Gyanmandu LOGO

Reliable

ताजा

कोरोनाबाट भारतमा ५१२ जना सङ्क्रमित

ज्ञानमाण्डू।विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण भारतमा बुधबारसम्म ५१२ जना सङ्क्रमित भएका छन् । 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधवार सो जानकारी दिएको छ । सङ्क्रमितमा ४० जना भने उपचारपछि घर फर्किएका पनि सो मन्त्रालयले जानकारी दिएको छ । 

कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म भारतमा ९ व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

यसैबिच भारतीय प्रधानमन्त्रीले एक अर्ब ३० करोड जनतालाई ‘लकडाउन’ मा बस्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले मङ्गलवार साँझ लकडाउन घोषणा गरेका हुन् । आफ्नो सुरक्षाका निम्ति घरबाहिर ननिस्कन प्रधानमन्त्री मोदीले सबै भारतीय नागरिकलाई आह्वान गरेका छन् । 

यस प्रकारको सुरक्षा नअपनाएमा देश दशकौँ पछाडि धकेलिने प्रधानमन्त्री नरेन्द्र मोदीले बताए । 

मङ्गलवार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत गर्नुभएको सम्बोधन लगत्तै पसलहरूमा आवश्यक किनमेल गर्न सर्वसाधारणको भिड लागेको समाचारमा जनाइएको छ । 

भारतीय प्रधानमन्त्री मोदीले देशभरि आवतजावत तथा घुमफिरमा बन्देज लगाएर कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न चाहेको सो सम्बोधनमा बताएका थिए । 

गएको मध्यरातबाट लागु भएको यो बन्देज आगामी २१ दिनसम्म जारी रहने प्रधानमन्त्री मोदीले बताएका छन् । 

“तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ, यसलाई लक्ष्मण रेखाको रूपमा नै मान्नु पर्नेछ” प्रधानमन्त्री मोदीले सो सम्बोधनमा भारतीय नागरिकलाई आग्रह गर्दै भनेको भनाइ हो ।रासस