Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

चाडपर्वमा परम्परागत पेशा थाम्दै पाका कुम्हाल

महोत्तरी, प्रत्येक वर्ष तिहार पर्वअघि प्रदेश २ को मिथिला क्षेत्रका कुम्हाल माटोसँग खेल्न अभ्यस्त हुन्छन् । तिहार (दीपावली) र छठ पर्वका पूजा र व्रत विधिमा माटाका नयाँ भाँडाको प्रयोग गरिने परम्पराले कुम्हाल (तराईमा माटाका भाँडा बनाउने पेशाका खास जाति समुदाय) अहिले माटोसँग खेल्न अभ्यस्त देखिएका हुन् । महोत्तरीसहितका प्रदेश २ का सबै जिल्ला प्राचीन मिथिला संस्कृतिका केन्द्र मानिन्छन् । परम्परागत यसै परम्पराको बिँडो थाम्न अहिले कुम्हाल बस्तीमा माटाका भाँडा बनाउने काम चलेको देखिन्छ । 

टायर गाडामा चिम्टाइलो माटो ओसार्न, डल्ला फुटाएर माटो धुल्याउन, पानी हालेर मुछ्न र भाँडा बनाउने चक्रसम्म पुर्याउन परिवारका सबै सदस्य लागिपरेका देखिन्छन् । मुछिएको माटो चक्रमा राखेर सीप भएका कुम्हालले आफ्नो हात चलाउँदै माटोलाई भाँडाको रूपमा ढालेको दृश्य एकछिन हेर्नेका लागि जादुजस्तै लाग्दछ । चक्रमा घुमाएर तयार भएका भाँडा केही दिन आगोको भट्टीमा पकाएपछि यो क्रमले पूर्णता पाउँछ । कुम्हाल बस्तीमा बढेको सक्रियताले दीपावली र छठ नजिकिएको जोसुकैले सहजै लख काट्दछन् ।

केही दशकअघिसम्म मिथिलामा पानी राख्ने घैँटा, खाना पकाउने डेक्ची र राखनधरन प्रयोजनका भाँडा माटाकै प्रयोग गरिँदा कुम्हालको जीवन गुजारा नै यसैबाट चल्थ्यो । अब भने घरायसी दैनिक प्रयोजनमा प्लाष्टिकका भाँडाको प्रयोग बढेपछि परम्परागत कुम्हाले पेशा सङ्कटमा परेको छ । अब चाडबाडमा माग हुने भाँडाले मात्र जीवन गुजारा नचल्ने भएपछि पछिल्लो पुस्ताका कुम्हाल अन्य पेशामा लागेका छन् । 

मिथिलाञ्चल क्षेत्रमा दैनिक प्रयोग र पर्व विशेषमा माटाका भाँडाको महत्व भए पनि पछिल्ला दिनमा प्लाष्टिकका भाँडाको प्रयोग बढेपछि आफ्नो सीपले बजार पाउन छाडेको कुम्हाल बताउँछन् । मिथिलाञ्चलका दशहरा (बडादशैँ), दीपावली, छठ, चौरचन, घडीपर्व, जितिया र जुडशीतललगायतका प्रसिद्ध पर्वमा दही जमाउनदेखि अन्य पूजा सामग्री राख्नसमेत माटाकै भाँडा चाहिने विधि भए पनि आम उपभोक्ताले दैनिक प्रयोगमा प्लाष्टिकका भाँडा रोज्न थालेपछि कुम्हालको पेशा अब चाडबाडमा खुम्चिएको यहाँका पाका कुम्हाल बताउँछन् । 

आम उपभोक्ताबाट दैनिक प्रयोगमा अब माटाका भाँडाको माग हुन छाडेपछि जीवन गुजाराका लागि बनिबुतो र अन्य पेशा अँगाल्नुपर्ने स्थिति आएको यस भेगका कुम्हालको भनाइ छ । महोत्तरी जिल्लामा कुम्हालको सघन बसोबास रहेको भङ्गाहा, खुट्टापिपराढी, सरपल्लो, सहसराम, रतौली, मझौराविशनपुर र पर्सादेवाडलगायतका नगर÷गाउँ बस्तीमा १० वर्षअघिसम्म भाँडा बनाएर फुर्सद नपाउने कुम्हाल अब काम नपाएर त्यतिकै बस्नुपर्ने स्थिति बनेको सहसरामका कुम्हाल समुदायकै ७० वर्षीय कुम्हलाल पण्डित दिक्दारिँदै बताउनुहुन्छ । नयाँ उमेरका पछिल्लो पुस्ताका आफ्ना सन्तानले चक्र घुमाउने काममा रुचि देखाउन छाडेपछि अब आफूहरुको पुस्तासम्म मात्र भाँडा बन्ने उहाँको ठम्याइ छ ।
  
गत चौरचन पर्वलाई लक्षित गरी बनाइएका धुपौरो, छ्याँची (दही जमाउने भाँडो), घैँटो, सर्वा (सानो बटुको आकारको भाँडा) र ढकनसहितका माटाका भाँडा नबिकेर त्यतिकै घरमा थन्किएका महोत्तरीका कुम्हाल बताउँछन् । गत दशैँमा थोरैमात्रामा आफ्ना भाँडा बिके पनि व्यवसायलाई निरन्तरता दिनसक्ने अवस्था नरहेको महोत्तरीकै भङ्गाहा नगरपालिका–५ राजपुरको कुम्हाल बस्तीका सीताराम पण्डितले बताउनुभयो । 

अब नजिकिँदै गरेको दीपावली र छठ पर्वलाई लक्षित गरी भाँडा बनाउने तयारी गरिए पनि कतैबाट माग भने नभएको कुम्हालेले बताएका छन् । विगत एक दशकअघि चाडपर्व विशेषमा केही दिनपहिले नै भाँडाको माग गर्दै भुक्तानीसमेत अग्रिम पाइने गरेको कुरा आफ्नै पछिल्लो पुस्ताका लागि अब दन्त्यकथाजस्तो भइसकेको खुट्टापिपराढीका रामविलास पण्डितको भनाइ छ । 

यता आम उपभोक्ताले भने माटाका भाँडा आवश्यकता हुनासाथ बजारमा खोज्दा नभेट्टाइने, मूल्य बढी पर्ने र विस्तारै ठोक्किँदा पनि फुट्ने भएकाले आफूहरु प्लाष्टिकका भाँडा किन्न बाध्य भएको बताउने गरेका छन् । प्लाष्टिकका भाँडा सामान्य सानातिना पसलमा पनि पाइने, सस्तो हुने र सामान्य ठक्करले नफुट्ने भएकाले यसको प्रयोग बढेको बनौलीदनौलीकी सामाजिक कार्यकर्ता गीता दासको भनाइ छ । पछिल्लो समयमा आफ्नो पुख्र्यौली पेशाले जीवन गुजारा नचल्ने भएपछि कुम्हाल बस्तीका युवा रोजगारीका लाग विदेश जाने क्रम बाक्लिएको छ । धेरैजसो कुम्हाल बस्तीमा अहिले महिला, वृद्धवृद्धा र ससाना नानीमात्र देखिन्छन् । 

अहिलेको अवस्था हेर्दा अब केही वर्षपछि कुम्हाल बस्तीकै पछिल्लो पुस्ताले माटाको भाँडा बनाउने पाङ्ग्रा (चक्र) पनि हेर्न नपाउने स्थिति बनेको अगुवा कुम्हाल नै बताउँछन् । सङ्कटमा परेको आफ्नो पेशालाई बचाउन भने राज्यले नै खास अवसर जुटाइ दिनुपर्ने पाका कुम्हालको भनाइ छ । रासस

infolink

admana

Mega Bank

slc share training