Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

स्वास्थ्य सेवा विस्तार गर्दै स्थानीय तह


ज्ञानमाण्डू।पूर्वी जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा १५ शय्याको अस्पताल निर्माण सुरु भएको छ । “स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मी परिपूर्ति गर्नका लागि नगरपालिकाले विज्ञापन गरिसकेको छ”, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहको भनाइ छ । 

पश्चिममा छेडागाड नगरपालिकाको सालटाकुरामा नगर अस्पतालको काम सुरु भएको नगर प्रमुख लालबहादुर महतराले जानकारी दिए । स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी नगर अस्पताल बनाइएको हो । नौ स्वास्थ्य संस्थाका भवनसमेत निर्माण सुरु गरिएको उनले जानकारी दिए । 

बिरामीको सहजताका लागि नगरपालिकाले एम्बुलेन्स सेवासमेत सुरु गरिएको जनाएको छ । गर्भवती, ज्येष्ठ नागरिक र प्राकृृतिक प्रकोपमा परेकालाई सो सेवामा छुट दिने कार्यविधिमा उल्लेख रहेको छ । सदरमुकामका स्वास्थ्य सेवा कार्यालयबाहेक सबै स्वास्थ्य संस्था स्थानीय तहको मातहतमा आइसकेको छ । स्थानीय तहले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याएको नगरप्रमुख महतराले जानकारी दिए । 

भेरी नगरपालिकाले सदरमुकामको अस्पताललाई व्यवस्थित गरेर सेवा प्रवाहमा सहयोग गर्दै आएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । नगरपालिकाले पाँचभन्दा बढी नयाँ स्वास्थ्य संस्थाका भवन निर्माण जारी राखेको छ । 

त्यस्तै रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले वडा ७ छोटेबगरस्थित सिम्ली स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १५ शय्याको बनाई सेवा सुरु गरेको छ  । सो स्वास्थ्य संस्थामा डा कविन बस्नेतले सेवा दिएका छन् । “ गाउँपालिकामा १५ र नगरपालिकामा २५ शय्याको अस्पताल हुने व्यवस्था हुने नीतिअनुसार नगर अस्पताल बनाएका छौँ”, गाउँपालिका अध्यक्ष नरबहादुर पुनको भनाइ छ । गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले १५ शय्याको अस्पताल सञ्चालनका लागि ३२ जनाको दरबन्दी स्वीकृत गरिएको जानकारी दिए । उनका अनुसार अस्पतालका लागि स्त्री, बालरोग र हाडजोर्नीका एक र विशेषज्ञ चिकित्सक एकजनाको व्यवस्था गरिएको छ भने तीन एमबिबिएस चिकित्सक दरबन्दी कायम गरिएको छ । 

गुणस्तरीय उपचार प्रवाह गर्न छिट्टै विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको बताइएको छ  । अस्पतालमा एक चिकित्सकसहित नर्स, अहेव, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र दुई कार्यालय सहयोगीले सेवा दिएका छन् । अस्पतालबाट बहिरङ्ग, अन्तरङ्ग, प्रयोगशाला, आकस्मिक, प्रसूति, एक्स–रे र सामान्य शल्यक्रिया सेवा सुरु गरिसकिएको गाउँपालिकाले जनाएको छ । प्रतिकारात्मक, प्रवर्द्धनात्मक, परिवार योजना, कुष्ठरोग निवारण, औषधालय, एम्बुलेन्सलगायत सेवा पनि प्रवाह भइरहेको छ  । 

सुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन थालेपछि अन्यत्र जानुपर्ने बाध्यता टरेको छ । सडक पुगेका वडाबाट बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरिएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये अस्पताल सुरु गर्ने सानीभेरी दोस्रो हो । यसअघि आठबीसकोट नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको थियो । आठबीसकोट नगर अस्पतालबाट नलगाड नगरपालिकाका बासिन्दाले समेत सेवा लिन पाएका छन् । नगरपालिका अन्य सेवासमेत थपेर लिने योजनामा रहेको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।रासस

Ad After News Content

GME

Enjoy Your Study