भानुजयन्तीमा सार्वजनिक बिदा
ज्ञानमाण्डू। तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा सोमबार (असार २९ गते)
सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त
आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले गत वर्षदेखि भानुजयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय
गरेको थियो । उक्त निर्णयलाई यस वर्ष पनि निरन्तरता दिइएको नगरपालिकाका
वरिष्ठ अधिकृत एवं सूचना अधिकारी सुनिल पाण्डेले बताए। भानुजयन्तीका
अवसरमा नगरपालिका स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, वडा कार्यालय
बन्द रहनेछन् ।

भानुभक्तको सम्मानस्वरुप नगरपालिकाभित्र सार्वजनिक बिदा दिने प्रचलन शुरु
गरिएको नगरपालिकाले जनाएको छ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४
शिखरकटेरीमा जन्मिनुभएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको
थियो ।
नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त
वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले
उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले
प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका
पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि
उनी नेपाली साहित्यिमा चिनिएका थिए ।
भानुजयन्तीमा विविध कार्यक्रम
दुईसय सातौँ भानुजयन्तीका अवसरमा नगरपालिकाले सोमबार भानुजन्मस्थल विकास
समितिमा रामायणवाचन कार्यक्रम आयोजना गर्ने भएको छ । भानुजयन्तीका अवसरमा
घर आँगन, टोल सरसफाइ, दिपावली र प्रभातफेरीलगायतका कार्यक्रम हुनेछन् । रासस
प्रतिकृया दिनुहोस्