Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

भ्रमण वर्ष : भैरवस्थान बन्दै पर्यटकीय गन्तव्य

ज्ञानमाण्डू।रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित पाल्पा भैरव मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक, सामाजिक–सांस्कृतिक एवं धार्मिक हिसाबले महत्त्व बोकेको पाल्पा भैरव धार्मिक आस्थाको केन्द्रका साथै पर्यटकलाई आकर्षित गर्न समेत सफल भएको हो । 

धार्मिक आस्था बोकेका मानिसहरू मन्दिरमा दर्शन गर्ने र दुःखसुखमा देवीलाई पुकार गर्छन् । हिन्दु धर्मप्रति आस्थावान्, ऐतिहासिक महत्त्व खोज अनुसन्धान गर्न कै लागि मन्दिरमा टहलिँदा पर्यटक लोभिन्छन् । भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीका अनुसार दैनिक एक हजार भक्तजनले मन्दिरमा दर्शन गर्दै आएको बताए । उनले मन्दिरमा दर्शन तथा भ्रमणका टोलीले मन्दिर क्षेत्रमा बिहानैदेखि चहलपहल हुने बताए । पर्यटकको चहलपहलका कारण मन्दिरमा आम्दानीको स्रोतसमेत बढ्दो छ । अध्यक्ष अधिकारीले गत आव २०७५/०७६ सालमा रु ८५ लाख मन्दिरमा आम्दानी भएको बताए । 

नेपाल एकीकरणका बेला पाल्पा शक्तिशाली राज्य हो । शक्तिशाली सेन राजाको राज्य रहेकोले पनि यस भूमिको ऐतिहासिक महत्त्व अझै पनि प्रशस्त छ । ऐतिहासिक महत्त्वको खोज अनुसन्धानका लागि स्वदेशी मात्र होइन विदेशीहरू पाल्पा भैरव मन्दिर क्षेत्रमा टहलिछन् । 

समितिका सचिव नवराज ज्ञवालीका अनुसार गत वर्ष लाखौँ आन्तरिक पर्यटक मन्दिरमा भ्रमण एवं दर्शन गर्न आएको बताए । सचिव ज्ञवालीले नेपालीसँग झन्डै तीन हजार विदेशी पर्यटक मन्दिरमा आएको बताए । विदेशीहरू चिनियाँ, बेलायती, अमेरिकी, रसियन, भियतनामीलगायतका नागरिक मन्दिरमा अनुसन्धान र अवलोकनका लागि आउने गरेको सचिवको ज्ञवालीको भनाइ थियो । भारतबाट वार्षिक ६०० देखि एक हजार हाराहारीमा पर्यटक मन्दिरमा पूजा गर्न आउने गर्छन् । 

पाल्पा भैरव पहिला पहिला धार्मिक आस्थाको केन्द्रको रूपमा मात्र सीमित थियो । तर, धार्मिक तथा ऐतिहासिक रूपमा यसको चर्चा र महत्त्व बाहिरिएपछि पर्यटकीय गन्तव्यको रूपमा बदलिएको हो । पर्यटकीय गन्तव्यका रूपमा विकास भएसँगै सरकारले सुरक्षा चासो बढाएको छ । पाल्पा भैरव मन्दिरका लागि एक प्रहरीको व्यवस्थासमेत गरिएको छ । मन्दिर क्षेत्रमा मानवीय रूपमा सम्भावित जोखिमको न्यूनीकरणका लागि सिसिटिभी जडान गरिएको छ । तानसेनदेखि करिब १० किलोमिटर पश्चिममा भैरव मन्दिर छ । तानसेन हार्थोक सडक खण्डअन्तर्गत भैरवस्थानमा मन्दिर पर्छ । पाल्पा तानसेनदेखि भैरवस्थानसम्म यातायातको सहज व्यवस्था छ । 

एकिकरणपूर्व चौबिसे राज्यमध्ये पाल्पा पनि एक थियो । सेन वंशका राजा मुकुन्द सेन प्रथमले आफ्नो राज्य विस्तार गर्ने क्रममा पूर्वका काशी र पश्चिममा हरिद्वारसम्म फैलिएको थियो । काठमाडौँ खाल्डोमा विसं १५१५ मा आक्रमण गर्दा मच्छिन्द्रनाथको विहारको पटाङ्गिनीमा रहेको भैरवको मूर्ति ल्याएर स्थापना गरेको मानिन्छ । 

भैरव मन्दिरको माथिल्लो तलामा सर्वसाधारणको दर्शनार्थ कीर्तमुख भैरवको स्थापना गरिएको छ । खास भैरवलाई सर्वसाधारणले हेर्न हुँदैन भन्ने मान्यता छ । सो भैरव मूर्ति भुइँतलामा छ । बगलमा कालीको मूर्ति छ । मन्दिरमा भाक्कल पूजा, क्षमापूजा, पञ्चबलि पूजा हुन्छ । यहाँ प्रसादको रूपमा चढाइने रोटको विशेष महत्त्व हुन्छ । 

नेपाली एकीकरणका समयमा पाल्पाका सेन राजालाई शक्तिशाली राज्यका रूपमा मानिन्छ । सेन राजाका पालामा भैरव मन्दिर स्थापित भएको हो । पाल्पा भैरव मन्दिर टाकुरामा अवस्थित छ । यो टाकुरो एक हजार ४७० मिटर उचाइमा अवस्थित छ । हाल मन्दिरको परिसरले ११ रोपनी चार आना तीन दाम क्षेत्रफल ओगटेको छ । 

मन्दिरमा अहिले दश बाह्र स्थायी कर्मचारी र दैनिक ज्यालादारीका रूपमा ४०/५० ले रोजगारी पाएका छन् । स्थानीय बासिन्दाले रोट पकाउने तथा मन्दिरमा चढाउने सामग्रीको कारोबारबाट रोजगारी तथा स्वरोजगार सिर्जना हुँदै आएको सचिव ज्ञवालीको दाबी छ । 

म–छि–या–न्द्रा ना–थाँ लेखिएको ऐतिहासिक झ्याली पाल्पाली सेन राजा मुकुन्द सेनले भैरवमूर्तिसँग झ्याली पनि ल्याएको तर्क एउटा समूहको छ । अर्को अनौठो जनविश्वास पनि झ्यालीसँग जोडिएको छ । हालको पूर्णकोटको डाँडामा झ्याली आकाशबाट खसेको भन्ने जनविश्वास छ । करिब १४ इन्चको वृत्तको एउटा काँसको झ्याली छ । झ्यालीको एक पाखा फुटेकोले बाँधेर आकार कायम गरिएको छ । झ्यालीको मध्य भागको प्वालको घेरामा गोलाकार गरी छ वटा पुष्पपत्रहरु कुँदिएको छ । पुष्पपत्रमा एक एक अक्षर म–छि–या–न्द्रा ना–थाँ लेखिएको ऐतिहासिक झ्याली छ ।रासस

Ad After News Content

GME

Enjoy Your Study