Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

कोरोना कहरः ‘मजदूरीका लागि पुनः भारत जानुपर्ने वाध्यता’

ज्ञानमाण्डू।कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि नेपाल–भारत सीमा नाका बन्द र लकडाउन लगाउँदा भारतबाट स्वदेश फर्किनेहरुको चाप रहेको कञ्चनपुरको गड्डाचौकी र डोकेबजारस्थित गौरीफन्टा नाकामा यतिबेला मजदूरीका लागि भारत जानेहरुको चाप बढ्दै गएको छ । भारतमा दैनिक ८० हजारभन्दा बढी सङ्क्रमित थपिनुका साथै दिनहुँ हजारौँको सङ्ख्यामा कोरोना सङ्क्रमणबाट मृत्यु भइरहेको खबर आइरहेका बेला स्वदेशमा रोजगारी नभएपछि बाध्य भएर यहाँका युवा मजदूरीका लागि भारत जानुपरेको बताउँछन् ।

सुदूरपश्चिम प्रदेशको रोजगारीको प्रमुख गन्तव्य रहेको भारतबाट लकडाउन अवधिमा झण्डै डेढ लाख मानिस स्वदेश फर्किएको तथ्याङ्क छ । स्वदेशमा स्वरोजगारका लागि कुनै योजना नहुनुका साथै आफूहरुको परिवारमा रोगभन्दा पनि भोकले मर्ने अवस्था आएपछि भारत जानुको विकल्प नरहेको मुग्लान जानेहरुको भनाइ छ । 

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौ हजारलाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको भएपनि रोजगारीका लागि पुनः भारत जाने क्रम बढ्दैछ । सरकारले प्रदेशका नौ वटा जिल्लाका ८८ वटै स्थानीय तह र कृषि ज्ञान केन्द्रमा रोजगारीका लागि आवेदन दिन आह्वान समेत गरेको छ । 

सरकारले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई आवेदन दिन आगामी असोज ६ गतेसम्मको समय तोकेको कृषि ज्ञान केन्द्र महेन्द्रनगरले जनाएको छ । “यहाँ आवेदन दिनेको भीड नै लागेको छ ।” कृषि ज्ञान केन्द्र महेन्द्रनगरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले भने –“अहिलेसम्म तीन सयभन्दा बढीले आवेदन दिइसकेका छन् ।” प्रमुख भट्टले आवदेन दिएका सबैलाई सरकारले सम्बोधन गर्न भने सम्भव नरहेको बताए । 

प्रदेश सरकारले नौ हजार जनालाई स्वरोजगार तथा रोजगारी दिने योजना बनाएको छ । हालै जारी सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा बाख्रापालन, बङ्गुरपालन, फलफूल खेती, गाईभैंसीपालन, माछापालन, स्थानीय कुखुरा र हाँस तथा अन्य मासुजन्य पन्छीपालन, नर्सरी तथा पुष्प व्यवसाय र अन्य गरी १० वटा कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई कार्यक्रम दिने भनेको छ । 

लामो समय लकडाउन हुँदा भोक टार्न समेत समस्या हुन थालेपछि बाध्य भएर भारत जान लागेको भीमदत्त नगरपालिका–१३ का सन्त सुनारले बताए । “सरकारले घरमै बसेर सुरक्षित रहनुस् भन्छ तर हामीसित अहिले नै छाक टार्न चामल छैन ।” लालाबालासहित गड्डाचौकीबाट भारत जान लागेका सुनारले भने , “सरकारले दिने भनेको रोजगारी पाउने बेलासम्म नै के खाने भन्ने समस्या छ । यतिबेला भारत बस्नुपर्ने हाम्रो बाध्यता हो ।” सुनारले स्वरोजगारको व्यवस्था नभएकाले धेरै स्थानीयहरु विदेशिन बाध्य रहेको बताए । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गौरीफन्टा र गड्डौकी नाकाबाट गरी दैनिक पाँचदेखि छ सय नेपाली भारततर्फ रोजगारीका लागि जान थालेको जनाएको छ । “आधार कार्ड र रासन कार्ड भएका र भारतीय कम्पनीले पनि प्रक्रिया पुर्याएर नेपालीहरुलाई भारत लगिरहेको छ” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको भनाइ छ । 

त्यसैगरी गड्डाचौकी नाकाबाट भारत भइरहेका कृष्णपुर नगरपालिका–२ का बेलुराम चौधरीले लकडाउनमा परिवार पाल्न धौ–धौ भएकाले भारत जान लागेको बताए । “लकडाउनकै बेला कोरोनाको त्रासले घर फर्किएँ, अब पनि यहाँ बसेर गुजारा चल्ने नदेखेपछि उतैतिर लागियो” चौधरीले भने –“अहिले परिवारको लालनपालनका लागि भारत जानुको अर्को विकल्प रहेन ।”रासस