Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

व्यास गाउँपालिकामा आफ्नै भूमिमा आवतजावत गर्न भारतीय अवरोध

ज्ञानमाण्डू।दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन । 

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ । पहिलाको भन्दा झण्डै एक किलोमिटर तलसम्म भारतले छेकबार लगाएको छ । कालापानीसम्म नेपालका सुरक्षाकर्मीले समेत जान पाएका छैनन् । व्यासको गागामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले काली मन्दिरसम्म जाने प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । महाकाली नदीको मुहान हेर्न गएका सुरक्षाकर्मीलाई भारतीय सुरक्षाकर्मीले रोकेका हुन् । 

स्थानीयवासी यो क्षेत्रमा अहिले जान सक्ने अवस्था छैन । चीनसँग पछिल्लो समय सीमा विवाद बढेपछि कालपानी क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बाक्लो उपस्थिति जनाएको छ । यो क्षेत्रमा दैनिक सयौँ गाडीमा सुरक्षाकर्मी पुर्‍याइएको छ । व्यासमा खटिएका एक नेपाली सुरक्षाकर्मीका अनुसार भारतीय सुरक्षाकर्मीले महाकालीको मुहानसम्म जान रोक लगाएको छ । “बिना हतियार त्यहाँसम्म जान दिन आग्रह गर्‍यौ ” ती सुरक्षाकर्मीले भने , “तर उनीहरुले त्यो ठाउँसम्म जान नपाइने भन्दै रोके ।” नेपालका सुरक्षाकर्मी कौवा क्षेत्रमा जाने बित्तिकै भारतपट्टिबाट सुरक्षाकर्मीले रेकी गर्छन् । गस्ती गरेकोबारे उनीहरुले माथिल्लो क्षेत्रमा मोटरसाइकलमा परिचालन भएर खबर गर्ने गरेका छन् । 

कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिकै आदेश छ भन्दै एसएसबी (सशस्त्र सीमा बल) ले रोक्ने गरेको छ । पहिलो घेरामा एसएसबी तैनाथ छन् । सशस्त्र प्रहरी गस्ती टोलीको नेतृत्व प्रहरी निरीक्षक लिलीबहादुर चन्दले गरेर त्यो क्षेत्रमा जाँदा भारतीय एसएसबीले फर्काएको थियो । माथिल्लो कौवा क्षेत्रसम्म पनि स्थानीयवासी अहिले जानलाई डराउने गरेका छन् । आफ्नै भूमि भएर जान पनि स्थानीयवासीमा अहिले त्रास छ । कालापानी क्षेत्रमा पुगेका दीपक खातीले भारतीय सुरक्षाकर्मीले नेपाली जनता र सुरक्षाकर्मीलाई यो क्षेत्रमा आवतजावत गर्न नदिनु दुःखद भएको बताउँछन् । 

सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालका तीन गाउँ कुटी, गुञ्जी र नावी अहिले पनि भारतमा छन् । गुञ्जी र नावी गाउँ छाङ्गरु र माथिल्लो कौवा क्षेत्रबाट देख्न सकिन्छ । तर कुटी देखिँदैन । पुरानो नक्साअनुसार ६२ वर्गकिलोमिटरभित्रको कालापानी क्षेत्रसम्म पनि नेपालीको पहुँच पुगेको छैन । खातीले भने , “नयाँ भूमिमा पुग्न त कहाँ हो कहाँ, पुरानै भूगोलसम्म पनि भारतले अवरोध गरेको देख्दा नरमाइलो लाग्छ ।” 

छाङ्गरुका स्थानीयवासीका अनुसार काठमाडौँमा राष्ट्रियताको नारा लाग्दा यो क्षेत्रका नागरिकले बढी समस्या झेल्छन् । स्थानीय पुष्कर बोहरा भन्छन् , “जति काठमाडौँमा राष्ट्रियताको नारा लगाउँदै कालापानी हाम्रो भूमि हो भन्दै जान्छौँ त्यति भारतीय सुरक्षाकर्मीले यो क्षेत्रमा मजबुत उपस्थित जनाउँदै नेपालीलाई यो क्षेत्रमा हिँडडुल गर्नमा समस्या गर्छ ।” 

विगतमा नेपालका सुरक्षाकर्मी र स्थानीय बासिन्दा कालापानी क्षेत्रको दक्षिणी किनारासम्म आवतजावत गर्ने गर्थे । कालापानीमा निर्माण गरिएको काली मन्दिर र महाकालीको नक्कली मुहानसम्म विगतमा छाङ्गरुका स्थानीयवासीसमेत जाने गरेका थिए । कालापानी क्षेत्रको भूगोल र भारतीय सुरक्षा उपस्थितिबारे नेपाली पक्षलाई जानकारी हुन्छ भनेर अवरोध गरिएको बुझाइ छ सुरक्षाकर्मीको । 

भारतीय सुरक्षाकर्मीले माथिल्लो कौवासम्म आफ्नो नियन्त्रणमा राख्न थालेपछि स्थानीयवासीले नेपालको सशस्त्र प्रहरीलाई कौवा क्षेत्रमा राख्न पटक–पटक माग गर्दै आएका छन् । “सशस्त्र प्रहरी गागाभन्दा पनि कौवा क्षेत्रमा उपयुक्त हुन्छ भनेर पटक–पटक आग्रह गर्दै आएका छौँ”, व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने , “तर सशस्त्र प्रहरी गागामै बस्यो । सशस्त्र प्रहरीका लागि कौवा क्षेत्र उपयुक्त हुन्छ । भारतको गुञ्जीमा तीनवटै सुरक्षा निकायको उपस्थिति छ । तर हाम्रो भने झण्डै १० किलोमिटर तल गागामा बसेर हुँदैन ।” 

सशस्त्र प्रहरीले कौवा क्षेत्रमा बिओपी स्थापना गर्ने तयारी गरेको छ । सीमाक्षेत्रको निगरानीका लागि व्यासको कौवा क्षेत्र र तिङ्करमा बिओपी स्थापना गर्ने तथा छाङ्गरुमा गुल्म राख्ने तयारी गरिएको छ । सशस्त्र प्रहरीको भवन निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरिसकेको छ ।रासस 

Ad After News Content

GME