Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

रगत सङ्कलन केन्द्र नहुँदा बिरामी मर्कामा

ज्ञानमाण्डू।प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा रक्त सङ्कलन केन्द्र नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन् । 

प्राथमिक उपचार सेवाका साथै सामान्य शल्यक्रियासमेत हुने स्वास्थ्य चौकीमा अहिलेसम्म रक्त सङ्कलन केन्द्र स्थापना हुन सकेको छैन । रक्त सङ्कलन केन्द्र नभएका कारण रगतको आवश्यकता भएका बिरामीलाई ९१ किलोमिटर दुरीमा रहेको जिल्ला सदरमुकाम बागलुङ धाउनुपर्ने बाध्यात्मक रहेको छ । यहाँ शल्यक्रियामार्फत सुत्केरी हुनेलाई पनि सेवा दिने व्यवस्था छ तर शल्यक्रियापछि आवश्यक पर्ने रगतको मागलाई पूरा गर्न बिरामी वा उनका आफन्तले युवालाई खोज्नुपर्छ । यहाँ रक्त सङ्कलन केन्द्र नभएकाले तत्काल रगत दिनुपर्ने भएमा रक्त समूह मिल्ने व्यक्ति राखेर मात्र शल्यक्रिया गर्नुपर्ने बाध्यता भएको स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक बताउँछन् । 

जनसङ्ख्या धेरै भएको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका जनताको एउटै केन्द्र भएकाले दैनिक डेढ सयजनासम्म बिरामी उक्त स्वास्थ्य चौकीमा सेवा लिनका लागि आउने गर्छन् तर यहाँ आवश्यक दरबन्दीका स्वास्थ्य कर्मी र रक्त सञ्चार भने अभाव रहेको छ । यो केन्द्रमा एम्बुलेन्स पनि अभाव छ । चाहियो भने ग्वालिचौर र भीमगिठेबाट मगाउनु परेको अस्पतालका प्रमुख डा मिलन मल्लले बताए । 

एम्बुलेन्स नपाएर बिरामीले ट्याक्सी खोजेर पाल्पा कुद्ने समस्या खेप्ने गरेका छन् । जिल्ला सदरमुकामभन्दा मिशन अस्पताल पाल्पा दुरीका हिसाबले नजिक पर्ने भएकाले रिफर भएर जानुपर्ने बिरामी पाल्पा जाने गरेका छन् । अहिले पनि यहाँ तीन जना चिकित्सक कार्यरत छन् तर उपकरण, एम्बुलेन्स र नर्सिङ तथा अन्य सहायक तहका स्वास्थ्य कर्मी अभावले दैनिक उपचारमा समस्या पर्ने गरेको डा मल्लले बताए । 

जिल्ला अस्पताल झैँ चौबिसै घण्टा इमरजेन्सी सेवा, ओपिडी, बहिरङ्ग, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, ल्याब लगायतका सेवा पाइने भनेर केन्द्रमा सूचना टाँगिएको छ । “उपचार मात्र दिएर पुग्दैन, त्यसपछिका जटिलता सम्बोधन गर्ने चुनौती छ”, उनले भने , “उपचारको सेवा दिने काम प्रशासनले दिएजस्तो होइन ।” विभागीय रूपमा दरबन्दी पूरा नदिने र एम्बुलेन्स अभाव बढी चुनौती भएको उनले बताए । यहाँ केन्द्र व्यवस्थापन समितिबाट पाँच जना स्वास्थ्य कर्मी करारमा राखिएको छ । तीमध्ये डा विवेक यादव एनेस्थेसिया रहेका छन् । उनको दरबन्दीमै व्यवस्था गर्न सकेमा नियमित शल्यक्रिया सेवा दिन सकिने डा. मल्लको भनाइ छ । कार्यालय सहायक र प्रशासनको कर्मचारी पनि यहाँ अभाव छ । 

ढोरपाटन नगरपालिकाले यो केन्द्रलाई अस्पतालका रूपमा विकास गर्ने योजना बनाएको छ । नगरपालिकाले चाहेमा कम्तीमा १५ शय्याको अस्पताल बनाउन सकिने प्रावधान छ । अस्पताल बनाउने विषयमा बेलाबेला बहस उठ्दै गरेको छ । तर फेरि बिस्तारै सेलाउने गरेको स्थानीयवासी जीतबहादुर भट्टचनले बताए । भएका चिकित्सकले सेवा भने निरन्तर दिएकाले दुई वर्षदेखि केन्द्रमा अप्रिय घटना भएको छैन । “यहीँ डाक्टर भएकाले ज्यान बचाएर बच्चा जन्माउन पाएँ”, ढोरपाटन नगरपालिका–९ सुपुरदुङकी २८ वर्षीया अमृता पुनले भनिन्, “यहाँ नभएको भए पाल्पा पुग्नुपर्ने बाध्यता थियो ।” 

यहाँ मासिक १५ जनाले शल्यक्रियाबाट बच्चा जन्माउने गर्छन् । गत वर्ष यहाँ एक हजार ४०० भन्दा बढीले प्रसूति सेवा लिएको तथ्याङ्क छ । वर्षभरि आठ हजारभन्दा बढी अन्य बिरामीले यहाँबाट उपचार र स्वास्थ्य सेवा लिएका छन् ।रासस