Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

अतिक्रमणको जोखिममा सिमसार क्षेत्र

ज्ञानमाण्डू।प्रत्येक वर्ष फेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘सिमसार र जैविक विविधता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको सिमसार दिवस वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको संयुक्तरुपमा शिवपुरीको धापमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

शिवपुरीको धाप महत्त्वपूर्ण सिमसार क्षेत्र हो । सो क्षेत्रमा विद्यार्थी, स्थानीय समुदाय र सरकारी निकायका अधिकारीको सहभागितामा सरसफाइ, सिमसार संरक्षणका लागि जनचेतनालगायत कार्यक्रम गर्न लागेको विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । 

सिमसार जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ । विभागका अनुसार नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्त्वपूर्ण वासस्थान पनि हो । 

सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ । विभागको तथ्याङ्कअनुसार नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । 

यसै गरी नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन् । त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति पनि सिमसारमा आश्रित छन् । विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि १९७१) २ फेबु्रअरी १९७१ मा इरानको रामसार सहरमा भएको थियो । 

रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्त्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ । 

सन् १९८७ डिसेम्बर १७ का दिन नेपालले कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको उपमहानिर्देशक कँडेलले बताए । रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुन्डो ताल, गोसाईंकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल गरी जम्मा १० सिमसार सूचीकृत छन् । 

यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको विभागको तथ्याङ्क छ । सिमसारको अत्यधिक उपयोग, भूमि अतिक्रमण, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उनले जानकारी दिए ।रासस

Ad After News Content

GME

Enjoy Your Study