स्नातक कार्यक्रम, तीन वर्षे बनाइन्छ : उपकुलपति

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडाकेशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीन वर्षे बनाइने जानकारी दिनुभएको छ । त्रिविले २०७१ /०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चार वर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पद बहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चार वर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्य सञ्चालनमा पनि असहजता थपेको बताउनुभयो । “बाहिरको शिक्षा प्रणाली अनुकूल बनाउन जनाउँदै चार वर्षे गरियो तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै ठाउँमा अहिले पनि तीन वर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ”, उहाँले भन्नुभयो  ।

अमेरिकालगायत केही देशमा चार वर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले भन्नुभयो, “त्यस्ता देश वा त्यस्तै चार वर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीन वर्षे कोर्स सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ ।”

साथै उहाँले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चार वर्षे वा पाँच वर्षे हुनसक्ने बताउनुभयो । विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकातर्फ औँल्याउँदै उहाँले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताउनुभयो । यसको  समाधानका लागि मानविकीलाई सबै सङ्काय र कार्यक्रमबाट आउन मिल्ने (मल्टी डिसिप्लिनरी लिबरल आर्ट )का रूपमा पुनः संरचना गरिने जानकारी पनि उहाँले दिनुभयो । शिक्षा सङ्कायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइने उहाँले बताउनुभयो ।

केही वर्षयता त्रिविको संरचना ठुलो र भद्दा भएको चर्चा गरिने उल्लेख गर्दै उपकुलपति बरालले यसको पुनः संरचनाका लागि आफू तयार रहेको बताउनुभयो । “त्रिविलाई अब विस्तार होइन पुनः संरचनाको खाँचो छ”, उहाँले भन्नुभयो  ।

उपकुलपति प्राडाबरालले त्रिविका शैक्षिक कार्यक्रमहरूलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताउनुभयो । देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने जानकारी पनि उहाँले दिनुभयो । “तराईका राजवंशी र पहाडका मगरले उत्पादन गर्ने कासवा होस् वा चिउरीका उत्पादनको विकास, विश्वविद्यालयले त्यसतर्फको अध्ययन–अनुसन्धानमा जोड दिनेछ”, उहाँले भन्नुभयो । साथै हिमाली उपचार पद्धति आम्ची र आयुर्वेदिक अध्ययन–अनुसन्धानका कार्यक्रममा पनि विशेष जोड दिएर उठाइने उहाँले बताउनुभयो ।

यसै गरी, देशको विशिष्टताअनुरूप पर्वतारोहणको उच्चशिक्षाका लागि विशेष  योजना ल्याइने र विदेशी विश्वविद्यालयसँग ज्ञान आदानप्रदानका कार्यक्रममार्फत अघि बढाइने पनि उपकुलपति प्राडा बरालले बताउनुभयो । होटेल व्यवस्थापनमा अध्ययनसँगै कमाइको अवधारणालाई त्रिवि कार्यक्रमभित्रै समेटेर अघि बढाइने पनि उहाँले बताउनुभयो ।

प्राडा बराललाई निवर्तमान कार्यवाहक उपकुलपति शिवलाल भुसाललगायत त्रिविका वरिष्ठ कर्मचारी तथा प्राध्यापकहरूले स्वागत गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x