Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

डम्फु–मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै

ज्ञानमाण्डू।‘होरी’ (फागु) पर्व आउन एक साता मात्र बाँकी छ तर हार्मोनियमको मिठो राग, लय एवं डम्फु र मृदङ्गको तालमा जम्ने जोगिराको दलान भने मिथिलामा खासै देखिएका छैनन् । श्रीपञ्चमी (वसन्तपञ्चमी) सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागु विशेष गीत) अब महोत्तरीसहितका मिथिलामा सुन्न छाडिएका छन् । श्रीपञ्चमी पर्व (माघ शुक्ल पञ्चमी) मा वसन्त उत्सव सुरु गरिएसँगै मृदङ्ग, हार्माेनियम र डम्फु (जोगिराका बाद्यवादन) का तालमा प्रत्येक रात मिथिलाका बस्ती/बस्तीमा गाइने जोगिरा पछिल्ला २५ वर्षयता यहाँ पातलिएको हो ।

श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म मिथिलाका बस्ती/बस्तीमा टोलैपिच्छे घरदलानमा गवैया (गायक) का समूहले गाउने जोगिराले दिने फागुपर्व नजिकिएको सन्देश अब सुन्न छाडिएकामा यहाँका बुढापाकाको चिन्ता छ । एउटा बस्तीका गवैया एक ठाउँ भेला भएर सामूहिक रूपमा गाइने जोगिराले होरी (फागु) को सन्देश दिनेसँगै उमङ्गित बनाउने कुरा अब दन्त्यकथा हाल्ने अवस्थामा पुगेको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका पुराना जोगिरा गवैया ६० वर्षीय छठु महतो बताउँछन् । “एक जमाना छल, हमसभ जोगिरा गवैछलि त पुरे बस्ती डेढ महिनाधैर उमङ्गित होयत छल” (एक जमाना थियो, हामी जोगिरा गाउन थालेपछि डेढ महिनासम्म पुरै बस्ती उमङ्गमा हुन्थ्यो), महतोले विगत सम्झँदै भने, “आब जोगिरा सुनलेल मोन तर्सैय” (अब जोगिरा सुन्न मन व्यग्र हुन्छ) । खास गरी विसं २०५२ मा माओवादी जनयुद्ध सुरु भएयता सुरक्षा तरलताका कारण एक ठाउँमा जम्मा हुने, रमाइलो मनाउने कुरा हराउँदै गएको महतो बताउँछन् । 

भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रउस मिसिएका शब्दावलीको संयोजनका जोगिरा (फागुगीत) सुन्न छाडिएपछि फागुपर्वको रौनक हराउँदै गएको यहाँका बुढापाकाको गुनासो छ । “देखु बौवा, आब होरी किछे दिन बाँकी अइ, मुदा बुझाइते नई अई जे पावैन नजदिक अई” (हेर्नोस बाबु, अब फागुपर्व आउन केही दिन मात्र बाँकी छ, तर फागु आउँदै छ भन्ने भान नै पर्दैन) बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतोले दुखेसो पोखे । जोगिरा गवैया पुरानो पुस्ता मर्ने र बुढ्याँइले घरको कुनामा थन्किएका र नयाँपुस्ताले यो संस्कृतिबारे चासो नदिएपछि अब यो लोपकै अवस्थामा पुगेको महतोकै छिमेकी ७० वर्षीय बालेश्वर ठाकुर बताउँछन् । 

‘किनकाके हाथमें कनक पिचकारी, किनकाके हाथमें अबिर झोरी ? रामजीके हाथमें कनक पिचकारी, सीयाजीके हाथमें अबिर झोरी...!! जोगिरा..सररर..!!’ वसन्तपञ्चमीसँगै सुरु हुने यस्ता परम्परागत सांस्कृतिक गीतका ठाउँमा अब चर्को स्वरका डिजेबाजामा छाडा गीत संस्कृति हुर्केको बुढापाका आरोप छ । तिथिमिति सम्झना नराख्नेका लागि पनि होरी आउन लागेछ भन्ने सन्देश दिने मृदङ्ग, हार्माेनियम र डम्फुका तालमा सुनिने जोगिरा लोप भएको आँखाभरि हेरिरहँदा मन अड्याउन सकस पर्ने गरेको गौशाला नगरपालिका–१२ का लक्ष्मी महतो बताउँछन् । आपसी सद्भाव, भ्रातृत्व र उमङ्गको प्रतीक मानिने फागु (होली) पर्वमा हास–परिहास, ठट्टा गरिनेहरुबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिबिम्ब हुने जोगिरा..सुन्न छाडिएपछि यो पर्व आउँदै गरेको छनक नै हुन छाडेको भङ्गाहा–३ नेपाली काँग्रेसका नगरसभापति ७० वर्षीय रूपनारायणसिंह थारू बताउँछन् । 

संस्कृतिको सम्झनामात्र नभई त्योप्रतिको समर्पणभाव, भक्तिका लयमात्र नभई रतिराग, दुःख र जीवनका तिता अतीत बिर्साउने रउस र अबिर एवं रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको पाका मैथिल (मिथिलावासी) बताउँछन् । “होली आएको पत्तै हुँदैन”, औरही नगरपालिकाको भोइल बस्तीका ७० वर्षीय मोहन महतो खिन्न हुँदै भने , “टोलटोल–बस्तीबस्तीमा गुञ्जिने जोगिरा सुनिन छाडिएका छन् ।” नयाँपुस्ताले पुराना संस्कृति बिर्सँदै गएपछि अब आउने पुस्ताले जोगिरा भन्ने कुरा इतिहासमा मात्र पढ्ने स्थिति आइपुग्नेप्रति महतोको थप चिन्ता छ ।

“कोन तालपर डम्फु बाजे, कोन ताल मृदङ्ग, कोन तालपर गोरिया नाचे कोन तालपर हम..!! जोगिरा सरररररररर..!!” जोगिरा गवैया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागुपर्वको सौन्दर्य स्वात्तै घटेको पुराना जोगिरा गवैया बताउँछन् । 

“हे डम्फाके चोट महलबीच पहुँचय, सुतली गोरिया चहक् उठय.. अही फागुनमें ! जोगिरा..सरररर !!” (जब डम्फुको आवाज घरभित्र पुग्दछ, सुतेकी नवयौवना जाग्छिन्..फागुमा) ख्यालठट्टा गर्न मैथिल सामाजिक स्वीकृति पाएको नाताबीच (साली–भिनाजु, देवर–भाउजू, सोल्टा–सोल्टी) बिच जोगिरा गीतमार्फत हुने ठट्टाले दिने मनोरञ्जन र कोठाभित्र लुकेर बसेकी नवयौवनालाई शृङ्गारिक गीतका भावले आउँदो होरीमा फागु खेल्न आउने चुनौतीपूर्ण निम्ता दिने यस्ता स्वर सुनिन छाडेपछि आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको एकडारा गाउँपालिकाको भटौलियाका बासिन्दा विजयकुमार कर्ण बताउछन् । सामाजिक छुवाछूत, उचोनिचो जात र भिन्नभिन्न धर्मसंस्कृतिप्रति परहेज गर्नेहरु पनि एक अर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ तर यसको सौन्दर्यको महत्त्वपूर्ण अङ्ग श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म गाइने जोगिरा लोप हुँदै गएर अब ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको कर्णले चिन्ता व्यक्त गरे । 

ख्यालठट्टा गरिने नाताबीचका नवयौवना मात्र नभई गवैया समूहबिच नै ठट्टा गर्ने नाताबिच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन । “कई हाथके धोती पहिरेइ, कई हाथके लपेटा, कई धारके पानी पिए, कई बापके बेटा..! जोगिरा..सररर...!!” एक पक्षले अर्को पक्षलाई “कई बापके बेटा” (कतिवटा बाबुको छोरा) भनेर गीतमार्फत नै सोधिने भाव जोगिराबाहेक अरू बेला कल्पना पनि गर्न नसकिने मिथिला लोकसंस्कृतिका ज्ञाता जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टिका बासिन्दा पूर्वप्रशासक (सेवानिवृत्त उपसचिव) ८० वर्षीय कृष्णचन्द्र झा बताउँछन् । जोगिरामा कामोत्सव भाव, वीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरवबोध, आध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, मायाप्रेम, ऊर्जा संस्कृतिको प्रचुरता, परम्पराको निरन्तरता र उमङ्गको भाव एकसाथ भेट्टाइने झा बताउँछन् । 

राजनीतिक अधिकारका लागि मिथिला क्षेत्रमा नयाँपुस्ताको आन्दोलनमा सहभागिता देखिए पनि संस्कृतिको जगेर्ना र संरक्षणमा भने खासै उत्साह नदेखिएको बुढापाकाको टिप्पणी हुने गरेको छ । आउने दिनमा मैथिल युवाले यहाँको मौलिक संस्कृति जगेर्नामा ध्यान दिनसके मिथिला संस्कृति र सभ्यताको पहिचान झन् चहकिलो हुँदै जाने शिक्षण पेशाबाट अवकास लिनुभएका भङ्गाहा–७ मेघनाथगोरहन्नाका ६५ वर्षीय चन्द्रनारायण चौधरी (थारू) को नयाँपुस्तालाई सुझाव छ । 

मिथिलामा श्रीपञ्चमीसँगै जोगिरा सुरु हुने र मिथिला माध्यमिकी परिक्रमाको आठौँ दिन महोत्तरीकै भङ्गाहा–९ कञ्चनवनमा राम सीताले अबिर खेलेको सम्झनामा यात्रीले रामजानकीलाई अबिर अर्पित गरी प्रसादस्वरूप एकअर्कालाई लगाइदिएपछि रङ अबिरको पर्व विधिवत् सुरु भएको मानिने परम्परा रहँदै आएको छ । 

फागुन विशेषको जोगिरा मात्र नभएर दसैँ पर्वको ‘ढोल’ बज्न र ‘झिझिया’ गीतको तान्त्रिक नृत्य पनि देखिन, सुन्न छाडिएको बुढापाकाको भनाइ छ । पछिल्ला केही दशकयता त मिथिलाका मौलिक संस्कृति भनिने जोगिरा र झिझियाजस्ता परम्परा कहिलेकाहीँ गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रममा प्रायोजित रूपमा देखिँदा झनै उदेक लाग्ने गरेको भङ्गाहा–३ का बासिन्दा पूर्वप्रशासक ८२ वर्षीय तेजनारायणसिंह थारू बताउँछन् । “हेर्नोस् बाबु, व्यक्ति/व्यक्ति नाच्ने, रोमाञ्चित हुने र उत्सवमा रमाउने हाम्रा परम्परा अब नौला भएका छन्”, थारुले भने, “अचेल औपचारिक कार्यक्रममा देखाइने प्रायोजित झिझिया, जोगिरा र डम्फुको प्रदर्शनले त हामी मैथिललाई जिस्क्याएजस्तो लाग्छ ।” यद्यपि यस्ता औपचारिक कार्यक्रममा देखाइने यी पारम्परिक सांस्कृतिक प्रदर्शनले नयाँपुस्तालाई ती विषयमा सोच्न र तत्परता देखाउन भने सघाउने थारूको थप भनाइ छ ।रासस