Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

व्यावसायिक बन्दै सुदूरको डेउडा, छलिया र हुड्के

ज्ञानमाण्डू।सुदूरपश्चिम प्रदेशको प्रसिद्ध डेउडा, छलिया र हुड्ने नाच हिजोआज आम्दानीको गतिलो माध्यम बन्न थालेको छ । समाजमा हुनेखानेको विवाह, व्रतबन्ध, बढाईं आदिमा देखाइने गरिएका सुदूरपश्चिम प्रदेशका प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज व्यावसायिक बन्न थालेको हो । यस क्षेत्रमा आयोजना हुने विभिन्न समारोह, महोत्सव एवं महत्त्वपूर्ण कार्यक्रममा अहिले यी नाचको माग हुन थालेको छ । प्राचीन कथा, वीरयोद्धाका कथा तथा राजा रजौटका गीतमार्फत गाइने यी गीत आधुनिकताका नाममा केही वर्षअघि हराउने अवस्थामा पुगेको भए पनि अहिले भने आकर्षण बन्दै छन् । 

आफ्नो कला देखाएर छलिया र हुड्के नाच्नेले राम्रै आम्दानी गर्न थालेका छन् । पहिले समाजका ठूलाबडा अर्थात् गाउँका मुखिया र हुनेखानेको घरमा विवाह, व्रतबन्ध आदिमा मात्र उक्त नाच देखाइने गरेकामा अहिले भने सबैका घरमा यसको माग हुने गरेको दिपायलका हुड्के नाच नाच्ने गगने नेपाली बताउँछन् । उनले भने, “पहिले नाच देखाएको पारिश्रमिकबापत एक छाक खाना र एक दुई वटा लुगाफाटो पाइन्थ्यो तर अहिले भने नगद नै लिने गरेका छौँ र त्यो नगद पनि हामीले शुरुमै तोकेर जाने गर्दछौँ ।” 

सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा महोत्सवलगायतका धार्मिक कार्य चलेको ठाउँमा सबैभन्दा बढी छलिया र हुड्के नाचको माग आउने गरेको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताए । 

उनले भने, “विभिन्न चाडबाडदेखि शुभकार्यमा हुड्के नभई शोभा हुँदैन, अहिले त हुड्के नाच्नेलाई पहिले नै ‘बुकिङ’ गर्नुपर्छ ।” यति मात्र नभई डोटीको दिपायल र तिखाँका हुड्के नाच्नेलाई एक महिना पहिलेदेखि नै बुकिङ गरेर सम्झौतासमेत गर्नुपर्ने अवस्था आएको महासचिव खड्काले जानकारी दिए । दिपायलको हुड्के नाचका लागि दिनको रु १५ हजार र छलिया नाचको दैनिक ज्याला रु १५ देखि २० हजारसम्म रकम लिने गरेका छन् । छलिया नाच प्रायः बैतडी जिल्लाका स्थानीयले नाच्ने गर्दछन् । 

डोटीको शिखर नगरपालिकास्थित मुडभराका रायभान ढोलीले छलिया र हुड्के नाचबाट नै आफ्नो गुजारा चलेको बताए । उनले भने, “महिनामा चार/पाँच ठाउँमा मात्रै हुड्के देखाउन पाए वर्षभरिको खर्च चल्छ ।” रायभानले हुड्के नाच देखाएरै दुई छोराको क्याम्पस पढाई र घरखर्च धान्ने गरेका छन् । त्यसै गरी सुदूरपश्चिम प्रदेशकै प्रख्यात बैतडीको छलिया नाचको अहिले सुदूरपश्चिमभर माग हुने गरेको छ । सबैतिरबाट माग बढ्न थालेपछि छलिया र हुड्के नाच्ने पनि व्यावसायिक बन्न थालेका छन् । विभिन्न ठाउँमा छलिया तथा हुड्के नाच्नेले क्लब गठन गरेका छन् भने उनीहरू आफ्ना सन्ततिलाई समेत नाच्न र गाउन सिकाउन थालेका छन् । 

गत वर्ष डोटी, कञ्चनपुर, धनगढी, टीकापुर, साँफेबगर महोत्सवमा छलिया नाच देखाएर रु एक लाख ५० हजार कमाएको बैतडी छलिया समूहले बताएको छ । छलिया निकै जोखिमपूर्ण नाच पनि हो । बाजाको तालमा नाच्ने तथा नाच्न नजाने चोटपटक पनि लाग्ने गरेको दिपायलका स्थानीय तथा समाजसेवी घनश्याम पाठकले बताए । “हुड्के नाचमा पुराना राजा रजौटा, वीर वीरङ्गना र देवीदेवताका जीवन गाथा गाउने गरिन्छ”, उनले भने, “छलिया नाच भनेको बाजाको तालमा हतियार नचाएर खेल्ने नाच भएकाले नजानेमा चोट लाग्न सक्छ ।” सुदूरपश्चिममा नाचिने छलिया नाचले युद्धकला झल्काउने गर्दछ । सुदूरपश्चिम प्रदेशमा रहेका छलिया, हुड्के, चौलो भुवाँ नाचलाई व्यावसायिकतातर्फ लैजान सकिए यहाँको कलासंस्कृतिलगायत नाच्नेको पनि जीवनस्तर माथि उठ्न सक्ने स्थानीय डम्बर भण्डारीले बताए । उनले भने , “सुदूरको संस्कृति जोगाउने र चिनाउने हो भने यी नाचको संरक्षण गर्नु जरुरी छ ।” 

हुड्के गीत नेपालको सुदूरपश्चिम क्षेत्रको प्रचलित गीत हो । यसलाई सुरिलो स्वरमा तीनदेखि चार जनाले मिलाएर गाउने गरिन्छ । यो गीत खास गरी सुदूरपश्चिम प्रदेशका बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डडेलधुरा तथा डोटी जिल्लामा मुख्यरूपमा गाउने गरिन्छ । हुड्के गीत अरू समयमा नभएर विषेशगरी यहाँका प्रसिद्ध मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य गर्न मिल्ने गीत हो । शिखर नगरपालिका– १ गुठेउडीका हुड्के नाच्ने हरि नेपालीले भने, “हुड्के नाच पञ्चे बाजाको तालमा गाउँदै नाचिने भएकाले यसको आफ्नै पहिचान छ ।” 

यो गीत विशेषगरी समूहमा प्रस्तुत गरिन्छ । स्थानीय भाषिकामा सिर्जित लोकप्रियता कमाएको यहाँको हुड्केले यस क्षेत्रभन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ । उक्त नाच र गीत खास गरी दसैँ, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदिमा प्रस्तुत गरिन्छ । यस गीतलाई एकलरुपमा पनि गाउन सकिन्छ । सुदूरपश्चिमको हुड्के तथा छलिया नाच छिमेकी मुलुक भारतका विभिन्न ठाउँमा गाइने तथा नाचिने गरिन्छ । मान्छेको जीवनमा आउने सुखदुःखका अनुभूति, मिलन विछोड तथा पुराना राजा रजौटाले गरेका काम आदि पक्षलाई उक्त गीतले गाथाका रूपमा प्रस्तुत गर्ने गर्दछ । 

त्यसै गरी सुदूरपश्चिममा हुड्के, छलिया नाचसँगै डेउडा गीत पनि निकै लोकप्रिय बन्दै गएको छ । यहाँका पुराना डेउडा गीतहरुले हिजोआज मानिसको मन लोभ्याउने गरेको छ । यहाँका वनपाखालगायत विभिन्न ठाउँमा गाइने डेउडा गीतले सुदूरपश्चिमको कलासंस्कृति त झल्काउँछ नै यसबाहेक यो गीत यस क्षेत्रको विशेष चिनारी पनि बनेको स्थानीयवासी बताउँछन् । 

डेडा खेलबाट नै डेउडा संस्कृतिको उत्पत्ति भएको पाइन्छ । यसमा गायक गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा रहन्छन् र गीतमा सवाल जवाफ गर्ने गर्छन् । डेउडा खेललाई न्याउले खेल पनि भनिन्छ । यस खेलमा प्रायः एक समूह युवा र अर्को समूहमा युवती भएर बस्छन् । युवा युवा र युवतीबीचको सवाल जवाफमा पनि यो खेल हुन्छ । यो डेउडा सुदूरपश्चिमका नौ वटै जिल्लामा खेलेको देख्न पाइन्छ । समूहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलीको पदमा सन्तुलन मिलाएर समूहमा लयबद्ध ढङ्गले गाइने र खेलिने खेल नै डेउडा खेल भएको सुदूरपश्चिमका चर्चित डेउडा गाएका सूर्यवीरही साउदले बताए । बालकदेखि वृद्धवृद्धासम्मले उक्त डेउडा खेल्न मिल्ने र सकिने भएकाले पनि यो खेल सुदूरपश्चिममा प्रख्यात बनेको छ । डेउडा खेल गौरापर्वमा पनि खेल्ने गरिन्छ । डेउडा खेल देउडी पारेर खेलिने खेल (नृत्य) भएको केआइसिंह गाउँपालिका–६ का स्थानीय जगतबहादुर बलायरले बताए । 

झ्याउरेलगायत अन्य गीत गाउँदा र नाच्दा मादलको तालमा नाचिन्छ भने डेउडा नाच अथवा देउडा खेलमा खुट्टाको चाल मिलाउनु पर्ने हुन्छ । यसरी खुट्टा चाल्ने कार्यलाई पैतली अथवा पाइतो भनिन्छ । पाइतो हान्दा डेड स्टेप हान्नुपर्ने हुन्छ । एक स्टेपमा खुट्टा पूरा जान्छ भने अर्को स्टेपमा आधा जान्छ । यहाँ डेडीको प्रमुखता भएकाले यस खेलको नाम देउडा खेल र यसमा प्रयोग हुने गीतलाई डेउडा गीत भनिएको हो । 

डेउडा खेलमा गीत गाउँदा पनि दुई पङ्क्तिमध्ये पहिलो पङ्क्तिको श्लोक पहिलो पटक पूरा र दोस्रो पटक आधा उच्चारण हुन्छ । डेउडा खेल अथवा न्याउल्या खेल भन्नाले कुनै खेलकूद नभएर एक मनोरञ्जनात्मक परम्परागत नृत्य पनि हो । डेउडा खेल्ने भन्नाले गोलो घेरा बनाएर पैतलाका तालमा समूहगतरुपमा नृत्य प्रस्तुत गर्नु भन्ने बुझ्नुपर्छ । डेउडा खेलका सहभागीले कुममा कुम जोडेर अथवा एकआपसमा पाखुरा समातेर समूहगतरुपमा खुट्टा अघिपछि गरेर गीतसँग सामान्य नृत्य गर्छन् । 

विभिन्न उमेर समूहका महिला तथा पुरुषले यस गीतमा छुट्टाछुट्टै नृत्य गर्न सक्छन् भने एउटै समूहमा मिसिएर पनि खेल्ने गर्दछन् । डेउडा खेलमा विशेषगरी मायाप्रेम, विरह व्यथा, मानसिक भावको अभिव्यक्ति तथा लोक जीवनका मार्मिक स्वर प्रस्तुत भएको पाउन सकिन्छ । राजनीतिक, सामाजिक तथा वैयक्तिक व्यङ्ग्यका साथै सामाजिक उत्पीडन, विषमताजस्ता विषय डेउडामा बडो सुक्ष्मरुपले केलाएर प्रस्तुत गरिएको हुन्छ । सामूहिक देउडा खेल्दा डेउडीया ठुलो आँगन तथा चौरमा गोलो घेरा बनाएर मुखामुख गरी दुई समूहमा विभाजित हुन्छन् । दुवै समूहतिर दुई जना गीदाउडा हुन्छन् । गीतको उठान गर्ने व्यक्तिलाई गीदाउडा अथवा खेलाउडा भनिन्छ । बाँकी सहभागीले तिनले भनेको गीतलाई पछ्याउँदै, पाइतो (खुट्टाको ताल) मिलाएर देउडा गायन र नृत्यमा झुम्मिने गर्दछन् । 

यसरी प्रस्तुत गरिने सवाल जवाफलाई यहाँको भाषामा झिट्टा भनिने गरेको जोरायगल गाउँपालिका– ५ का डेउडीया कलाकार धनीराम नेपालीले बताए । दोहरी शैलीमा देउडा खेल्दा गाउँ खाने कथा भन्ने गरिन्छ । यसमा प्रायः सबैजसो मान्छेले खेल्न सक्ने सामान्य किसिमको नाच प्रस्तुत गरिन्छ । यसरी डेउडा खेल्दा एकै ठाउँमा फरक फरक समूहहरू बनाएर पनि प्रस्तुत गर्ने गरिन्छ । बुढापाका, तन्नेरी पुरुष, महिला तथा बालबालिका छुट्टाछुट्टै पनि देउडा खेलेको पाइन्छ । सबै उमेरका मानिस पनि एकै समूहमा घेरा बनाएर नृत्य प्रस्तुत गरिन्छ । अपरिचित मान्छे एकै खेलमा जुटेर गीतै गीतको सवाल जवाफमार्फत परिचय गर्ने र मायाप्रेमका गीतसमेत गाउने गर्छन् । यस कारण पनि यो गीत रोचक बन्दै गएको यसका पारखी बताउँछन् ।रासस