Gyanmandu LOGO

Reliable

ताजा

ऐतिहासिक सिन्धुलीगढीमा बन्दैछ पहिलो युद्ध सङ्ग्रहालय

ज्ञानमाण्डू।सुन्दर ऐतिहासिक स्थल सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय बन्ने भएको छ । गोर्खाली सेनाले ब्रिटिस सेना (इस्ट इन्डिया कम्पनी) लाई पराजित गरेको ऐतिहासिक तथ्यलाई जीवन्त बनाउन नेपाली सेनाले यहाँ सङ्ग्रहालय निर्माण गर्ने भएको हो । नेपाली वीरताको यो तथ्य नेपालको इतिहासमा त स्वर्ण अक्षरले लेखिएकै छ, अब बन्ने यो सङ्ग्रहालयले यसलाई युगौँसम्म पनि ताजा बनाइराख्ने नेपाली इतिहासविद्हरूको भनाई छ । 

त्यसो त सिन्धुलीगढीको इतिहासबाहेकको अर्को सुन्दरतासँग जोडिएको तथ्य पनि छ । नेपालको लोक संस्कृतिका क्षेत्रमा भिजेको एक कर्णप्रिय गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कतिमा राम्रो दरबार, मार्‍यो नि मायाले मार्‍यो’ ले पनि यस स्थललाई सबै नेपालीमा परिचित बनाएको छ । लोकगायक कृष्णविक्रम थापाले विसं २०३० को दशकमा गाएको यो लोकगीतले नेपाली वीरताको प्रतीकका रूपमा परिचित सिन्धुलीगढीको ऐतिहासिक पहिचानमा सुन्दरता थपिदिएको छ । 

हाल प्रदेश नं ३ को कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीमा छ हजार २०० वर्ग फिटमा रहने गरी सङ्ग्रहालय निर्माणका लागि यही माघको पहिलो सातादेखि काम थालिएको छ । विसं १८२४ असोज १५ मा तत्कालीन नेपाली सेना (गोर्खाली सेना)ले अङ्ग्रेज सेनासँग युद्ध गरी प्राप्त गरेको सफलताले मुलुकको एकीकरणलाई सहयोग पुगेको थियो । तत्कालीन इष्ट इन्डिया कम्पनीका कप्तान किन लकको नेतृत्वमा नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई यस गढीको आसपास क्षेत्रमा गोरखाली सेनाले पराजित गरेको थियो । 

विसं १७७९ पुस २७ गते जन्मेका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले तत्कालीन समयमा छरिएका विभिन्न राज्यलाई एकीकृत गर्ने उद्देश्यले विसं १८०१ असोज १५ गते नुवाकोटमा आक्रमण गरी विजय प्राप्त गरेका थिए । त्यसपछि क्रमिकरुपमा ससाना विभिन्न राज्य जोड्ने र त्यसको रक्षा गर्ने रणनीतिमा गोर्खाली सेना थियो । त्यतिखेर गोर्खाली सेनाले काठमाडौँ उपत्यकामा नियन्त्रण राख्न सकेको थिएन । 

यस स्थानमा गोर्खाली सेनाले युद्ध गरी अङ्ग्रेज सेनाका ‘किन लक’ नेतृत्वको दुई हजार ४०० सैनिकमध्ये एक हजार ६०० सैनिकलाई मारेकोे इतिहास अब यस युद्ध सङ्ग्रहालयमा पनि सङ्गृहीत हुनेछ । चालु आवको असार मसान्तसम्म निर्माण सम्पन्न गरिने उक्त सङ्ग्रहालय नेपालकै पहिलो युद्ध सङ्ग्रहालयका रूपमा समेत रहने छ । 

यहाँको मौलिकतालाई समेट्ने सङ्ग्रहालयको बाहिरी संरचना निर्माणका लागि नेपाली सेनाले रु चार करोड ५० लाख खर्च विनियोजन गरेको सिन्धुलीगढीस्थित ब्रदबहादुर गणका प्रमुख राजीव थापाले जानकारी दिए । करिब दुई हजार ५०० मिटर अग्लो स्थानमा एक तल्ले सो भवनमा नौ वटा कक्ष हुनेछन् । त्यसमा तत्कालीन युद्धमा प्रयोग गरिएका सैनिक पोशाक, हातहतियार, अन्य सैन्य सामग्री र त्यस युद्धमा प्रयोग भएका अरू ऐतिहासिक वस्तु तथा सामग्री सङ्ग्रह गरिने छ । युद्धसम्बन्धी जानकारी दिन वृत्तचित्र प्रदर्शनका लागि श्रव्य दृश्य कक्ष एवं प्रदर्शनी कक्षको पनि व्यवस्था गरिएको छ । 

गण प्रमुख थापाले भने, “नेपालकै पहिलो युद्ध सङ्ग्रहालय निर्माणको क्रममा छ, छिमेकी राष्ट्र चीनका विभिन्न सहरमा रहेका यस किसिमका स्थलको भ्रमण गरी प्राप्त अनुभवका आधारमा यसलाई नमुनाका रूपमा विकास गर्ने हाम्रो योजना छ ।” त्यस बेलाको सैन्य संस्कृति, युद्ध अवस्था र हाम्रो सभ्यतासँग जोडिएको सङ्ग्रहालयमा तत्कालीन छ वटा शीलालेख समेत राखिने छ । हाल सेनाको संरक्षणमा रहेका ती शीलालेख देवनगरीमा लेखिएका छन् र केही अस्पष्ट देखिन्छन् । 

प्राध्यापक डा रमेश ढुङ्गेलले नेपालको वीरताको युद्धका रूपमा लिइने उक्त सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालयको स्थापना गरिनु राम्रो कुरा रहेको जनाए । उनले विश्वमा देशको गौरव बढाउने यस्ता संस्थामा सङ्ग्रहालयलाई अन्तर्राष्ट्रिय तहमा बुझेका र ऐतिहासिक तथ्यलाई अनुसन्धानका आधारमा पुष्टि गर्न सक्ने विज्ञ समूहलाई सल्लाहकारका रूपमा राख्नुपर्ने सुझाव पनि दिए । उनको सुझाव थियो, “यहाँ तत्कालीन युद्धलाई प्रतिबिम्बित हुने गरी सामग्री राख्नुपर्छ, हात हतियार, पोशाकका साथै अरिङ्गालका गोलालाई पनि प्रतिकात्मक रूपमा राख्नुपर्छ ।” त्यस युद्धमा सिन्धुलीगढीको जङ्गलमा रहेका अरिङ्गालले चिलेर ब्रिटिसतर्फका कतिपय सेना मारिएको ऐतिहासिक तथ्य भेटिन्छ । 

काठमाडौँका तत्कालीन राजा जयप्रकाश मल्लको सहयोगार्थ आएका इस्ट इन्डिया कम्पनी सेनाले सिन्धुलीगढीमा गोर्खाली सेनासँग युद्ध गरी उनीहरूले जितेका राज्यसमेत कब्जा गर्ने उद्देश्यले आएका थिए । पूर्वमा जापानदेखि पश्चिमका ल्याटिन अमेरिकी भू–भागमा फैलिएको ब्रिटिस साम्राज्यलाई रोक्न शाहको नेतृत्वमा सञ्चालन भएको एकीकरण अभियानलाई सफल बनाउन अङ्ग्रेजसँग युद्ध भएको थियो । सानो गढी र ठुलो (पौवा) गढी भनेर दुइवटा गढीमा विभाजित सिन्धुलीगढीको विशेष महत्त्वलाई तत्कालीन जनरल भीमसेन थापाले बुझेर एउटा स्थायी सैन्य टोलीको व्यवस्था गरेको पाइन्छ । 

बेलायती सेनासँग अत्याधुनिक हातहतियार भए पनि गोरखाली सेनाले स्थानीयको सहयोगमा घरेलु हतियारले युद्धमा सफलता कायम गरी मुलुकको भूगोल रक्षा गरेका थिए । सोही कारण नेपालीको शिर सधैँ उच्च रहेको छ र नेपालले आजसम्म स्वाभिमानी राष्ट्रका रूपमा आफूलाई चिनाउँदै आएको छ । 

इतिहासकारहरूको अध्ययन अनुसन्धानअनुसार त्यस बेला हाम्रा पुर्खाले बल, बुद्धि र विवेकले सिन्धुलीगढी युद्ध नजितेको भए नेपालको एकीकरण कठिन प्रायः थियो । काठमाडौँदेखि १५० किलोमिटर दुरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीक मात्र नभई आधुनिक नेपालका लागि गौरवपूर्ण इतिहास बोकेको स्थल पनि हो । विदेशी हमलालाई परास्त गरेर राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढी नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्ताबेज हो । 

पुरातत्त्व विभाग, कमलामाई नगरपालिकालगायतले भवनको भित्री सजावटलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको सिन्धुलीगढीको युद्धले आधुनिक नेपालको निर्माणमा महत्त्वपूर्ण योगदान गरेको बताउँदै विशाल स्वतन्त्र देशका रूपमा नेपालको पहिचानलाई विश्वमा फैलाउन सङ्ग्रहालय महत्त्वपूर्ण हुने र यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे । 

यसले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने हुँदा यो स्थललाई अन्तर्राष्ट्रियकरण गर्न गढी आसपास क्षेत्रका सम्पदा संरक्षण र पूर्वाधार विकासको आवश्यक रहेको स्थानीयको भनाइ छ । सिन्धुली दरबार, किल्ला, पौवा गढी यहाँका आकर्षक स्थल हुन् । विश्वका इतिहास अध्ययन र अनुसन्धानको गन्तव्य बन्न सक्ने सिन्धुलीगढीको इतिहास अध्ययनका लागि विदेशी देशका उच्च सैनिक अधिकारी पनि यस स्थलमा पुगेका छन् । 

रामेछापको सेरोफेरो, दोलखाको गौरीशङ्कर हिमालको दृश्य, र तराईका समथर भूभाग देखिने यो स्थान महाभारत रेन्जमा छ । बीपी राजमार्ग निर्माण भएपछि गढी घुम्न जान यातायातको सहज पहुँच छ । सिन्धुलीमाढीबाट करिब २० किलोमिटरको दुरीमा कैयौँ घुम्तीसहितका मोड छिचोल्दै उकालो लागेपछि गढी पुगिन्छ । जापान सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यो राजमार्ग बनेपादेखि बर्दीबास हुँदै पूर्वी तराई भेगमा झर्न सकिन्छ । 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्ती सन्दर्भमा उनको पूर्णकदको शालिक सङ्ग्रहालय नजिक स्थापना गरिएको छ । उक्त युद्धमा वीरगति प्राप्त गरेका नेपाली तथा विदेशीको सम्झनामा समाधि स्थलमा पार्क निर्माण गर्ने तयारीसमेत भइरहेको छ । मुलुकको एकीकरणका साथै विश्वलाई नै युद्धको सफल सन्देश दिने सिन्धुलीगढी विश्व इतिहासमा सैन्य सभ्यताको पाठशाला हो । बन्न लागेको सङ्ग्रहालयले नेपाली वीरतालाई विश्वमा पुर्‍याउने सिन्धुली जिल्ला समन्वय समितिका प्रमुख शङ्कर तिवारीले बताए । सिन्धुलीमा भएका पर्यटकीय क्षेत्रको विकास क्रममा उक्त सङ्ग्रहालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे । 

नेपाली सेना, पत्रकार महासङ्घको सक्रियतामा तीन वर्षदेखि कात्तिक २४ गते यहाँ विजयोत्सव मनाउन गरिएको छ । असोज १५ गते यस युद्धमा नेपालले विजय प्राप्त गरेको भए पनि दशैँलगायत चाडपर्वका कारण कात्तिकमा कार्यक्रम गर्न थालिएको हो । 

नेपालले सुगौली सन्धिपछि कुनै पनि देशसँग युद्ध गर्नुपरेको छैन, नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीतिका कारण बेलायतसँग अहिले मैत्रीपूर्ण सम्बन्ध छ । बेलायती नागरिकले आफ्ना पूर्वजले युद्ध गरेको स्थान अवलोकन गर्न आउने र जानकारी लिने स्थलको महत्त्वसमेत यो सङ्ग्रहालयले बोक्ने देखिन्छ । 

मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन स्रोतको आधार बन्न सक्ने सम्भावना बोकेको सङ्ग्रहालयले स्वदेशी तथा विदेशी पर्यटकलाई दीर्घकालसम्म आकर्षित गर्ने स्थानीयको भनाइ छ । सरकारले हालै घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउनसमेत यसले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । त्यसै गरी नेपाली समाजलाई पूर्वजको वीरताको अध्ययन गरी राष्ट्रिय एकता बलियो बनाउन पनि यस सङ्ग्रहालयले अभिप्रेरित गर्न सक्ने अनुमान गरिएको छ । 

नेपाल र बेलायतको दौत्य सम्बन्ध कायम भएको करिब सात दशक पूरा भइसकेको छ । यस अवधिमा दुवै मुलुकका द्विपक्षीय हितका विषयमा कार्य भएका छन् । गोर्खाली सेनाले यहाँ प्रदर्शन गरेको युद्धकलाले विभिन्न समयमा विश्व परिवेशमा चर्चा हुने गरेको छ, जसले समग्र नेपाल र नेपालीको पहिचान बढाएको छ । स्वाभिमानी नेपालीले स्वाधीनताका लागि वैरी सामु गरेको युद्धले भारत, बेलायतजस्ता मुलुकले आफ्नो सैन्य संरचनामा ‘गोरखाली पल्टन’ स्थापना गरी नेपालीलाई भर्ना लिने गरेका छन् । 

ती देशबाट उच्च सैनिक पदकसमेत नेपालीले प्राप्त गर्ने विषयले सबै नेपालीलाई गौरवान्वित बनाएको छ । सन् १९१५ मा बेलायतको उच्च सैनिक पदक भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कुलवीर थापा हुन् । त्यस्तै बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक भिक्टोरिया १३ जना नेपालीले प्राप्त गरेको इतिहास छ । 

सिन्धुलीको पुरानो मुकामका रूपमा सिन्धुलीगढी रहेकाले यहाँ आवश्यक कार्यालय राखिएको थियो । सिन्धुलीगढीको अर्को विशेषता भनेको दरबार र मन्दिर पनि हो । मकवानपुरका राजा शुभ सेनका छोरा माणिक्य सेनले विसं १७६२ मा सिन्धुलीगढीको निर्माण गराएको इतिहास भेटिन्छ ।रासस  

IME