Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

स्वआर्जनबाट आत्मनिर्भर बन्दै महिला

ज्ञानमाण्डू।भक्का बेचेर जीवनयापन गर्ने मोरङ कटहरी गाउँपालिका–२ निवासी सुनिता राजवंशीको नाम अहिले परिवर्तन भएको छ । उनले गर्दै आएको कामको आधारमा धेरैले उनको नाम नै परिवर्तन गरी ‘भक्कावाली आन्टी’ भन्ने गर्दछन् । आफूले यो काम गर्न थालेपछि जीवनशैलीमा परिवर्तन भएको उनी बताउँछिन् । 

चोकमा बिहान–बेलुकाको समयमा उनलाई भक्का बेच्न भ्याइनभ्याइ हुने गरेको उनको भनाइ छ । ‘‘काम सानो ठुलो हुँदैन आफूसँग भएको सीपको प्रयोग गर्नु राम्रो ठानेर नै मैले यो व्यवसायलाई रोजेँ’’, राजवंशीको भनाइ छ । चामलको पीठोबाट बनाइने भक्का पूर्वी तराईका जिल्लामा निकै लोकप्रिय खाद्य वस्तुको रूपमा लिने गरिन्छ । 

प्रायः धेरैले जाडोको मौसममा मात्र भक्का बेच्छन् तर आफूले वर्षभरि नै यसमा लागेको उनी बताउँछिन् । भक्का बेचेरै दिनको रु एक हजार ५०० सम्म कमाइ हुने गरेको राजवंशीको भनाइ छ । यसबाट उनलाई घरायसी खर्च पुगेको छ । सानो उमेरमा घरमा आमाले भक्का बनाएको देखेको बताउँदै राजवंशीले पछि आफूले यसैलाई पेशाका रूपमा अगाडि बढाएको उल्लेख गरिन् । 

यस्तै मोरङको दुलारीं निवासी अम्बिका थपालियाको अब घरायसी प्रयोजनको सामान खरिद गर्न होस् वा आफ्नो नानीहरूको विद्यालयमा बुझाउनुपर्ने शुल्कको लागि श्रीमान्लाई खोज्न वा पर्खनुपर्ने दिनहरू हटेको छ । दुई वर्षदेखि दुलारीबाट विराटनगरसम्म आई सिटीसफारी (ब्याट्रीबाट चल्ने सवारीसाधन) चलाउन थालेपछि आफ्नो परिचय र जीवनशैलीमा परिवर्तन आएको बताउँछिन् । 

आफ्नो कमाइको पैसा राख्न वा जम्मा गर्न थालेपछि कुनै पनि सामान लिनुपर्दा श्रीमानसँग पैसा माग्नु पर्ने बाध्यता छैन । ‘‘आफैँले आम्दानी गर्न सक्दा आनन्द हुने रहेछ’’ थपलियाको भनाइ छ । पहिला सधैँ अभाव हुने बितेका दिन सम्झँदा कामप्रति झन् जोस बढेर आउने थपलिया बताउँछिन् । 

शुरुशुरुका दिनहरूमा सफारी कुदाउन अलि अप्ठ्यारो लागेको तर बिस्तारै बानी बसेको उनको अनुभव छ । जिन्दगीलाई राम्रो र सुख बनाउने कुरा आफ्नै हातमा हुने भनाइ रहेको छ । सिटीसफारीबाट राम्रो आम्दानी भइरहेको र आफू सन्तुष्ट रहेको थपलिया बताउँछिन् । 

यस्तै विराटनगर–१२ की शर्मिला तामाङ आफूले कपडा सिलाइको काम गरेको एक वर्ष भएको बताउँछिन् । कपडा सिलाउने तालीम लिन धेरै खर्च नलाग्ने र सानो लगानीबाट सुरु गर्न सकिने उनको भनाइ छ । विभिन्न डिजाइनको लुगा सिलाउन आफूलाई रमाइलो लाग्ने र यसबाट आफ्नो आम्दानी राम्रो भएको प्रतिक्रिया दिँदै दुई/चार पैसाको लागि कसैसँग हात फैलाउनु नपरेको भनाइ तामाङको छ । काम गर्न अल्छी र लाज मान्नु हुँदैन, काम गरेर खान लाज होइन भन्ने विचार र धारणा ल्याउनुपर्ने उनी बताउँछिन् । 

त्यस्तै अर्की महिला राधा चौधरी सधैँ जसो लाग्ने साप्ताहिक हाटमा गएर थरिथरि खालको दाल, चना, हर्दी, कुचोजस्ता सामानको बिक्री गर्ने काम गर्दछिन् । उनले साप्ताहिक हाटमा सामान बिक्री गर्न थालेको तीन वर्ष भएको बताउँछिन् । चौधरीले भनिन् , ‘‘आफ्नो कामलाई म सधैँ सम्मान गर्ने गर्छु ।’’ सामान खरिद गर्ने उनका आफ्नै ग्राहक छन् । 

कामलाई सम्मान गर्ने र पेसामा इमानदार भएपछि व्यवसाय सञ्चालन गर्न कठिनाइ नहुने उनको तर्क छ । पहिला परिवारबाट आफूलाई साथ सहयोग नभएको बताउँदै उनले भनिन् , ‘‘पारिवारिक असहयोगले नै मलाई काम गर्ने कुरामा अझ बढी प्रेरणा मिल्यो ।’’ काम गर्न थालेपछि राम्रो आम्दानी भएको छ र परिवारदेखि समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको चौधरीको भनाइ छ ।रासस