Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सडक कालोपत्र भएसँगै फेरियो गाउँको मुहार

ज्ञानमाण्डू।बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बजारदेखि पश्चिम बिरिङखोलाको किनारसम्म सडक कालोपत्र गरिएसँगै त्यस क्षेत्रका सर्वसाधारण हर्षित भएका छन् । सुगम जिल्लाका रूपमा चिनिएको झापाको पनि दुर्गम गाउँका रूपमा रहेको बाह्रदशी गाउँपालिकामा सडक कलोपत्र हुन थालेसँगै स्थानीयवासी हर्षित भएका हुन् । आदिवासी समुदायको बाहुल्य रहेको भागुडुब्बा विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । मुलुक सङ्घीयतामा गएसँगै स्थानीय तहको निर्वाचनपछि यस गाउँपालिकामा अहिले विकास निर्माणका कामले गति लिएको छ । योसँगै स्थानीयवासी समेत हर्षित बनेका हुन् । 

सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत रु ४१ लाखको लागतमा गाउँपालिकाभित्र भागुडुब्बा बजार पश्चिम बिरिङखोलाको किनारसम्मको सडक कालोपत्र गरिएसँगै आवागमनमा सहज भएको स्थानीयवासीको भनाइ छ । अहिले गाउँपालिकाले ३ नं वडाको राजगढबजार र आसपासको सडक रु एक करोड खर्च गर्दै कालोपत्र गरेको छ । योसँगै गाउँपालिकाभित्र रहेका अन्य सडकको समेत कालोपत्रका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्दै काम अघि बढाइएको छ । 

“भागुडुब्बाबाट बिरिङखोलासम्म सडकमा गरिएको कलोपत्र गाउँपालिकाभित्रकै पहिलो र नमुना सडक हो”, वडा नं १ का अध्यक्ष शम्भुसिंह राजवंशीले भने, “यो सडक निर्माणसँगै यस क्षेत्रका स्थानीयवासीलाई भागुडुब्बा र राजगढबजार आउन तथा भारतीय बजार दिघल बैङ्कसम्म जानसमेत सहज भएको छ ।” 

गाउँपालिकाले अहिले सडक कालोपत्र, गाउँ गाउँमा विद्युत् विस्तारसँगै विकासका पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेसँगै गाउँकै मुहार फेरिएको स्थानीयवासी दिलीप राजवंशी बताउँछन् । उनी भन्छन् , “गाउँमा यति राम्रो सडक बन्ला भन्ने लागेकै थिएन, वर्षाैँदेखि धुलाम्मे र हिलाम्मे सडकमा हिँड्न बाध्य थियौँ, अहिले सडक कालोपत्र भएसँगै दक्षिणी झापाका हामी सबैलाई सहज भएको छ ।” 

सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिलै हिलो हुने समस्या हटेर गएको स्थानीयवासी पुष्पा यादवले बताए । उनले भने, “घर अगाडिको बाटो कालोपत्र हुँदा छुट्टै आनन्द हुँदो रहेछ । छोराछोरीलाई स्कुल पठाउन पनि पहिला समस्या थियो, अहिले नानीहरू साइकलमा आफैँ स्कुल जान्छन् ।” 

उनका अनुसार सडक कालोपत्र गर्नुअघि वर्षात्को समयमा सडकमा परेका खाल्डाखुल्डीका कारण पानी जम्ने गरेकाले गाउँमा कोही बिरामी हुँदा एम्बुलेन्स ल्याउने अवस्था थिएन । “अहिले त्यो सबै समस्या हटेर गयो”, यादवले भने , “यहाँ बाटो मात्रै होइन वडाध्यक्षका रूपमा शम्भुसिंहलाई पाएपछि यो ठाउँको मुहारै फेरियो ।” 

गाउँ गाउँका सडक कालोपत्र गरेसँगै बाह्रदशी गाउँपालिका मात्र होइन, झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकाका स्थानीयवासी समेत खुसी देखिएका छन् । अहिले सहरका सडकभन्दा गाउँका सडक राम्रा भएपछि स्थानीयवासीमा उत्साह छाएको झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । “झापा गाउँपालिकाको पहिलो प्राथमिकता नै विकास निर्माण हो । त्यसमाथि पनि शिक्षासँगै सडक निर्माण, खाने पानी, विद्युत्, कृषिलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको छ”, उनले भने, “अहिले हामी गाउँ गाउँका सबै सडक कालोपत्र गरिरहेका छौँ, रु २० लाखमाथिका सबै योजना बोलपत्र प्रक्रियाबाट सडक कालोपत्र गरिरहेका छौँ ।” 

गाउँ जोड्ने ठुला मात्र होइन साना सडक पनि कालोपत्र गरेर चिल्लो बनाइएका कारण झापाको दक्षिणी क्षेत्रका सबै सडक चिटिक्क परेका छन् । सडक सञ्जालको पहुँच नपुगेको झापाका दुर्गम गाउँमा पनि अहिले सडक विस्तारसँगै कालोपत्र गर्न सुरु गरेसँगै स्थानीयवासी हर्षित देखिएका छन् । स्थानीय तहको निर्वाचनअघि झापाका मुख्य सहर विर्तामोड, दमक, अर्जुनधारा, काँकडभिट्टा र भद्रपुर जोड्नेबाहेक अन्य सडक पक्की थिएनन् । जिल्लामा दुर्गम मानिने कचनकवल गाउँपालिका क्षेत्रमा अहिले कालोपत्र दुई लेन सडक पुगेको छ । 

सडक कालोपत्र भएकै कारण गाउँका नागरिक बजार पुगेर समयमै घर फर्किन्छन् । ठूलाठूला यात्रुवाहक बस गाउँमै आउन थालेका छन् । बाह्रदशी गाउँपालिका–३ राजगढका वडा सदस्य लक्ष्मी निरौला अधिकारीले भने, “गाउँमा थुप्रै विकास गर्न बाँकी छ, हामी प्राथमिकताका आधारमा विकास निर्माणका काम गरिरहेका छौँ । पहिलो प्राथमिकतामा सडकलाई राखेका छौँ ।” 

कालोपत्र सडक गाउँमै पुगेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको छ । गाउँमा उत्पादन गरिएका तरकारीलगायतका बाली शहरी क्षेत्रका बजारमा बिक्री गर्न लाने गरेको बाह्रदशीका कृषक लक्ष्मीनारायण साहले बताए ।रासस 

Ad After News Content

GME

Enjoy Your Study