ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू बिच मर्जरको प्रारम्भिक सम्झौता सम्पन्न, मुलुककै ठुलो बैङ्क बन्दै
ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेड बिच एक आपसमा गाभ्न गाभिनको लागि बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा ग्लोबल आइएमई बैङ्कको तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैङ्क अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैङ्कका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
मर्जर पश्चात् बन्ने नयाँ बैङ्कको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैङ्क अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसै गरी बैङ्कको प्रमुख कार्यकारी अधिकृतको रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।
ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।
२१ वटा बैङ्क तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैङ्कहरू, १० वटा विकास बैङ्क तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।
मर्जर पश्चात् बैङ्कको कूल पुँजी रु. ५२.२९ अर्ब, चुक्ता पुँजी रु. ३४.४१ अर्ब, कूल निक्षेप रु. ३८४ अर्ब, कूल कर्जा रु. ३८० अर्ब सहित कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठुलो बैङ्क हुनेछ ।
साथै, जेष्ठ मसान्त सम्म दुवै बैङ्कको गरेर ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन भएको छ । दुई बैङ्कहरूको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ३७ लाख भन्दा बढी ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैङ्क हुनेछ ।
दुवै बैङ्कहरू एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैङ्कको रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई उच्चतम प्रतिफल दिने विश्वास बैङ्कले लिएको छ ।
साथै, बैङ्कले वित्तीय क्षेत्रमा नयाँ अवसरहरू ल्याई ग्राहक, शेयर धनी, बैङ्कसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैङ्कले कार्य सम्पादन गर्ने दुवै बैङ्कका सञ्चालक समिति अध्यक्षहरूले संयुक्त रूपमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैङ्कका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताउनुभएको छ ।
ग्लोबल आइएमई बैङ्क नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कले दिने निर्देशनहरू परिपालनामा सधैँ पहिलो हुने गरेको बताउँदै तद अनुरूप यो मर्जरको समझदारी पत्रमा हस्ताक्षर गरिएको बताउनुभयो ।
उहाँले मर्जरपछि बन्ने नयाँ बैङ्क ठुलो मात्र नभएर सबै हिसाबले सर्वोकृष्ट बैङ्क बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
बैङ्क अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा आजको दिन सधैँ संस्मरणमा रहने बताउनुभयो ।
उहाँले मर्ज हुनु प्राकृतिक प्रक्रिया हो तर मर्जरपछि बन्ने बैङ्क कस्तो बन्छ भन्ने मूल विषय रहेको बताउनुभयो । उहाँले नयाँ बैङ्कले नेपालको बैंकिङ्ग क्षेत्रमा ठुलो सफलता हासिल गर्नेमा विश्वास प्रकट गर्नुभयो ।
साथै, उक्त कार्यक्रममा दुवै बैङ्कका अध्यक्षहरूले गाभ्ने/गाभिने कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष तवरले सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, बैङ्कका सञ्चालकहरु, शेयर धनी, कर्मचारी वर्ग, सञ्चार क्षेत्र लगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस्