नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना, महासङ्घ र कतार चेम्बर बिच सम्झौता

नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधवार दुवै चेम्बर बिच सम्झौता भएको हो ।

कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा महासङ्घ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानी ले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो । परिषद्ले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नेछ ।

तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग संवादका लागि परिषद् स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्र बिच सहकार्य र समझदारी बढाउनु हो ।

नेपालीहरूको कामको गन्तव्यका रूपमा चिनिँदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषद्ले प्रभावकारी भूमिका खेल्नेछ । खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडीबुटी, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तीव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रूपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसै गरी पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि परिषद्ले काम गर्नेछ ।

परिषद् स्थापनापछि दुई चेम्बरबिचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राख्नु भएको छ । ‘यस सम्झौताले अगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भन्नुभयो ।

यसै गरी महासङ्घ अध्यक्ष ढकालले परिषद्का मार्फत थप सहकार्यका लागि थप काम गरिने बताउनुभयो । ‘कतारको तीव्र आर्थिक विकासबाट फाइदा लिन परिषद्ले निरन्तर काम गर्नेछ, ’ महासङ्घका अध्यक्ष ढकालले भन्नुभयो । यसै गरी महासङ्घ अध्यक्ष ढकालले परिषद्को स्थापना पछि नेपालको जल विद्युत्,  पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुनेछ बताउनुभयो ।

यसै गरी महासङ्घ र कतार चेम्बरबिचको समझदारी पनि नवीकरण भएको छ । नयाँ समझदारी पत्रमा महासङ्घ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गर्नुभयो ।

उक्त सम्झौता पनि कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा नै भएको हो । महासङ्घ र कतार चेम्बर बिच सन् २००५ मा पहिलो पटक समझदारी भएको हो । त्यसयता दुई चेम्बरले लगानी र व्यापार प्रवर्द्धनमा विविध सहकार्य गर्दै आइरहेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x