Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै विद्यार्थी

ज्ञानमाण्डू।विद्यालयका विद्यार्थी लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै छन् भन्दा अनौठो लाग्न सक्छ । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत स्याङ्जाको राङ्भाङ र आसपासका विद्यार्थी यतिखेर लाटोकोसेरोका विविध पक्ष सुनेका मात्रै छैनन्, ती विषयलाई बुझेर कथा, निबन्ध आदिमा उतारेका पनि छन् । 

लाटोकोसेरोको संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीसहित मिलेनियम ट्रेक व्यवस्थापन समिति र राङ्भाङ युवा क्लबको सक्रियतामा यही माघ २४ र २५ गते स्याङ्जाको राङभाङ–भैंसेगौंडामा गर्न लागिएको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६’ का अवसरमा यो चराका कथा व्यथा सुनाइएको हो । शिविरमा सुनेका विषयलाई आफ्ना रचनामा उतार्दै कथा, कविता, निबन्ध एवम् चित्रकला प्रतियोगितामा आफूलाई विजयी बनाउन यतिखेर विद्यार्थीलाई भ्याइनभ्याइ छ । 

किसानको साथी भनेर चिनिने लाटोकोसेरो संरक्षणको अभावमा हराउँदै गएको वास्तविकतामा त्यसबारे जनचेतना जगाउने उद्देश्यका साथ उत्सवका साथै यसै अवसरमा प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका र विरुवा गाउँपालिकाका विभिन्न वडामा सञ्चालित विद्यालयमा लाटोकोसेरो संरक्षण शिविर सञ्चालन गर्दै यसले पर्यावरणमा पारेको प्रभावलगायतका विषयमा जानकारी गराइएको छ । 

लोपोन्मुख प्रजातिमा पर्ने यो चराका विश्वमा २२५ प्रजाति रहेका छन् भने नेपालमा २३ प्रजाति पाइन्छ । वर्षेनी बढ्दै गएको वन विनासका साथै वातावरण प्रदूषण र चोरी निकासीका कारण यो चरा सङ्कटमा पर्दै गएको छ । नेपालमा सन् २००८ बाट संस्थागतरूपमा नै संरक्षणका लागि पहल भइरहेको जानकारी दिँदै आचार्यले यो चराको संरक्षणका लागि नेपाल सरकारसमेतले कार्ययोजना तयार गर्न लागेको बताए । 

लोपोन्मुख प्रजातिको यस चराको संरक्षणका लागि जनचेतना अभिवृद्धि अपरिहार्य भएको कुरालाई दृष्टिगत गर्दै विगत नौ वर्षयता देशका विभिन्न स्थानमा वर्षेनी लाटोकोसेरो उत्सव सञ्चालन गर्दै आइएको उनले जानकारी दिए । लाटोकोसेरोको संरक्षणमा विद्यार्थीको विशेष भूमिका हुने अवस्थालाई दृष्टिगत गर्दै यस क्षेत्रका एक हजार ४१० जना विद्यार्थीलाई यसको संरक्षण एवम् पर्यावरण लगायतका विषयमा प्रशिक्षण दिइएको उनले जानकारी दिए । “समाजमा विद्यार्थीका माध्यमबाट उनीहरूका अभिभावक समेतसँग यसको संरक्षणको आवश्यकताबारे जानकारी होस् भन्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको हो,” उनको भनाइ छ । 

लाटोकोसेरोले विशेषतः खेतबारीमा रहेका मुसा खाने गर्दछ । एक जोडी लाटोकोसेरोले फुल पारेर बच्चा कोरल्दासम्म तीन हजार वटासम्म मुसा खाने अध्ययनले देखाएको छ । आचार्यका अनुसार कृषकलाई मुसाबाट बाली जोगाउन विशेष सहयोग गर्ने भएकाले यसलाई किसानको साथीका रूपमा लिने गरिएको हो ।

पछिल्ला वर्षमा नेपाल आउनेमध्ये लगभग आठ प्रतिशत विदेशी पर्यटक लाटोकोसेरोसहितका चरा हेर्न आउने भएकाले यिनीहरूको संरक्षण चरा पर्यटनका लागि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । उत्सवले मध्य पहाडी क्षेत्रको तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किमी दुरीको मिलेनियम ट्रेकमा विद्यमान चरा पर्यटनको सम्भावनालाई उजागर गर्ने विश्वास लिइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । 

यस पदमार्ग क्षेत्रमा पाँच प्रजातिका लाटोकोसेरो पाइने जानकारी दिँदै उनले यहाँ नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पनि ठाउँ ठाउँमा देख्न सकिने बताए । “उत्सवको पूर्व सन्ध्यामा यस क्षेत्रका ३५ वटा विद्यालयमा लाटोकोसेरो संरक्षण शिविर सञ्चालन गरी विद्यार्थीलाई लाटोकोसेरोको कथा, व्यथा सुनाइएको छ,” उनले भने , “शिविरले यस क्षेत्रमा चराको संरक्षणका लागि विशेष योगदान पुग्ने विश्वास लिएका छौँ ।” उत्सवमा लाटोकोसेरो र यसको महत्त्वलगायतका विषयमा जीवन्त प्रस्तुति रहने मूल आयोजक समितिका संयोजक बालकुमार गुरुङले जानकारी दिए ।

त्यस्तै विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिता आदि गरिनेछ । प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचना, चित्र, तथा फोटा प्रदर्शनीका साथै गहुँको छ्वाली, चुरा, ढुङ्गा, स्टिलको पाता, लप्सीको दाना तथा माटो आदिबाट बनाइएका लाटोकोसेरोका नमुनाका साथै सो चराको एक फिट अग्लो रोबोट प्रदर्शनी गरिनेछ । गुरुङका अनुसार प्रदर्शनी स्थलमा आठ प्रजातिको लाटोकोसेरोको आवाज सुन्ने र भिडियो हेर्ने व्यवस्था मिलाइने छ । लाटोकोसेरो संरक्षणसम्बन्धी नाच, लाटोकोसेरोको नमुना एवम् अनुसन्धानात्मक सामग्री प्रदर्शनीमा राखिने छ । 

लाटोकोसेरो सम्बन्धमा सचेतना अभिवृद्धिका लागि सञ्चालित शिविर एवम् विद्यालय स्तरीय कथा, कविता, निबन्ध, चित्रकलालगायतका प्रतियोगिताले यसको संरक्षणमा विशेष टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ । “शिविर सञ्चालनसँगै लाटोकोसेरोका कथा सुन्ने र बुझ्ने विद्यार्थीका लागि राखिएको प्रतियोगिताका कारण उनीहरू यस सम्बन्धमा अझै गहन चिन्तन र मनन गर्नेछन्,” उनले भने । विद्यार्थीमार्फत सुनाइने लाटोकोसेरोका कथाले समाजमा संरक्षणका लागि महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ ।रासस