Gyanmandu LOGO

Reliable

ताजा

सडक विस्तारको नयाँ योजना नबनाइने

ज्ञानमाण्डू।काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडक ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत सम्पन्न नभएपछि सरकारले नयाँ सडकमा विस्तारको योजना बनाएको छैन । 

काठमाडौँ उपत्यकामा सडक विस्तारका लागि चौडाइ उपलब्ध नहुने र सडकमा रहेका संरचना हटाउन पनि कठिन हुने भएकाले तत्काल विस्तारका लागि योजना बन्न नसकेको हो । अहिलेकै अवस्थामा सडक विस्तारको योजना बनाउन नसकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले काठमाडौँ उपत्यकामा १० स्थानका सडक विस्तार सुरु गरेको थियो । तीमध्ये अधिकांश स्थानमा सम्पन्न भइसकेको छैन । 

सुरु भएका योजना सम्पन्न नभएकै कारण नयाँ योजना बन्न नसकेको आयोजनाका इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । देवकोटाले भने, “निर्माणका क्रममा रहेका योजना सम्पन्न गर्नु नै अहिलेको लक्ष्य हो ।” काठमाडौँ उपत्यकामा धेरै स्थानमा अहिले पनि साँघुरा सडकका कारण स्थानीयवासी घण्टौँ सवारी जाममा पर्ने गरेका छन् । हाल निर्माणाधीन सडक नै अलपत्र भएपछि सरकारले सडक विस्तारको नयाँ योजना बनाउन नसकेको हो ।

सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनमा पनि निर्माणस्थल खाली भएपछि मात्रै ठेक्का सम्झौता गर्नुपर्ने व्यवस्था हुँदा नयाँ सडक निर्माणको योजना तत्काल नबन्ने देखिएको छ । चार वर्ष पहिले सुरु भएका विभिन्न सडक पनि अहिले आयोजनाले चौडाइ नबढाई कालोपत्र गरिरहेको छ । विस्तारका क्रममा रहेका सडक लामो समयसम्म निर्माण नहुँदा धुलो र हिलोका कारण स्थानीयवासी हैरान भएपछि उपलब्ध चौडाइमै निर्माण भइरहेको हो ।रासस