Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

परम्परागत ‘धान नाच’, पर्यटन प्रवर्द्धनको आधार

ज्ञानमाण्डू।देशका हिमाल, पहाड र तराईमा बसोबास गर्ने विभिन्न जातजाती र समुदाय सम्वद्ध मौलिक संस्कृति स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने आधार बनेको छ । विभिन्न जातजाती र समुदायको पहिचानसँग जोडिएका भाषा, कला र संस्कृतिले नेपालको पहिचानलाई फराकिलो र विशेष बनाएको छ ।

हाम्रो मुलुकको सन्दर्भमा पर्यटन प्रवर्द्धनमा मौलिक संस्कृतिको गतिलो योगदान छ । मुलुकका विभिन्न भूगोलमा बसोबास गर्ने जातजाती र समुदायको मौलिक संस्कार, संस्कृति फरक–फरक छन् । विभिन्न भाषा, कला, संस्कृतिले भरिपूर्ण लिम्बू समुदायमा पनि छुट्टै मौलिक संस्कृति रहेको पाइन्छ । लिम्बू समुदायको बाक्लो बसोबास रहेको पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा उनीहरूको समेत भाषा, वेषभूषा र कला संस्कृतिले योगदान पुर्‍याएको पाइन्छ । उनीहरूले आफ्नै भाषामा बोलेको सुन्दा, आफ्नै वेषभूषा पहिरिएर हिँडेको देख्दा अनि आफ्नै कला संस्कृतिमा रमाएको देख्दा जो कोहीलाई पनि आनन्द लाग्छ । विशेष गरी आफ्नो वेषभूषासहित आफ्नै भाषामा ‘पालाम’ गाउँदै एक आपसमा हात समाई नाचिने ‘धान नाच’ले सबैलाई आकर्षित गरेको पाइन्छ ।


धान नाच र पालाम लिम्बू समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो । विभिन्न चाडपर्व, मेला महोत्सव, विवाह, सुद्धाईजस्ता कर्मकार्यमा धान नाच्ने गरिन्छ । केही वर्ष अघिसम्म विरलै रूपमा देखिने धान नाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाहजस्ता कार्यमा देख्न पाइन्छ । पछिल्लो समयमा धान नाचप्रति युवा पुस्ताको आकर्षण समेत बढ्दै गएको छ । कहिलेकाहीँ विदेशी पर्यटकसमेत आकर्षित हुँदै हात समाइ धान नाच्ने गरेको देख्न पाइन्छ ।

धान नाच्दा पालाम अनिवार्य गाउने गरिन्छ । केटा र केटी पक्षबीच सवालजबाफ गर्दै पालाम गाउने गरिन्छ । धान नाच्नु अघि एक–आपसमा परिचय गरी साइनो सम्बन्ध केलाइन्छ । साइनो नलाग्ने भए धान नाच्ने निधो गरिन्छ । पालाम गाउँदै धान नाच्दा कतै गल्ती कमजोरी भइहाले माफ पाउँ भनेर अग्रिम रूपमा दुवै पक्षले हात जोडेर बिन्ती गर्ने चलन रहेको किराँत समुदायका अगुवा विविहाङ वनेमले बताए । 

पालाम अति भावुक हात समाई पालाम गाउनु अघि गाउँदै, नाच्दै जाँदा हुने गल्ती कमजोरीप्रति अग्रिम हात जोडेर विन्ती गरी सुरु गरिन्छ । विरहका भाका मिसाउँदै पालाम गाइन्छ । पालाम गाउँदा जीवनमा आउने सुख, दुःखका अनुभूति र मिलन बिछोडका पक्षलाई भावुक ढङ्गले समेटिन्छ । पहिले पहिले पालाम गाउँदै धान नाचेर माया पिरती लगाई उसैबेला जोडी बाँधिने निधो हुन्थ्यो ।

धान नाच्दानाच्दै पालामकै भाकामा कुरा गरेर वैवाहिक बन्धनमा बाँधिएका उदारण प्रशस्तै भेटिन्छन् । तर, पछिल्लो समयमा धान नाच्ने शैली फेरिँदै गएकाले यसको ऐतिहासिक महत्त्व र पहिचान मेटिने खतरा बढ्दै गएको स्थानीयवासी बताउँछन् । जसरी पश्चिम नेपालमा देउडाको गीत र नाचको लोकप्रियता छ उसै गरी लिम्बू समुदायको बाक्लो बसोबास रहेको पूर्वी नेपालमा धान नाच र पालामको । धान नाच र पालामकोे शुरुवातबारे एउटा रोचक किंम्बदन्ती छ । 

धान नाचको किंम्बदन्ती:

स्थानीयवासी गजेन्द्र तुम्याहाङका अनुसार परापूर्वकालमा सबैतिर खाने कुराको अभाव (अनिकाल) सिर्जना भयो । अन्नपात उत्पादनका लागि बीउसम्म रहेन । कसरी अन्नपात उत्पादन गर्ने भनेर अनेकौँ उपाय खोजियो । तर, कुनै अन्नपातको बीउ नै नभेटिएपछि केही सीप लागेन । अन्तिममा उडेर जताततै पुग्ने चरालाई बीउ खोज्न पठाउने निधो भयो र उक्त चराले बीउ खोजेर ल्याए उत्पादन भएको अन्न बराबर उपभोग गर्ने सहमति भयो । त्यसपछि उक्त चरा बीउ खोज्न निस्कियो । धेरै ठाउँ पुग्यो तर कतै पाएन । एक दिन अचानक त्यो चरा तागेरा निङ्वाभुमाङकोमा पुगेछ र तागेरा निङवाभुमाङले धानको बीउ दिएर पठाएछन् । 

उक्त बीउ लिएर चरा मानिस भएको ठाउँमा फर्कियो । चराले ल्याएको बीउबाट उनीहरूले धानखेती गरे । त्यसपछि धान पाक्यो र थन्क्याउने सिजन आयो । धान काटेर खलोमा जम्मा गरे । तर, चरालाई भने नदिने निधो गरे । खलोमा धान जम्मा गरिएपछि चरा उडेर आउन थाले । तिनै चरालाई छेक्न र धपाउन सबैले एक आपसमा हात समाई गोलाकार भएर खुट्टाले धान माड्दै छुई हा हा हा भन्न थाले । छुई हा हा हा भन्न थालेपछि चराहरु पर पर भाग्न थाले । यो क्रम हरेक वर्ष निरन्तर चल्यो र कालान्तरमा आएर धान नाचमा परिणत भयो । यसरी विकसित भएको परम्परागत धान नाचलाई संरक्षण गर्न लिम्बू समुदायले मात्रै नभई सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल र प्रयास गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।रासस