Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

लोप हुँदै पानी घट्ट

ज्ञानमाण्डू ।

गाउँका बस्तीमा विद्युत् पुगेसँगै विद्युत्बाट चल्ने मिल सञ्चालनमा आएपछि धेरै ठाउँका पानीघट्ट हराएर गएको हो । विद्युत्बाट चल्ने मिलमा छोटो समयमा धेरै मकै, कोदो र गहुँ पिस्ने भएपछि र समयको सदुपयोग हुने भएपछि गाउँका सबै मानिस पानीघट्ट छाडेर विद्युतीय मिलमा नै जान थालेका हुन् । तारकेश्वर गाउँपालिकामा १५/२० वर्ष पहिला विद्युत्को पहुँच नहुँदा स्थानीयवासीले पानीघट्टबाटै आफ्नो घरायसी आवश्यक खाद्यान्न पेल्ने गर्थे ।

तारकेश्वर–४ स्थित पौवाका कुष्णबहादुर वस्तीको आफ्नै पानीघट्ट थियो । वस्तीका अनुसार २० वर्ष पहिला तारकेश्वरको बुधसिङमा जम्मा दुई मात्र पानीघट्ट रहेको थियो । मकै र कोदो पिस्न आउने गाउँका मानिसको लर्कोसमेत हुने गरेको उनले बताए । बिहानीपख ३/४ बजेदेखि नै घट्टमा पालो कुरेर बस्नेको लाइन हुन्थ्यो । घट्टमा भीड भएपछि खाना र खाजा पालो गरेर खानुपर्ने अवस्थासमेत रहेको उनले बताए । वस्तीको आफ्नै खेतनजिक छत्रेखोलामा पानीघट्ट राखिएको तथा खोला र खेतसँगै घट्ट हुँदा आफूलाई काम गर्न सहज भएको उनले बताए । “बीस वर्ष पहिला हाम्रो गाउँमा बिजुली नआउँदा पानीघट्ट नै यहाँको मुख्य उद्योग रहेको थियो । गाउँमा त्यतिखेर दुई घट्ट थिए । त्यही पनि सबैलाई पिठो पिनेर छाक टार्न पु¥याएकै थियौँ । पछि बिजुली आइसकेपछि बिजुलीबाटै चल्ने धान, मकै, कोदो, गहुँ पिस्ने मिल चल्न थालेपछि को पानीघट्टमा दुःख गरेर पिठो पिस्न आउँछ र !”, उनले भने, “विस्तारै गाउँका मानिस बिजुलीबाटै चल्ने मिलमा जान थालेपछि घट्टमा बिहानदेखि साँझसम्म पिठो पिस्न गाउँले आउँछन् कि भनेर कुरेर बस्थेँ, कोही नआएपछि पानीघट्ट नै बन्द गरेँ ।”

त्यस्तै सोही ठाउँका केशव वस्तीले १५/२० वर्ष पहिला पानीघट्ट चलाउने गरेको तर पछि गाउँमा बिजुली आएपछि आफैँले विद्युत्बाट चल्ने मिल राखेर घट्ट बन्द गरेको जानकारी दिए । सानो लगानीले पानीघट्ट चलाउन सकिए पनि विद्युत्बाट चल्ने मिल सजिलो र छिटो हुने भएपछि घट्ट विस्तारै चलाउन बन्द गरेको उनको भनाइ छ । उनले भने, “विद्युत्बाट भन्दा घट्टमा पिसेको मकै, कोदो र गहुँको पिठोको स्वाद नै फरक हुन्छ, घट्टमा पिस्दा मकैको पिठो पहेँलो हुने र मगमग बास्नासमेत आउने गर्दछ । घट्टमा पिनेको पिठोको हलुवा खाँदा स्वास्थ्यसमेत राम्रो हुने गर्दछ तर जमानाअनुसार चल्नै प¥यो, खोलामा रातदिन नभनी घट्ट कुरेर बस्नुपर्ने र दुःख पनि धेरै नै गर्नुपर्ने भएकै कारण विद्युतीय मेसिन नै सञ्चालन गरेको हुँ ।” 

बेलकोटगढी नगरपालिकाका वासु कटवालले पुर्खाको चिनो र इतिहास बोकेको घट्टलाई लोप हुन नदिन स्थानीय तहबाटै यसको अस्तित्व जोगाउन पहल गर्नुपर्ने बताएका छन् । “हाम्रो पुर्खाले सयौँ वर्ष पहिला भोकमरीबाट कोही पनि मर्न नपरोस् भनेर नै त्यसबेलाको समयमा पनि पानीघट्टबाट पिठो पिस्न सक्ने, ढिकी र ओखलबाट धान कुट्न सक्ने, कोलबाट तोरीको तेल पेल्न सक्नेजस्ता विभिन्न ऐतिहासिक कला र संस्कृतिको उत्थान गरेका थिए, अब अहिलेको पुस्ताले यसको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो ।” 

यसैगरी तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले तादीका साविकका गाविसमा धेरै वर्ष पहिला गाउँघरमा चलनचल्तीअनुसार पानीघट्टलाई मुख्य उद्योगका रूपमा लिएको जानकारी दिए । अहिलेको समय परिस्थितिअनुसार सबै ऐतिहासिक वस्तुको परिमार्जन हुँदा पुर्खाको इतिहास नै मेटिन्छ कि भन्ने डर भएको उनले बताएका छन् । उनले भने, “यो गाउँपालिकाका साविकका पाँच गाविस उर्लेनी, रालुकादेवी, खरानीटार, सुन्दरादेवी, नर्जामण्डपलगायतका खोलानालामा पानीघट्ट थिए । आजकल कहीँकतै एक/दुई मात्रै देखिन्छन् । ऐतिहासिकता बोकेका पानीघट्ट लोप भएर जाँदा भावी पुस्ताले किताबमा र सुनेर मात्र पानीघट्ट यस्तो हुने रहेछ है भन्ने थाहा पाउनेछन् ।” 

नुवाकोटको समुन्द्रटार, लिखु, पट्टवारी, लब्धुबेँसी, दाङ्मै, र्गास्र्याङ, नेवारपानी, तारुकाघाट, तादी, नलगाउँ, बुनीबेँसी, हकुवा, दाङ्सिङ, मुलाबारी, ताजी, किस्पाङ, देउराली, गुर्जेभञ्ज्याङ, शिवपुरी, कालिमाटीलगायतका खहरे र खोलामा पानीघट्ट चल्थे । विदुर नगरपालिका–५ पिपलटारका ७० वर्षीय सुकदेव पनेरु भन्नुहुन्छ, “हाम्रा पालामा १६ पाथी जाने मकैको धोक्रो बोकेर घट्ट जाने चलन थियो, पालो पाइँदैन भनेर राति भाले बास्नासाथ घट्ट हिँडिन्थो, आजकल खोलाको पानी खै कता लान्छन् कता ? घट्ट चल्ने पानी अरु नै काममा प्रयोग गरेपछि कहाँबाट चल्ने त पानीघट्ट ।” जिल्लामा एक हजार ५०० भन्दा धेरै पानीघट्ट रहेकामा आजकल २०/३० मात्र देख्न पनि मुस्किल रहेको किस्पाङका मैचुङ तामाङले जानकारी दिएका छन् ।रासस