Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

उद्यमशीलता प्रवर्द्धनमा राज्यको भूमिका र युवा आबद्धता

ज्ञानमाणडू। यति वेला विश्व कोरोना (Covid-19) भाइरसको महामारीसँग लडिरहेको छ । यस महामारीका कारण विश्वकै जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको छ । नेपालमा पनि यस भाइरसको सङ्क्रमण फैलिएसँगै जोखिम बढ्दो छ । दैनिक ज्यालादारी गर्ने मजदुर, सुकुम्वासी, किसान, व्यवसायी तथा गरिब जनताहरू यसको प्रत्यक्ष मारमा परेका छन् । विद्यार्थीहरूको परीक्षा समयमै हुने सम्भावना टरेको छ । कतिपय उद्योग व्यवसाय तथा कलकारखानाहरू बन्द भएका छन् । वैदेशिक रोजगारीमा गएका कामदारहरूले रोजगारी गुमाउनु पर्ने अवस्था सृजना भएको छ । भोलिका दिनमा युवाहरू श्रमका लागि विदेश जान नपाउने तथा श्रमका लागि गएका जनशक्ति पनि स्वदेश फर्किदा बेरोजगारी समस्या तीव्र रूपमा बढ्ने देखिन्छ । देशको ठुलो धनराशि स्वास्थ्य सामाग्रीको खरिदमा विदेश पलायन हुदैछ । त्यस्तै विश्व अर्थतन्त्रमा यस रोगले निम्त्याएको प्रभाव स्वरूप देशमा विदेशी सहायताहरूको पनि कमी हुँदै जाने प्रस्ट देखिन्छ ।

यस्तो महामारीको समयमा राहत वितरण प्रक्रिया प्रभावकारी रूपमा हुन सकिरहेको छैन । न्यूनतम उपभोग्य वस्तुहरूमा कालोबजारी तथा कृतिम अभाव भएका घटनाहरू बाहिर आइरहेका छन् । यस्तो विषम परिस्थितिमा पनि न्यूनतम उपभोग्य वस्तुहरूमा कालोबजारी तथा कृतिम अभाव सृजना गर्ने, भ्रष्टाचार गर्ने राहतको दुरुपयोग गर्ने अनि अकुत सम्पत्ति जोहो गर्ने अमानवीय पवृत्ती देखिनु आफैमा दुखद कुरा हुन् । धनी र गरिब बिचको असमानताको खाडल दिनानुदिन बढ्दै गइरहेको छ । मध्यम वर्ग पनि गरिबिको दिशामा धकेलिने तथा गरिब झन्झन् गरिब बन्दै जाने अवस्था सिर्जना भएको छ । यस्तो चरम असमानता बढ्दै गएमा शक्तिशाली मानिसहरूलाई नीति निर्माणमा अनुचित प्रभाव पार्ने र आफ्नो स्वार्थ अनुसार मोड्ने तथा राजनीतिक नेतृत्वलाई समेत विकृत पार्ने सम्भावना हुन्छ । पहुँच भएकाहरूले स्वास्थ्य उपचार पाउने तथा गरिब पहुँच नपुग्ने जनताहरू स्वास्थ्य उपचारबाट वञ्चित भएका छन् । यस्तो दुखद प्रवृत्तिको अन्त्य हुन जरुरी छ । यसका लागि राज्यले शीघ्र प्रभावकारी कदम चाल्दै भ्रष्ट्राचार, कालोबजारी तथा कृत्रिम अभाव विरुद्ध कडा कदम सहित अगाडी बढ्न जरुरी छ ।


 

निराशै निराशा बिच आसाका किरण पनि पक्कै छन्, Wikipedia अनुसार श्रमिक जनशक्ति १ करोड ६८ लाख रहेको नेपाल जनसङ्ख्याको आधारमा ४९ औँ ठुलो तथा श्रम जनसङ्ख्यामा ३७ औँ ठुलो राष्ट्र हो । हिजोका दिनमा दैनिक जसो १५०० जनाको हाराहारीमा युवा रोजगारी तथा अध्ययनका लागि विदेश पलायन भइरहेको अवस्था थियो । जुन Covid-19 भाइरसको कारण आगामी दिनमा बिदेसिनेको सङ्ख्या कम हुँदै जानेछ । रेमिट्यान्समा आधारित देशको अर्थतन्त्रमा यस महामारीले विदेश पलायन भई जीविकोपार्जन गर्न बाध्य जनशक्ति तथा विकसित मुलुकमा अध्ययन गर्ने जनशक्तिहरूलाई देशमै केही गर्नुपर्छ भन्ने मनोवैज्ञानिक भाव पक्कै दिएको छ । जुन आफैमा दीर्घकालीन दृष्टिकोणले देशका लागि राम्रै कुरा हो । अब आर्थिक क्रियाकलाप बढाउन राज्यले युवाहरूलाई स्वदेश मानै उद्यम गरी जीविकोपार्जन गर्ने वातावरण तयार पार्न जरुरी छ । सरकारले व्यवसाय सुरु गर्ने सरल सहज प्रक्रिया, सस्तो सहुलियतपूर्ण ऋण सुविधा, कर छुट तथा पूर्वाधार निर्माण गर्दै नियमित कच्चापदार्थको आपूर्ति हुनसक्ने वातावरण मिलाउन सक्नुपर्दछ । युवाहरू राज्य सरकारको गैह्र जिम्मेवारीपूर्ण कार्यहरू उपर खबरदारी गर्दै व्यावसायिक क्रियाकलापमा आबद्ध भई अगाडि बढ्न जरुरी छ ।

आगामी दिन युवाका निमित्त उद्यमशीलताको दिन


नेपाल एक कृषि प्रधान देश हो भनेर सानै देखि पढ्दै र सुन्दै आएका छौँ । नेपालको राष्ट्रिय आम्दानीको प्रमुख श्रोत, रोजगारीको प्रमुख श्रोत, खाद्यान्नको प्रमुख श्रोत तथा कच्चापदार्थको प्रमुख श्रोत कृषि नै रहेको छ । मनसुनमा निर्भर रहेको नेपालको कृषि, भूमिको असमान वितरण तथा परम्परागत खेती प्रणाली जस्ता कारणहरूले कृषिमा अदृश्य बेरोजगार अधिक रहने छ । भूमिको खण्डीकरण, गोदाम सुविधाको अभाव, दलालहरूको उपस्थिति व्यापक रहेको, सरल सहज कृषि ऋण प्रवाह नहुनु, बजारको अभाव, कृषि वस्तुको वितरण प्रक्रियामा क्षति, यातायात सुविधाको अभाव जस्ता कारण कृषि कार्यमा समस्या आएको देखिन्छ ।

नेपालमा घरेलु तथा साना उद्योगले कला र संस्कृतिको संरक्षण गर्दै रोजगारीको अवसर सृजना गराउन मद्दत गरेका छन् । यस्ता उद्योग व्यवसायले स्थानीय साधनको सदुपयोग गर्ने तथा कम औद्योगिक अशान्ति तथा प्रदूषण विनै राष्ट्रिय आम्दानी बढाउन मद्दत गरेका छन् । यस्ता उद्योगहरू पनि संरक्षणको अभाव, प्राविधिक ज्ञानको अभाव बजारको अभाव जस्ता कारण समस्यामा पदै गएका छन् ।

त्यस्तै मझौला तथा ठुला उद्योगहरूको भूमिका पनि नेपालको आर्थिक विकासमा कम छैन । निर्यातमा वृद्धि र आयातमा कमी गराउँदै पुँजी निर्माणमा वृद्धि गराई गरिबी निवारणमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । यस्ता उद्योग व्यवसाय पनि वेला बखत हुने बन्द विरोध, कञ्चन पदार्थको अभाव, उद्यमीको अभाव, बजारको अभाव जस्ता कारणले समस्यामा पर्ने गरेको छन् । पर्यटन व्यवसाय, अन्तर्राष्ट्रिय व्यापार, यातायात र सञ्चार, जल सम्पदा, वन सम्पदा आदि पनि देशको आर्थिक विकासमा जोडिएका विषयहरू हुन् । यी यावत व्यवसायहरूमा देखिएका समस्याहरू समाधानमा राज्यको ध्यान जान जरुरी छ । व्यवसायका विविध प्रकारहरू हुन्छन् । युवाहरूले आफ्नो सिप क्षमता पुँजी आदि हेरी व्यवसाय सञ्चालन गर्नु पर्दछ । 

 

उद्यम अनुकूल आगामी बजेट र युवाका निमित्त साना लघु उद्यम सञ्चालनका कानूनी प्रावधान 

नयाँ व्यवसाय स्थापना गर्दा ध्यान दिनुपर्ने कुराहरू     

  • व्यवसाय सुरु गर्ने व्यक्तिले ऊ कुन व्यवसाय उद्योग व्यापार सेवा प्रदान, त्यस अन्तर्गत पनि कुन वस्तु उत्पादन गर्ने कुन वस्तुको व्यापार गर्ने वा कुन सेवा प्रदान गर्ने हो सो कुरामा ध्यान दिनुपर्दछ । नाफा आर्जन क्षमता, जोखिमको वातावरण, व्यवसायको आकार तथा स्रोत, ज्ञान र सीपको उपलब्धता तथा व्यक्तिगत रुचि आदिका आधारमा कस्तो व्यवसाय छनौट गर्ने भन्ने निर्णय लिनु पर्दछ ।
     
  • स्थापना गर्न गइरहेको व्यवसायको वर्तमान प्रतिस्पर्धाको अवस्था कस्तो छ ? भविष्यमा प्रतिस्पर्धा कस्तो हुन सक्दछ ? लक्षित बजारका ग्राहकहरू कस्ता छन् ? उनीहरूको रुचि कस्तो छ ? वा कस्तो बस्तुलाई उनीहरू बढी रुचाउँछन् ? सम्भाव्य ग्राहकहरूको आय कस्तो छ ? र उनीहरूको खर्च गर्ने शैली कस्तो छ ? प्रतिस्थापन वस्तुको मागमा कसरी परिवर्तन हुन्छ ? यी विभिन्न कुराहरूको विस्तृत अध्ययन गरी  बजारको जानकारी लिनुपर्दछ ।
 
  • व्यावसायिक सङ्गठनको स्वरूप एकलौटी व्यवसाय वा साझेदारी व्यवसाय वा संयुक्त पुँजी कम्पनी के हुने सो को यकिन गर्नुपर्दछ ।
 
  • व्यवसाय सुरु गर्नुअघि व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजीको पूर्वानुमान गर्नुपर्दछ । व्यवसायमा भवन, जग्गा प्लान्ट मेसिनरी आदि खरिद गर्न स्थिर पुँजीको आवश्यकता पर्दछ । तलब, ज्याला, कच्चा पदार्थ खरिद, मालसामान खरिद वा कार्यालय सम्बन्धी खर्चहरूको लागि चालु पुँजीको आवश्यकता पर्दछ । पुँजी प्राप्त गर्ने आन्तरिक तथा बाह्य स्रोतहरूको समेत व्यवस्थापन गर्नुपर्दछ । व्यवसायमा पुँजी आवश्यकताभन्दा बढी वा कम हुनु दुवै अवस्था हानिकारक हुन्छ ।
 
  • व्यवसाय सञ्चालनको लागि यातायातको सुविधा, श्रमिक आपूर्ति, सुरक्षा, सञ्चार, बैङ्क, कच्चापदार्थको उपलब्धता आदिलाई विचार गरी स्थान छनौट गर्नुपर्दछ । वस्तुको किनमेलसँग सम्बन्धित व्यवसाय भए व्यक्तिहरूको आवतजावत बढी हुने स्थानलाई प्राथमिकता दिनु पर्दछ । उदाहरणका लागि हामीलाई थाहै छ फूल बिक्री गर्ने व्यापारी प्राय मन्दिर नजिक व्यवसाय सञ्चालन गर्दछन् ।
 
  • व्यवसाय सञ्चालन गर्ने व्यक्तिले स्थापना गर्न गइरहेको व्यवसायमा के कस्ता अनुभव प्राप्त कामदार कर्मचारीहरूको आवश्यकता पर्दछ सो यकिन गरी आवश्यकता अनुसार कामदार कर्मचारी छनौटमा ध्यान दिनुपर्दछ । 
 
  • कार्यालय सञ्चालन छिटो छरितो तथा प्रभावकारी बनाउन आवश्यक अनुसार कार्यालय उपकरणहरूको व्यवस्था गर्नुपर्दछ । क्यालकुलेटर, टेलिफोन, कम्प्युटर तथा फोटोकपी मेसिन आदि जस्ता उपकरणहरू आवश्यक अनुसार राख्ने कुरामा अगाडि नै विचार गर्नुपर्दछ ।
 
  • कानुनको अज्ञानता छम्य हुँदैन । यसर्थ व्यवसाय सुरु गर्ने व्यक्तिले सरकारद्वारा लागु गरिएका व्यावसायिक नीति नियमहरू अध्ययन गर्नुपर्दछ । 
 
  • व्यवसायको सुरुवात गर्न चाहने व्यक्तिले प्रभावकारी व्यवस्थापन कसरी गर्ने भनी सो सम्बन्धी  वातावरणीय परिवेश अध्ययन गर्ने (व्यवसायको आन्तरिक तथा बाह्य वातावरणको (SWOT Analysis) स्वोट विश्लेषण गर्ने) योजना तर्जुमा गर्ने, उपयुक्त निर्णयका प्रक्रिया, सङ्गठन कार्य, प्रभावकारी नेतृत्व, उत्प्रेरणा, सञ्चार, नियन्त्रण तथा गुणस्तर व्यवस्थापन जस्ता व्यवस्थापकीय कुराहरूमा ध्यान दिनुपर्दछ । 

अपर्याप्त पुँजी, व्यावसायिक ज्ञानको अभाव, अनुपयुक्त स्थान, दक्ष कर्मचारीको अभाव, दूरदर्शिताको अभाव, प्रभावकारी व्यवस्थापनको अभाव तथा बजार अध्ययनको अभावले व्यवसाय असफल हुने सम्भावना अधिक हुन्छ । त्यसैले व्यावसायिक सफलताका लागि माथि उल्लेखित बुँदाका अतिरिक्त व्यवसाय सुरु गर्ने व्यक्ति स्वास्थ्य, साहसी, विवेकी, इमानदार तथा नेतृत्व क्षमता भएको हुनुपर्दछ । व्यवसायमा लगानी निर्णय, मागको पूर्वानुमान तथा मूल्य निर्धारण सिद्धान्तहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । कार्यालय व्यवस्थापन, फाइलिङ्ग, गुणस्तर व्यवस्थापन, व्यवस्थापन सूचना प्रणाली आदिको पनि अध्ययन तथा प्रयोग गर्दै व्यवसाय अगाडि बढाउन जरुरी छ । त्यसैले अब राज्यले व्यवसाय सहज रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न जरुरी छ । युवाहरूले पनि राज्यको गैह्र जिम्मेवारीपूर्ण कार्यहरू उपर खबरदारी गर्दै व्यावसायिक कार्यमा आबद्ध हुन सक्नुपर्दछ । युवाहरू नयाँ सोच नयाँ ऊर्जाका साथ भिन्न तरिकाले समयानुकूल नयाँ नयाँ उदयमान उद्यमहरूमा आबद्ध भई अगाडि बढ्न हतार भई सकेको छ ।
लेखक रविन्द्र आचार्य वाणिज्यशास्त्र तथा कानुनको विद्यार्थी हुन् ।

Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME