Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

धिमाल समुदायका मौलिकता संकटमा : सीप सिकाउन तालीम

ज्ञानमाण्डू।झापा र मोरङमा बसोबास गर्दै आएका आदिवासी समुदाय हुन् ‘धिमाल’ । सो समुदाय आफ्नै भाषा, मौलिक पहिचान, जीवनशैली, वेषभूषा, लोक धर्म र संस्कृतिले सुसज्जित रहेको । अल्पसङ्ख्यक जातिका रूपमा रहेको सो समुदायको जनसङ्ख्या पछिल्लो जनगणना अनुसार ३० हजारको हाराहारीमा रहेको छ । 

आदिमकालबाट प्रकृतिमा निर्भर रहेको धिमाल समुदायले प्रकृति पूजामा विश्वास राख्दै आएको धिमाल जाति विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष गणेशमान धिमालले बताए । आफ्नै सामाजिक संस्कार भएको सो समुदायको जन्म, विवाह र मृत्यु संस्कार पनि छुट्टै रहेको छ । उनका अनुसार जात्री मेला, सिरजात, पार्वा, भेन्द्र, नावाङ्गी, गावा पूजा, जात्रा पूजा, टाकाबान्धा, रास पूजा, बान्धा पूजा, धुला पूजा, हाइजा पूजा, लक्ष्मी काइका पूजा आदि धिमालले मान्ने मौलिक चाडपर्व हुन् । 

केन्द्रका वरिष्ठ उपाध्यक्ष धिमालले आफ्नै जातीय वेषभूषाले सुसज्जित हुने यस समुदायले युवा पुस्तालाई आफ्नो संस्कार र संस्कृति जानकारी गराउन नसक्दा अहिले आफ्नो मौलिक संस्कार र संस्कृति भुल्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । “धिमाल समुदायका महिलाले लगाउने दाबोना, इतङ्गी, पातोलोइ, सामुठी, नोसोइ, तेपाना र पुरुषले लगाउने आसकोट, गान्जी, टेपाना, पाटुका, चेउका धारी, तुप्रीका विषयमा युवा पिँढीलाई हामीले बताउन नसक्दा हाम्रो मौलिक रीतिरिवाज ओझेलमा पर्दै गएको छ ,” उनको भनाइ छ।  

"उर्नी, ढोल, सेरेन्जा, तुन्जाइ, दोतारा, घोगोमोगो, बाँसुरी हाम्रा आफ्नै परम्परागत बाजा हुन्, उपाध्यक्ष धिमालले भने , “अहिले यी बाजा बजाउने युवा छैनन् । चाडपर्व, पूजाआजामा यस खाले बाजा बजाउनुपर्ने भए पनि युवा पुस्ताले संस्कार संस्कृति संरक्षणमा ध्यान नदिँदा हाम्रो मौलिक संस्कार संस्कृति नै लोप हुँदै गएको छ ।” 

धिमाल समुदायका मौलिक गरगहना र जातीय पोशाकको संरक्षण गर्न बिर्तामोड नगरपालिकाले धिमाल महिलालाई अहिले जातीय पहिचान झल्काउने पहिरन ‘दाबोना’ अर्थात् पेटानी बनाउन प्रोत्साहन गरिरहेको छ । जातीय पहिरन संरक्षण हुने र महिलाले त्यसलाई व्यावसायिकता प्रदान गरे आत्मनिर्भर बन्ने नगरपालिकाका सूचना अधिकारीसमेत रहनुभएका वडा नम्बर १ का अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए । 

उनले भने, “धिमाल समुदाय आफैँमा पछाडि छ त्यसमाथि संस्कार संस्कृतिले सुसज्जित भए पनि आफ्नै वेषभूषाको संरक्षण गर्न नसक्दा उनीहरूलाई सीप पनि सिकाउने र संस्कार संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर बनाउन नारी सङ्कल्प नामक संस्थासँग सहकार्य गर्दै धिमाल महिलालाई पेटानी बनाउने तालीम प्रदान गरिरहेका छौँ ।”

१८ धिमाल समुदायका महिलाले सोे तालीम लिइरहेको नारी सङ्कल्प संस्थाका अध्यक्ष तुलसा खरेलले जानकारी दिइन् । ‘दाबोना’ अर्थात् पेटानी धिमाल समुदायका महिलाले लगाउने गर्छन् । तर, आधुनिकताका कारण अहिले सो महिलाले पेटानी लगाउन छाड्दै गएका छन् । अझ युवा पुस्तामा आफ्नै जातीय पहिरनप्रति आकर्षण छैन । पेटानी बनाउन सिकाउँदै आएकी मोरङ पथरीकी सीता धिमालले भनिन्, “पेटानी बनाउने मात्रै सीप सिक्ने हो भने धिमाल समुदायका महिला कोही पनि बेरोजगार हुनु पर्दैन ।” 

पेटानी गुन्यूजस्तै हो तर, पेटानी करिब पाँच/छ हात मात्रको हुन्छ । पेटानी लगाउँदा महिला केवल छाती मात्रै ढाक्छन् । पेटानी लगाउने महिलाले चोलो लगाउँदैनन् । पेटानी लगाउने महिलाले छाती मात्रै छोप्छन् र पेटानी घुँडा मुन्तिरसम्म मात्र लगाउँछन् । पेटानी प्रायः कालो रङको हुन्छ । यो घरमै महिलाले धागो कातेर तानमा बनाउने गर्छन् । पेटानी बनाउने हाम्रो पुर्ख्यौली पेसा हो उनले भनिन् , “हाम्रो समुदायमा विवाह व्रतबन्धजस्ता कार्यमा पेटानी अनिवार्य छ तर, अहिलेका युवा पिँढीले पेटानी लगाउँदैनन् ।” 

सीप सिकाउन थालेपछि नगरका धिमाल महिला अहिले सीप सिक्न उत्साहित देखिएका छन् । दुई महिना अघिदेखि पेटानी बनाउने सीप सिक्दै आएकी बिर्तामोड–१ निवासी कोपिला धिमाल भन्छिन् , “हामी लजाएर रहेछ, एउटा मात्रै पेटानी बनाएर बिक्री गर्दा रु दुई हजार ५०० देखि तीन हजारसम्ममा बिक्री हुने गर्दो रहेछ । दुई दिनमै तयार गर्न सकिने पेटानी महिनामा १२ देखि १५ वटा मात्रै बनाएर बिक्री गर्ने हो भने रु ३० हजारभन्दा बढी आम्दानी गर्न सकिने रहेछ ।” 

तालीममा सहभागी घिना धिमाल उमेरले ५० को हाराहारीमा छिन् तर, उनीमा सीप सिक्ने इच्छा छ । उनी भन्छिन्, “बेलैमा सीप सिकेर यो व्यवसाय सुरु गरेको भए अहिलेसम्ममा मनग्य आम्दानी गरिसक्ने थिए ।” बिर्तामोड नगरपालिकाले धिमाल समुदायका महिलाको जीवनस्तर सुधार्दै स्वावलम्बी बनाउन पेटानी बनाउने सीप सिकाए पनि दमक नगरपालिकाले पनि धिमाल समुदायलाई परापूर्व कालदेखि बसोबास गर्दै आएको नागरिकका रूपमा ‘प्रथम नागरिक’ घोषणा गर्दै धिमाल समुदायलाई सम्मान गरेको छ । 

धिमाल समुदायको जनसङ्ख्या दमक नगरपालिकामा करिब १५ हजारको हाराहारीमा रहेको बताइएको छ । जातीय बसोबास सूची बनाउने काम गर्न लागिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले जानकारी दिए ।रासस 

Ad After News Content

GME

Enjoy Your Study