Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ओझेलमा पर्‍यो कान्छो राष्ट्रिय निकुञ्ज


ज्ञानमाण्डू।नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाइरहेका बेला पर्यापर्यटनको राम्रो सम्भावना रहेको बाँके राष्ट्रिय निकुञ्जमा भने पर्यटकको चहलपहल खासै बढ्न सकेको छैन । बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले २०६७ सालमा स्थापना भएको यस निकुञ्ज जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान र बर्दिया राष्ट्रिय निकुञ्ज तथा नेपालगञ्जसँग जोडिएको छ । नेपालको यो कान्छो राष्ट्रिय निकुञ्ज आवश्यक प्रचारको अभावमा ओझेलमा परेकोजस्तो देखिन्छ । यद्यपि यस निकुञ्जलाई सरकारले १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा ५७ औँ स्थानमा राखेको छ । 
सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरुप बाघको सङ्ख्या बढाउन यसको वासस्थानको उचित व्यवस्थापन गर्ने उद्देश्यले बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमी क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा यो निकुञ्ज घोषणा गरेको थियो । विसं २०५७ मा पृथ्वीलाई उपहार भनी यस क्षेत्रलाई सरकारले बर्दिया राष्ट्रिय निकुञ्जको पूर्व विस्तारित क्षेत्रको रूपमा घोषणा गरेको थियो । त्यसको १० वर्षपछि २०६७ वैशाख ३० मा सगरमाथा राष्ट्रिय निकुञ्जको कालापत्थरमा बसेको मन्त्रिपरिषद्को बैठकले यस निकुञ्ज स्थापनाको निर्णय गरेको र २०६७ असार २८ गते राजपत्रमा सूचना प्रकाशित गरी यसको औपचारिक स्थापना गरिएको थियो । 

निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग तथा राष्ट्रिय र सामुदायिक वन हुँदै भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेन्चरीसँग जोडिएको छ । उत्तरतर्फ चुरे पर्वत र दक्षिणमा पूर्व–पश्चिम राजमार्ग रहेको छ भने दक्षिणमा कम्दी जैविक मार्ग हुँदै भारतको सलेहवा वाइल्डलाइफ सेन्चरी क्षेत्रसँग समेत जोडिएको छ । निकुञ्जमा आवतजावतमा अप्ठेरो पर्ने महोदेवपुरी बोटल नेट क्षेत्र पनि पर्दछ । 

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधारसहित वन्यजन्तु विचरण भइरहेको दृश्यावलोकनका लागि विभिन्न स्थानमा टावर निर्माण, जस्प सफारी, पैदल यात्रा, हात्ती सफारी आदि सेवा उपलब्ध छन् । बाँके राष्ट्रिय निकुञ्जमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले गत पुसको दोस्रो सातादेखि हात्ती सफारी सुरु गरिएको छ । नेपाल भ्रमण वर्ष शुभारम्भको अवसरमा प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आन्तरिक पर्यटक बढाउन र विदेशी पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीले सहयोग पुग्ने बताएका थिए । 

मध्यवर्ती क्षेत्रको विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी बालापुर, खड्गबार र गाभरमा होमस्टे (घरवास पर्यटन) सञ्चालनमा ल्याइएको छ । निकुञ्जको ओभरी, खड्गबार, बुच्चापुर, गाभर र अगैयाबाट पर्यटकलाई निकुञ्जभित्र प्रवेश गर्ने सुविधा उपलब्ध छ । 

निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन् । यहाँ जैविक विविधताको दृष्टिले आठ वटा पारिस्थितिकीय प्रणाली, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रजातिका पन्छी, ५८ प्रजातिका माछा, ३२ प्रजातिका स्तनधारी, २२ प्रजातिका सरीसृप तथा छ प्रजातिका उपयचरहरु पाइन्छन् । सालक, हुँडार, चौका, जङ्गली हात्ती र पाटेबाघजस्ता संरक्षित स्तनधारी वन्यजन्तु, कालो गरुड र राजधनेशजस्ता पन्छी र अजिङ्गर, सुनगोहोरोजस्ता संरक्षित घस्रने वन्यजन्तु रहेका छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ मानिएका पन्छी अभिलेख गरिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको हुँदा ठुला वन्यजन्तुका लागि यो महत्त्वपूर्ण वासस्थान पनि हो । 

बाँके राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त थलो बन्दै गएको छ । निकुञ्जमा खानेपानी, उचित व्यवस्थापन भएपछि बाघको सङ्ख्या बढेको निकुञ्जले जनाएको छ । निकुञ्ज कार्यालयका अनुसार सन् २०१३ मा चार वटा बाघ रहेकामा सन् २०१८ मा २१ वटा वयस्क बाघ पुगेको छ । “बाघका लागि आहार विहार, बस्ने ठाउँ आदिको व्यवस्था गरेपछि बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईको  भनाइ छ । 

नेपालले व्यक्त गरेको प्रतिबद्धताअनुसार बाघको सङ्ख्या सन् २०२२ सम्ममा २५० पुर्‍याउन सकिने अधिकृत भट्टराई बताउँछन् । पछिल्लो आँकडा अनुसार नेपालमा बाघको सङ्ख्या २३५ छ । 

यस निकुञ्जभित्र पूर्व–पश्चिम क्षेत्रमा ७२ किलोमिटर र कोहलपुर–बबई रत्न राजमार्गमा ३० किलोमिटर पर्ने हुँदा वन्यजन्तु सडक वारपार गर्ने क्रममा दुर्घटनामा पर्ने समस्या रहेको छ । सुक्खा क्षेत्र भएका कारण निकुञ्जका जनावर पानी पिउन राप्ती नदी किनारामा पुग्ने गर्दछन् । रातको समयमा राजमार्ग पार गर्ने क्रममा उनीहरू सडक दुर्घटनामा पर्ने गरेका छन् । “सडकमा जथाभावी फ्याँकिएका खानेकुरा खान जाँदा पनि केही जनावर गाडीको ठक्करले मारिएका छन्”, संरक्षण अधिकृत भट्टराईको भनाइ छ । निकुञ्जमा विगत पाँच वर्षको अवधिमा २६४ जनावर सडक दुर्घटनामा परेर मरेका छन् । 

निकुञ्जको तथ्याङ्कअनुसार आव २०७५/७६ मा ४५ वटा, आव २०७४/७५ मा ७२ वटा, आव २०७३/७४ मा ८३, आव २०७२/७३ मा ५०, आव २०७१/७२ मा २४ वटा वन्यजन्तुको मृत्यु दुर्घटनाबाट भएको छ । मृत्यु हुनेमा बँदेल, मृग, खरायो आदि छन् । दुर्घटना मुख्य गरेर सुक्खायाममा बढी हुने गरेको पाइएको छ । गत वर्ष दुर्घटनाको जोखिममा परेका ४३१ वन्यजन्तुको उद्धार गरिएको थियो । 

राष्ट्रिय निकुञ्जको सुरक्षा व्यवस्थाको लागि २०६७ सालदेखि सेनाको गोरखदल गणको एक टोलीले सुरक्षा प्रदान गरेको थियो । सोही साल उक्त गण नै यस निकुञ्जमा स्थानान्तरण भई सुरक्षा दिन थालेको थियो थियो । २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण यसको सुरक्षार्थ तैनाथ रहेको छ । हाल करिब ६०० सैनिकले निकुञ्जको सुरक्षा गरिरहेको छ । गणका प्रमुख सेनानी जीवन शर्मा कान्छो निकुञ्ज भएकाले भौतिक पूर्वाधार निर्माण गर्नेदेखि सेनाले चौबिसै घण्टा सेनाको साइकल गस्ती, गाडीबाट पेट्रोलिङ गरिरहेको बताउँछन् । नेपाली सेना, निकुञ्ज र स्थानीयवासीको सहकार्य र समन्वयमा निकुञ्जको सुरक्षा, चोरी शिकारी नियन्त्रणका कार्य सफल भएको उनको भनाइ छ । हाल २० वटा पोष्टबाट संरक्षण तथा व्यवस्थापनको काम भएको छ । पर्या–पर्यटन प्रवर्द्धनका लागि एउटा पक्की मचान, वन्यजन्तुका लागि ६७ वटा पानीपोखरी निर्माण, आगोलागी नियन्त्रणका लागि पाँच वटा पोखरी निर्माण र हात्तीको सेडघर दुई वटा निर्माण गरिएको छ । चोरी शिकारी हुन नदिन र जनावरको गतिविधि बुझ्न जङ्गलभित्र ठाउँ ठाउँमा आधुनिक ‘क्यामरा ट्यापिङ’ प्रविधि जडान गरी मोबाइल एप्सको माध्यमबाट तुरुन्तै जानकारी लिन सकिने जीवन शर्मा बताउँछन् । 

केही वर्ष अघिसम्म मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा निकुञ्जप्रति सकारात्मक दृष्टिकोण नभए पनि अहिले यसको संरक्षणप्रति निकै चनाखो र सहयोगी रहेको पाइन्छ । बर्दिया निकुञ्जमा घुम्न आउने पर्यटकका कारण त्यहाँका मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनबाट प्रेरित भएकाले यहाँका बासिन्दा पनि संरक्षणको अभियानमा सक्रियरुपमा लागेको कोहलपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष सावित्रा पुन बताउँछिन् ।रासस