Gyanmandu LOGO

Reliable

ताजा

सामाजिक सुरक्षा भत्ता घरदैलोमा बाँड्दै बैङ्क

ज्ञानमाण्डू।तनहुँको दमौलीमा शाखा कार्यालय रहेका कतिपय बैङ्कले घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । व्यास नगरपालिकाका वडामा सो भत्ता वितरणको जिम्मा पाएको प्रभु र महालक्ष्मी विकास बैङ्कले घरदैलोमा नै पुगेर भत्ता बापतको रकम सेवाग्राहीलाई वितरण गरेका छन् । अझै कतिपय बैङ्कले शाखामा नै बोलाएर भत्ता वितरण गर्ने गरेका छन् 

प्रभु बैङ्कले व्यास नगरपालिका–५ को समन्वयमा भत्ता बापतको रकम वितरण गरेको छ । उसले वडाको तीन ठाउँबाट ४ सय १३ लाभग्राहीलाई भत्ता बापतको रकम वितरण गरेको बैङ्कका क्लष्टर हेड राजु रानाले जानकारी दिए । उनका अनुसार वडा कार्यालयबाट २ सय ४३, रानीटारी सामुदायिक भवनबाट १ सय ५ र चिन्तुटार दरै समाजबाट ६५ जनाले भत्ता बुझेका छन् ।

ज्येष्ठ नागरिकलाई भत्ता लिनका लागि सदरमुकाम दमौलीसम्म आउन नपरोस् भनेर घरदैलोमा नै भत्ता वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । “ज्येष्ठ नागरिकलाई दमौलीसम्म पुगेर भत्ता बुझ्न गाह्रो हुने भएकोले घरदैलोबाटै वितरणको व्यवस्था मिलाएका हौ,” वडाध्यक्ष श्रेष्ठले भने , “घरदैलोमा नै भत्ता बुझेपछि ज्येष्ठ नागरिक पनि खुसी भएका छन् ।” वडाध्यक्ष श्रेष्ठका अनुसार एकल महिलालाई चौमासिक बापतको रु आठ हजार र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई रु १२ हजारका दरले भत्ता वितरण गरिएको छ ।

घरदैलोमै भत्ता बुझेपछि व्यास नगरपालिका–५ रानीटारीका पदमपाणी अधिकारीले खुसी व्यक्त गरे । “दमौली पुगेर बैङ्कमा लाइन बसेर भत्ता बुझ्न गाह्रो हुन्थ्यो, वडा कार्यालयले बैङ्कसँग समन्वय गरेर घरदैलोमा नै भत्ता दियो,” उनले भने, “यसले ज्येष्ठ नागरिकलाई एकदमै सजिलो भयो ।” प्रभु बैङ्क दमौली शाखाले व्यास नगरपालिका–३, ४, ५ र १० मा सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको छ । शाखाले घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको जनाएको छ । 

यसै गरी महालक्ष्मी विकास बैङ्कले व्यास नगरपालिका–६ शिशाघाटमा भत्ता बापतको रकम वितरण गरेको छ । वडा कार्यालयको सहकार्यमा ५ सय ९२ लाभग्राहीमध्ये ३ सय ४२ जनालाई भत्ता वितरण गरिएको बैङ्कका शाखा प्रमुख सुदीप न्यौपानेले जानकारी दिए । उसले व्यास नगरपालिका–६ र ९ मा भत्ता वितरणको जिम्मा पाएको छ । व्यास नगरपालिका–६ का अध्यक्ष सूर्यभक्त भण्डारीले भत्ता लिनका लागि दमौली जानुपर्ने र लाइन बस्नुपर्ने अवस्था रहेकोले घरदैलोबाटै भत्ता वितरणको व्यवस्था मिलाइएको जानकारी दिए ।

बाटो बन्द:

तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट मार्ग आजदेखि बन्द गरिएको छ । मानहुँकोट नजिकै रहेको पहरामा ढलान गर्नका लागि निर्माण कम्पनीले उक्त मार्ग बन्द गरेको हो । मानहुँकोट मार्ग कालोपत्रे गर्नका लागि निर्माण कम्पनी रानीवन कन्स्ट्रक्सन काठमाडौँले तयारी थालेको छ । पहिलो चरणमा अप्ठ्यारो रहेको उक्त पहरामा ढलान गरिने र ढलान सम्पन्न भएपछि अन्य ठाउँमा कालोपत्रेको काम सुरु गरिने सो कम्पनीका सञ्चालक केशव ढुङ्गानाले जानकारी दिए ।

सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्की अन्तर्गत निर्माण भइरहेको उक्त सडकको करिब चार सय मिटर भाग आरसीसी ढलान गर्न लागिएकोले उक्त मार्ग डेढ महिनाका लागि बन्द हुनेछ । उक्त मार्ग बन्द हुने बारे व्यास नगरपालिकाको कार्यालयलाई जानकारी गराइएको र उक्त जानकारीको बोधार्थ वडा नं ५ को कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पनि दिइएको छ । 

सङ्घीय सरकारको बजेटमार्फत मानहुँकोट जाने बाटो कालोपत्रेका लागि करिब पाँच किलोमिटर नाला निर्माण सम्पन्न भइसकेको छ । पाँच किलोमिटर सडक कालोपत्रेका लागि ग्राभेल गर्ने कामलाई समेत अगाडी बढाउन लागिएको कम्पनीका सञ्चालक ढुङ्गानाले बताए । चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य छ । सोही वडाको चापाघाटदेखि अलैचेसम्मको डेढ किमी सडक पहिल्यै कालोपत्रे भइसकेको छ । 

व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानहुँकोटसम्म कालोपत्रे सडक भएपछि पर्यटकको सङ्ख्या थप वृद्धि हुने बताए । उक्त मार्ग बन्द भए पनि पैदलयात्रा मार्फत मानहुँकोट जानेहरूलाई भने कुनै समस्या नरहेको उनले जानकारी दिए । “ढलान गर्न लागिएको ठाउँसम्म सवारीसाधनमै जान सकिन्छ, त्यहाँबाट १०/१५ मिनेटको पैदलयात्रा गरेर मानहुँकोट जानलाई अवरोध हुँदैन,” वडाध्यक्ष श्रेष्ठको भनाइ छ । 

पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोट जाने कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या अझै बढ्ने विश्वास छ । अहिले सो स्थानमा दैनिक दुई/तीन सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सो स्थानबाट आँखै अगाडी पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानहुँकोटबाट धौलागिरी, माछापुच्छ्रे , अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकोले यस ठाउँ पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ ।

मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरू देख्न सकिन्छ । मानहुँडाँडा आफैमा एउटा दृश्यावलोकन स्तम्भ (भ्यु टावर) हो । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रु २५ लाख र वडा कार्यालयको रु पाँच लाखको लागतमा रेलिङ निर्माण गरेको छ ।रासस