारको मागअनुसार अलैँचीजन्य सामग्री उत्पादन गर्नुपर्नेमा जोड दिए । “हाम्रो खाद्य बजारमा अलैँचीसम्बन्धी कुन सामग्रीको माग हुन्छ, सोहीअनुसार उत्पादनमा जोड दिनसके बजारको अभाव अन्त्य हुन्छ”, पोखरेलले भने , “सरकारले अलैँचीको भारत बाहेकको बजार खोज्नुपर्छ ।” 

फालेलुङ–१ की अलैँची कृषक सीता जवेगू अलैँचीको गुणस्तरले मूल्यमा प्रभाव पार्न नसक्दा कृषक निराश हुनु परेको बताउँछन् । “परियोजना लागू भएपछि गुणस्तरमा जोड दियौँ तर गुणस्तरले मूल्यमा प्रभाव पारेन”, जवेगूले भने , “हिजो हेलचेक्र्याइँ गरिएको अलैँची र आजको गुणस्तरीय उत्पादनले उस्तै मूल्य पाएका छन् ।” दुई वर्षदेखि यहाँ उत्पादित अलैँचीले प्रतिमन (४० किलोग्राम) रु २५ हजारदेखि रु ३० हजारसम्म मूल्य प्राप्त गर्ने गरेको छ । 

अलैँचीको विश्व बजार खोजीमा सक्रिय पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल मूल्यमा अचानक ह्रास आएपछि यहाँको अलैँचीको गुणस्तरमा उल्लेख्य सुधार भएको बताउँछन् । गुणस्तर सुधार हुँदासमेत अलैँचीको उचित मूल्य नपाउनुले कृषक एवम् व्यवसायीलाई निराश बनाएको नेपालको भनाइ छ । “विश्व बजार खोजी र स्थानीय खपत वृद्धि नै अलैँचीका आगामी विकल्प हुन्”, नेपालले भने , “मसलालगायत खपतयोग्य उत्पादनले राम्रो मूल्य प्राप्त गर्न सक्दछन् । यसले अलैँचीको मूल्य वृद्धिमा समेत सघाउ पुर्‍याउँछ ।” 

अलैँचीको मूल्य सुधारका लागि चिलिङभ्याट स्थापना, न्यूनतम मूल्य निर्धारण र कृषक एवम् व्यवसायीलाई सरल ब्याजदरमा ऋण प्रवाह गर्न सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ । अलैँचीको स्थानीय खपत हुने सामग्री उत्पादनमा सरकारले सघाउनुपर्ने कृषक एवम् व्यवसायीहरूको माग छ ।रासस