Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

विद्युतीय शवदाहमा प्रदूषण न्यून

ज्ञानमाण्डू।काठमाडौँको मुख्य क्षेत्रबाट ५ किलोमिटर पूर्व र विमानस्थलबाट उत्तर २ किलोमिटरमा रहेको पवित्र स्थल पशुपतिनाथको घाट पवित्र मानिन्छ । सो घाटमा धेरै वर्षअघिदेखि शव जलाउने कार्य हुँदै आइरहेको छ । हरेक दिन शोक, आँसु र पीडाको साक्षी नै बाग्मती नदी भएकी छन् ।

पशुपतिमा शव जलाइने स्थानमा आर्यघाट र भष्मेश्वर घाट छन् । आर्यघाटका चिता स्थलमध्ये १ नं विशिष्ट व्यक्तिका लागि र २ नं सबैका लागि प्रयोग गरिन्छ । भष्मेश्वरमा भने १० चिता स्थल छन् । यी बाह्र घाटमा काम गर्न २८ कर्मचारी खटिने गर्छन् । एक नम्बरको चितामा शवदाह गर्नका लागि रु पाँच हजार शुल्क तिर्नुपर्ने व्यवस्था छ । राजकीय सम्मान पाउने बहालवाला वा राजनीतिक दलका पूर्व नेता वा राष्ट्रसेवकलाई एक नम्बर चितामा जलाइन्छ । यसमा गृह मन्त्रालयबाट राजकीय सम्मान पाउने भनी पत्र आएको हुनुपर्छ । त्यस्तै पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का बहालवाला पदाधिकारी, सदस्य वा पूर्व पदाधिकारी एवं सदस्यलाई १ नम्बर चितामा जलाइन्छ । पूर्व राजा र राजपरिवार एवं निजका तीन पुस्ते नातेदारलाई पनि यही चितामा जलाइन्छ । 

दुई नम्बरको चिताका साथै भष्मेश्वर घाटमा शव दाहसंस्कार गर्नका लागि शव ब्रह्मनालमा राखेर मात्र चिता बुकिङ गर्न पाइन्छ । सामाजिक प्रतिष्ठा प्राप्त गरेको कुनै व्यक्ति वा इष्टमित्रको अग्रिम दर्ता नगरी नहुने परिस्थितिमा नाम दर्ता गरिन्छ तर अग्रिम बुकिङ गरेको दुई घण्टामा शव नल्याएमा त्यसलाई पर्खिइन्न । सो चितामा शवदाह नगरी नहुने कुनै पूर्व नेता, राष्ट्रसेवकको निश्चित समयमा शवदाह गर्नुपर्ने भएमा कोषले आर्यघाट सेवा केन्द्रलाई आवश्यक निर्देशन दिई व्यवस्था मिलाउने गर्छ । अन्य अवस्थामा घाटमा जुन शव पहिले ल्याइएको हो सोहीलाई पहिलो प्राथमिकता दिइन्छ । भष्मेश्वरमा पनि शवदाहका लागि रु पाँच हजार शुल्क र सरसफाइ शुल्कवापत केही रकम लिने गरिन्छ । यो रकम कोष व्यवस्थापनले तय गरेअनुसार हुन्छ ।

कोषका प्रशासकीय अधिकृत कुमार थापा मगरले भने , “पशुपतिका घाटमा लास जलाउँदा तीन देखि चार घण्टा लाग्ने गर्छ । आर्थिक हिसाबले हेर्ने हो भने पनि एउटा शवदाह गर्न चौध हजार रुपियाँ जति पर्न जान्छ । घाटमा शव दाउराले चलाउँदै जलाउनुपर्ने हुन्छ । औसतमा एउटा शव जलाउन २५० किलो काठ चाहिन्छ । त्यसबाट निस्केको धुवाँले वायु प्रदूषण हुने गर्छ । साथै घाटबाट निक्लिने दाउराका ठुटा र खरानीले जल प्रदूषण भइरहेको देख्न सकिन्छ ।”

पाशुपत क्षेत्र वरिपरिका बहुसङ्ख्यक हिन्दु पशुपतिनाथमा हुने दाहसंस्कार आफ्नो जीवनको एक अनिवार्य भाग हो भन्ने मान्छन् र यो चलन त्याग्न तयार छैनन् । आर्यघाट र भष्मेश्वरमा दिनमा सरदर २० देखि २२ लास जलाइन्छ । गोकर्ण निवासी युवक मिलन बोगटीले भने , “दाउराबाट नै धेरै अगाडिदेखि लास जलाइँदै आएकाले यो हाम्रो परम्परा र संस्कृति हो, पहिचान हो । दाउराबाट शवदाह गर्दा आत्माले शान्ति पाउने र वैकुण्ठ बास हुन्छ भन्ने मान्यता भएकाले यही प्रक्रिया ठिक छ ।” 

पशुपतिनाथस्थित विद्युतीय शवदाहगृहमा १०० किलो दाउरा राखेर डेढ घण्टामा लास जलाउन थप एउटा यन्त्र जोड्ने योजना कोषको छ । हाल दैनिक सरदर १०–१२ शव विद्युतीय शवदाहगृहमा जलाइन्छ । यदि यन्त्र थपिएमा दैनिक २० देखि २२ शव दाह गर्न सकिने सम्भावना देखिन्छ । भक्तपुरको हनुमानघाट, काठमाडौँको शोभाभगवती र ललितपुरको शङ्खमूलमा पनि विद्युतीय शवदाह गृह राख्ने योजना रहेको थाहा भएको छ । हनुमानघाटमा भक्तपुर नगरपालिकाले जाँच गरिसकेको छ भने देवघाटमा पनि बनाउन लागिएको बुझिएको छ । 

पशुपतिमा रहेको विद्युतीय शवदाहगृह २०७२ साल माघ १० गतेदेखि स्थापना भएको हो भने जलाउन माघ १५ गतेदेखि सुरु गरिएको हो । यहाँ भएको यन्त्रको लम्बाइ ७ फिट र चौडाइ दुई फिट आठ इन्चको हुन्छ । विद्युतीय प्रक्रियाबाट शव जलाउँदा पैँतालिस मिनेटदेखि एक घण्टा लाग्ने बताइन्छ । शव चिसो भएमा एक घण्टा लाग्ने गर्छ तर विधि विधान जोड्दा सवा दुई घण्टा लाग्छ । त्यस्तै विद्युतीय प्रणालीबाट शवदाह गर्दा दश वर्षमुनिलाई रु दुई हजार र त्यसभन्दा बढी उमेरका लागि रु चार हजार शुल्क पर्छ । 

विद्युतीय शवदाहगृहमा स्थापनाकालदेखि यही फागुन ४ गतेसम्ममा तेह्र हजारभन्दा बढी शवदाह भइसकेको छ । ठिमी निवासी संस्कृति भट्टले भने , “ विद्युतीय शवदाहगृह हामी जस्ता निम्नवर्गीयलाई नै बनाइएको हो । प्रदूषण पनि नहुने, बढी खर्च नहुने र धेरै समय नलाग्ने भएको हुनाले राम्रो लाग्यो । अरू ठाउँमा पनि विद्युतीय शवदाहगृह बनाउनु जरुरी छ ।” 

विद्युतीय शवदाहगृहका एक प्राविधिकका अनुसार लास जलाउन कम्तीमा पनि ७८० डिग्री सेल्सियस तापक्रम चाहिन्छ । जलाउने क्रममा निस्केको धुवाँ पानीबाट फिल्टर हुन्छ र कार्बन डाइअक्साइड ट्याङ्कीमा जम्मा हुन्छ । यस कारण निस्केको धुवाँ प्रदूषित हुँदैन तर शवमा कपडा र प्लास्टिक धेरै भए कालो रङको धुवाँ धेरै निस्किन्छ । 

स्थापना भएको दिनदेखि विद्युतीय शवदाहगृह अहिल्यैसम्म खाली भएको छैन । गृहको वातावरण मैत्रीपूर्ण भएको, आर्थिक सहजता र कम अवधिमा नै शव जल्ने तथा शव जलिरहेको देख्नु नपर्ने भएकाले मानिसहरूले विद्युत्लाई प्राथमिकता दिन थालेका छन् । यन्त्र कम भएका कारण कतिपय शव घाटमा लगिन्छ । यदि लाशमा पेसमेकर जडित छ भने शवदाह गर्नु अगाडि त्यसलाई निकाल्नुपर्दछ, अन्यथा यन्त्र पड्किन्छ । 

कोषका प्रशासकीय अधिकृत मगरले भने “घाटमा लास जलाउन समस्या हुन थालिसक्यो किनकि तराईबाट लकडी आउन कम भइसक्यो, दाउरा प्रति किलो रु ७० रुपियाँ पर्न जान्छ, महँगीले गर्दा तीन चार वर्षमा विद्युत्बाट नै शवदाह हुन्ने सम्भावना रहेको छ । तीनदेखि चार मेशिन भएमा धेरै छिटो हुुनेथ्यो ।” इच्छा भएमा यहाँ पनि नेत्रदानको व्यवस्था छ । विद्युत् शवदाहगृह सामान्य मर्मतका लागि हरेक महिनाको १५ गते र मसान्तमा बेलुका १० बजेदेखि सङ्क्रान्तिमा बिहान ८ बजेसम्म बन्द हुने गर्छ ।

विद्युतीय शवदाहगृहमा शवदाह गर्न ल्याइएपछि मात्र नाम दर्ता गरिन्छ । अस्पतालमा वा अन्य कुनै कारणबाट मृत्यु भएमा मृत्युसम्बन्धी प्रमाणपत्रका साथै निवेदकको परिचय खुल्ने परिचयपत्रको प्रतिलिपि आवश्यक पर्छ । त्यस्तै दुई मलामीको परिचय खुल्ने परिचयपत्रको प्रतिलिपि चाहिन्छ । कालगतिले मृत्यु भएमा घरभित्रका नातेदार, तीन मलामी वा आफन्तको परिचयपत्र आवश्यक हुन्छ । धार्मिक परम्परानुसार श्रद्धाञ्जली बाहिर गरिएपछि मात्र दागबत्ती दिन सात जनालाई भित्र प्रवेश गराइन्छ । सबै काम सकिएर सबै बाहिर आएपछि मात्र लास यन्त्रमा पठाइन्छ । शवदाहगृह परिसरमा लागूपदार्थ तथा निषेधित पदार्थ सेवन गर्न पाइँदैन ।रासस 

Ad After News Content

GME

Enjoy Your Study