Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

पटक–पटक अन्योलमा रातो मच्छिन्द्रनाथ रथयात्रा

ज्ञानमाण्डू । ललितपुर, ९ भदौ (रासस) : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा परेको छ । मुलुकमा दिनानुदिन बढ्दै गएको कोरोना महामारी र समयाभावका कारण रथयात्रा कहिले हुन्छ भन्ने निश्चित नभएको हो । 

देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिँदै जाँदा यसै महिनाको तेस्रो सातासम्ममा मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न आवश्यक भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताएका छन् । “अबको एक हप्तादेखि १० दिनभित्रमा रथयात्रा गर्ने तयारीका लागि हामी अघि बढ्नुपर्छ । यदि यस दिनसम्ममा पनि रातो मच्छिन्द्रनाथ रथयात्राको तयारी अघि बढेन भने पुल्चोकबाट गाःबहाल हँुदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल रथ पुर्याउन कम्तीमा चारदेखि पाँच दिन समय लाग्ने र शुभसाइत पनि पाउन मुस्किल हुनेछ”, उनले भने, “आउँदो असोज २ गतेबाट मलमास छ, मलमासमा रथजात्रा गर्न हुँदैन, आउँदो कात्तिक महिनाको २ गतेबाट नौरथा अनि १० गते विजयादशमी छ, विजयादशमीपछि बाँकी रहेको छोटो समय र आउँदो मङ्सिर महिनामा रातो मच्छिन्द्रनाथलाई पुनः बुङ्मतीबाट पाटनमा ल्याउनुपर्ने चलन रहेकाले रथयात्रालाई तत्काल अघि बढाउनुपर्छ ।” आइतबार मात्र सो विषयमा राष्ट्रपतिका साथै प्रधानमन्त्रीसँग पनि भेटेर कुरा राखेको जोशीले जानकारी गराएका छन् । 

आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । यस वर्ष कोभिड–१९ का कारण लामो समय मच्छिन्द्रनाथ पुल्चोकमै विराजमान हुनुहुन्छ । रथलाई पुल्चोकबाट गाःबहाल पुर्याएर गुरुपूजा, गाःबहालबाट मङ्गलबजार पुर्याएर दरबार पूजा, मङ्गलबजारबाट सुन्धारा पुर्याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पुर्याएर उपयुक्त दिनमा महाबलि दिनु नै पर्ने चलन रहेका हुँदा यी कार्य नगरी नहुने भएकाले यसमा समेत केही समय खर्च हुने जोशीले बताएका छन् । 

यस वर्ष कोभिड महामारीका बीच मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न केही सशस्त्र प्रहरी, नेपाली सेना, जात्रासँग सम्बन्धित ६० देखि ७० व्यक्ति, रथको अगाडि एउटा डोजर र पछाडि एउटा क्रेन बाँधेर भए पनि नढल्काइकन रथजात्रा गर्नुपर्ने समय भएको जोशीको मत छ । उनले थपएे, “राज्यले यसै किसिमको योजना बनाएर अघि बढ्दा छिट्टै रथयात्राको समस्या समाधान हुने थियो ।” यस विषयमा कुरा गर्न गुठी संस्थान शाखा कार्यालय जाँदा कसैसँग पनि भेट नभएको जोशीले गुनासो गरे । 

रथजात्रालाई कहिलेबाट अघि बढाउने भन्ने विषयमा ज्यापू समाज ललितपुरलगायतका १९ जातीय समूह मिलेर केही निष्कर्ष निकाल्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको भनाइ छ । उनले भने, “दशैँअघिसम्म पाटनमा रथयात्राका साथै भोटोजात्रा सम्पन्न गरिएन भने रातो मच्छिन्द्रनाथलाई भक्तपुरवासीले आफ्नो हक जताएर लान पाउँछन् भन्ने कुरा सुन्नमा आए पनि यो कुरा भने कुनै पनि पुस्तकमा उल्लेख भएको छैन ।” मच्छिन्द्रनाथलाई अर्काे शहरका मानिसले लान्छन् भन्ने हल्ला गर्नुभन्दा पनि उपयुक्त समयमै भोटोजात्रा सम्पन्न गर्नुपर्ने थियो तर गर्न सकिएको छैन ।” बढ्दो महामारीका कारण हाललाई भोटोजात्राभन्दा पनि जनताको सुरक्षामा विशेष ध्यान दिनुपर्ने समय भएको महर्जनले बताएका छन्। 

आफूहरु जात्रासँग सम्बन्धित एक सहयोगी संस्था मात्र रहेकाले नेपाल सरकारको निर्णयपछि सो काममा अघि बढ्ने भएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताएका छन् । मच्छिन्द्रनाथ रथयात्रा कहिले गरिन्छ भन्ने निर्णय यही भदौ १५ गतेपछि हुने भएको पुजारी पूर्णराज शाक्यले बताएका छन् । 

विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । गत वर्ष चैत २७ गते करुणामयलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो । लोकेश्वरको मुख पश्चिमपट्टि फर्काई चाँदीको गाग्रीमा पाँच तीर्थको पानी, गाईको दूध, विभिन्न प्रकारका फूल मिसाएर गुभाजुले विभिन्न मन्त्रद्वारा पाठ गरेर महास्नान गरिएको पाटन सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताए । उनले भने, “दशैँअघिसम्म पाटनमा रातो मच्छिन्द्रनाथको रथजात्रा र भोटो जात्रा दुवै सम्पन्न गरिएन भने बुँगद्यःलाई भक्तपुरवासीले आफ्नो हक जताएर सधैँभरिका लागि त्यहाँ लान पाउँछन् । मच्छिन्द्रनाथलाई यदि भक्तपुर लगेमा सधैँभरि यस जात्रा भक्तपुर शहरमा गर्नुपर्ने हुन्छ । भक्तपुरमा पनि लोकेश्वरलाई राख्ने मन्दिर बनेको छ ।” वृष्टिदेवको जात्रा गर्न विभिन्न वस्तुको आवश्यक पर्ने भएकाले यसलाई जुटाउन र रथ बनाउन पनि निकै मेहनत गर्नुपर्ने हुँदा यसअघि एकपटक भक्तपुरवासीले करुणामयलाई उतै लाने अवसर पाउँदा नलगी पाटनमै छाडिदिएको कुरा सुन्नमा आएको डङ्गोलले जानकारी गराएका छन् । 

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । 

यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यस जात्रा हेर्न काठमाडौँ उपत्यकाका तीनै शहरबाट श्रद्धालु भक्तजन पाटन आउने चलन थियो । यस वर्ष जावलाखेलवासीले समेत रथ र भोटोजात्रा हेर्न पाउँछन् कि पाउँदैनन् भन्ने अन्योल छ । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकितेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्ने गरिन्छ । हिन्दूहरु यिनलाई भर्खरै उदाउन लागेको सूर्यनारायणका रुपमा लिन्छन् । 

रक्तावलोकितेश्वर लोकनाथको वर्ण अरुणावर्ण छ, दुई ठूलाठूला आँखा छन्, दबिएको नाक छ, उचाइ चार फिट लामो छ, पवित्र माटो (मृत्तिका, तेराकोटा) बाट बनेको मूर्ति सुन्दर र भव्य देखिन्छ । शिरमा रत्नमुकुट, निधारमा टीका र कानमा रत्नजडित गहनाले मूर्ति सुसज्जित भएको छ । घाँटीमा कर्काेटनागको रत्नमाला, हातमा चुरा, बाला र खुट्टामा कल्ली सुशोभित छन् । दाहिने हात वरद मुद्रामा छ । बायाँ हातमा कमलको फूल छ । लोकनाथ विराजमान हुने विहार ललितपुरको तःबहाल र बुङ्मतीको मन्दिर दुवै उत्तरतिर फर्केका छन् । यसैले मूर्ति जहिले पनि उत्तराभिमुख गरी राखिने भएको मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ । रासस

Ad Below News Title

Mega Bank

Ad After News Content