स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने प्रयास

सरकारले स्वदेशमा नै उत्पादन भएका औषधि खरिद गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि स्वदेशी उद्योगले  नै खरिद गर्ने तयारीमा रहेको बताउनुभयो ।

उहाँले स्वदेशमा नै उत्पादन हुने औषधि सरकारले खरिद गर्न सके नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउन सकिने उहाँको भनाइ छ । “सरकारले ९८ किसिमका औषधि निःशुल्क दिइरहेको छ । हामीबिच खाडल र केही सर्तले ती औषधि खरिद गर्न समस्या भएको छ,” उहाँले भन्नुभयो, “अब ती खाडल र सर्तका गाँठो फुकाएर ९८ प्रकारका औषधि स्वदेशी औषधि उद्योगले उत्पादन गर्ने तयारीमा रहेका छौँ ।”

मन्त्रालयका अतिरिक्त सचिव डा देवकोटाले औषधिको चुहावट रोकेर मूल्यमा समायोजन गर्ने बताउनुभयो । “कच्चापदार्थ र प्रविधि र उपकरणबाहिर बाट ल्याउनु परेको छ । थोरै नाफामा औषधि उत्पादन गरिरहनुभएको छ,” उहाँले भन्नुभयो, “हामीले औषधिको मूल्य बढाउन नसक्दा औषधि उद्योगले घाटा व्यहोरिरहेका छन् । अब वैज्ञानिक रूपमा मूल्य समायोजन गर्नुपर्दछ ।”

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रयास गर्दा पनि औषधिको समायोजन नभएको भन्दै अब चाँडै नै औषधिको मूल्य समायोजन गरिने बताउनुभयो । उहाँले नयाँ बन्ने औषधि ऐनमा मूल्य समिति गठन गरेर समायोजनको व्यवस्था हुने बताउनुभयो । “औषधिको मूल्य सधैँ एउटै हुनुहुन्न । समायोजन समयमा नै हुनुपर्दछ । औषधिको मूल्य समायोजन गरेनौँ भने औषधि उद्योगलाई समस्या पर्दछ,” उहाँले भन्नुभयो, “ऐनमा रहेको समितिले नै आवश्यक औषधिको  मूल्य समायोजन गर्छ ।”

नेपाल औषधि उत्पादन सङ्घका अध्यक्ष महेश प्रधानले विश्वासमा सबैभन्दा सस्तो दरमा नेपालमा औषधि बिक्री गर्नुपरेको भन्दै मूल्य समायोजन हुनुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वदेश औषधिको पनि मूल्य समायोजन गरिनुपर्ने बताउनुभयो । उहाँले २०६२ सालमा केही औषधिको मूल्य समायोजन भएको भन्दै नयाँ बन्ने औषधि ऐनले औषधिको मूल्य समायोजन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा बनेका औषधि नेपाली जनतालाई खुवाउन आफूहरू तयार रहेको बताउनुभयो । उहाँले मूल्य समायोजन नहुँदा र एकरूपता औषधि उत्पादन गर्दा उद्योगी समस्यामा पर्दै गएको बताउनुभयो । उहाँले नेपालमा उत्पादन भएका औषधि भएसम्म बाहिरका औषधि खरिद नगरिदिने हो भने आत्मनिर्भर हुने बताउनुभयो ।

आयुर्वेदिक औषधि उत्पादक सङ्घका अध्यक्ष सुमन पाण्डेले औषधिको गुणस्तरमा संवेदनशील रहेकाले  बिरामीसमक्ष गुणस्तरीय औषधि पुर्‍याउने गरेको बताउनुभयो । “सरकारले बनाएको मापदण्ड पूरा गरेर नै हामीले बिरामीसम्म गुणस्तरीय औषधि पुर्‍याएका छौँ,” उहाँले भन्नुभयो, “हामीसँग केही सानातिना कमजोरीबाहेक ठुलो कमजोरी छैन ।” उहाँले सरकारसँग गुणस्तर जडीबुटी रहे पनि तर ती गुणस्तर जडीबुटी सरकाले उपलब्ध गराउने नसकेको बताउनुभयो ।

नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव सञ्जीव कट्टेलले औषधिका लागि गुणस्तरीय प्रयोगशालामा ध्यान दिनुपर्ने बताउनुभयो ।

औषधि आयातकर्ता सङ्घका महासचिव पवन आचार्य औषधिको गुणस्तर कायम राखेर  स्वदेशी उद्योग संरक्षण आवश्यक रहेको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x