Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

चक्रपथ दोस्रो खण्ड विस्तारको तयारी

ज्ञानमाण्डू।चक्रपथको कलङ्कीदेखि धोबीखोला (गोपीकृष्ण हल अगाडि) सम्मको सडक विस्तारका लागि आगामी महिनासम्ममा ‘साइट’ खाली गराउने गरी काम अघि बढिरहेको छ । यस खण्डमा अहिले सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ । 

सडक विस्तारका लागि झन्डै दुई हजार १०० रुख कटान भइसकेका छन् । बाफलमा रहेको सेनाको ब्यारेकको पर्खाल सार्ने काम भइरहेको छ । ब्यारेकभित्र रहेका रुख काटिने काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । यहाँ रहेका बिजुलीका पोल र खानेपानीका पाइप सार्ने काम अघि बढिरहेको आयोजनाका प्रमुख अमृतमणि रिमालले बताए । खानेपानीका पाइप सार्नका लागि ठेक्का सम्झौता भइसकेको उनले बताए । 

उनले भने , “पाइप सार्नकै लागि हामीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई रु २५ करोड विनियोजन गरिसकेका छौँ ।” सडकको अधिकार क्षेत्रमा नै स्वयम्भू नजिकै चैत्य रहेकामा सार्नुपर्ने देखिएको प्रमुख रिमालले बताए । सडकको केन्द्रबाट ३१ मिटर दायाँबायाँ अधिकार क्षेत्र रहेकामा सो चैत्य १७ दशमलव पाँच मिटर रहेको छ । 

चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलङ्की सडकखण्डमा भन्दा यो सडकमा संरचना कम रहेका छन् । महाराजगञ्ज क्षेत्रमा मात्रै झन्डै ४० घर सडकको अधिकार क्षेत्रमा रहेका प्रमुख रिमालले बताए । त्यस क्षेत्रमा जग्गा अधिग्रहण अघि बढाउन मन्त्रिपरिषद्ले काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई जिम्मेवारी दिइसकेको छ । उनले भने, “यस ठाउँमा बाहेक निजी घरको समस्या कम छ ।” 

कोटेश्वर–कलङ्की सडक विस्तार गरेको चीन सरकारले नै चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट महाराजगञ्जसम्मको सडक विस्तार गर्ने भएको छ । चीन सरकारले नै यस सडकको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरिसकेको छ । पहिले साइट खाली गराएपछि नै चिनियाँ टोलीले काम सुरु गर्ने सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण सुरु पहिले नै सबै अवरोध हटाउन लागिएको बताए । 

उनले भने, “विभिन्न निकायसँगको समन्वयमा सडकको क्षेत्र खाली गराउन लागिएको हो ।” कोटेश्वर–कलङ्की सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्की–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम सुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । 

सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युत्का पोल र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो । त्यति बेला समस्या निम्त्याएका कुरा पहिले सल्टाएर मात्रै काम सुरु गर्न चिनियाँ टोलीले चाहेको सडक विभागले जनाएको छ । विस्तार हुन लागेको सडकमा दुई ‘अन्डर पास’, प्रत्येक एक एक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बिचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । 

पहिलो चरणको विस्तारका क्रममा सडकमा रहेका कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने प्रमुख थापाले बताए । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्ट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । 

उनले भने, “पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएको गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।” बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अन्डर पास’ निर्माण गरिने भएको छ । आठ लेनको सडकमा चार लेन अन्डर पासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । महाराजगञ्ज चोकमा कलङ्की चोकमा जस्तै अन्डर पास हुनेछ । यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिए । 

बालाजुमा निर्माण हुने ‘ओभर पास’ मा भने ‘क्रसिङ’ तल हुनेछ । पैदल यात्रुलाई सडक पार गर्न प्रत्येक एक÷एक किलोमिटरमा एउटा आकाशे पुल निर्माण हुने थापाले जानकारी दिए । पहिलो खण्डमा १० किमी सडकमा तीन मात्रै आकाशे पुल हुँदा पर्याप्त नभएको गुनासो आएकाले हाल प्रत्येक किमीमा एउटा आकाशेपुल निर्माण हुँदै छ ।रासस 

Ad After News Content

GME

Enjoy Your Study