Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सार्वजनिक सवारी सञ्चालन नहुँदा नागरिकलाई सास्ती

ज्ञानमाण्डू।लमहीका यातायात व्यवसायीहरुले माग पूरा नभएसम्मका लागि सार्वजनिक यातायातका साधन जिल्लामा सञ्चालन गर्न नसक्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मङ्गलवार तुलसीपुरमा भएको छलफलमा अहिलेकै अवस्थामा आफूहरुले यातायात सञ्चालन गर्न नसक्ने व्यवसायीहरुले बताएका हुन् । 

सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको एक साता बितिसक्दासमेत सञ्चालनमा नआउँदा नागरिकलाई समस्या परेको छ । जिल्लामा जारी बन्दाबन्दी खुला भए पनि यातायातका साधन नखुल्दा समस्या भएको स्थानीय लोकमणि गौतमले गुनासो गरे । साउन १ गतेदेखि यातायात सञ्चालन गर्ने विषयमा भएको छलफलमा अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न व्यवसायी सहमत नभएको यातायात व्यवसायी घनश्याम बस्नेतले बताए । 

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यस क्षेत्रका बैङ्कहरूसँग छलफल गरी चार महिनाको किस्तापछि दिलाउने तथा समय थपका लागि पहल गर्ने र मजदुरहरुको कोरोना बीमा ५० प्रतिशत उपमहानगरपालिकाले व्यहोर्ने जनाएको व्यवसायी बस्नेतले बताए । ‘‘नगरप्रमुखले साउन १ गतेदेखि यातायात सञ्चालन गर्नुपर्‍यो भनेर छलफल गर्नुभएको थियो, तर तत्काल हामीहरुले यातायात सञ्चालन गर्न सक्दैनौ भनेका छौँ”, व्यवसायी बस्नेतको भनाइ छ । 

व्यवसायीहरुले लकडाउन अवधिको बैङ्कको कर्जा तिर्ने समय सार्नुपर्ने, ग्यारेजबाट गाडी निकाल्न पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकको कोरोना बीमा गरिदिनुपर्नेलगायतका माग राखेको यातायात व्यवसायी निमकुमार श्रेष्ठले जानकारी दिए ।

सरकारले असार २५ गते सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय भए पनि सो निर्णयअनुसार सवारीका साधन सञ्चालन नहुँदा समस्या उत्पन्न भएको छ ।रासस 

Ad After News Content

GME

Enjoy Your Study