युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण भदौ ३० मा

नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा यही भाद्र ३० गते काठमाडौँमा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण (4th Nepal Youth Entrepreneurship Summit 2025) आयोजना हुने भएको छ । सम्मेलन आयोजना सम्बन्धी समझदारी पत्रमा मगंलवार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले संयुक्त रूपमा हस्ताक्षर गर्नुभयो ।

सन् २०१९ बाट सुरु भएको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण आयोजनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । पहिलो संस्करण देखि नै राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले निरन्तर रूपमा सम्मेलन आयोजना गर्दै आएका छन् ।

समझदारी कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्दै युवा उद्यमशीलताको विकासमा सरकारले गरेका नीतिगत व्यवस्थाको प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनु भयो । युवाहरूलाई उद्यमी बन्न प्रोत्साहित गर्न र स्टार्टअप उद्यमहरूलाई वित्तीय सहजीकरण गर्न सम्मेलन उपलब्धिमूलक हुने उपाध्यक्ष बस्नेतको भनाई छ ।

एनबीआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन मूल आयोजक कमिटीका संयोजक विशाल गैरेले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायले युवा उद्यमशीलता प्रवर्द्धनमा हालसम्म गरेका नीतिगत र कार्यक्रमगत उपलब्धिको चर्चा गदै भावी रणनीति बनाउन सम्मेलनले मार्ग निर्देश गर्ने बताउनु भयो । उहाँले सम्मेलनमा युवा उमेर समूहका उद्यमी बन्न चाहने युवाहरू, उद्यम गरिरहेका युवाहरू र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ता, उच्चपदस्थ सरकारी अधिकारी र सरोकारवालासहित देशभरका ५ सय प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने जानकारी दिनु भयो ।

युवा उद्यमशीलता: नीति, कार्यक्रम र कार्यान्वयन (Youth Entrepreneurship : Policy, Program and Implementation) भन्ने मूल नारा रहेको सम्मेलन प्रधानमन्त्री के.पी. सर्मा ओलीले समुद्घाटन गर्नुहुने छ भने यो सम्मेलनमा पूर्व प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग मन्त्री, दातृ संस्था र निजी क्षेत्रका उच्चपदस्थ अधिकारीहरूको सहभागिता र साझेदारी रहने छ ।

युवाहरूमा वित्तीय पहुँच, सरकारी नीति, कर नीति , स्टार्टअप कार्यक्रम, स्टोरी सियरिङ, समूहगत छलफल, र स्टार्टअप बिजनेस वारे युवा उद्यमीहरूको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा यो शिखर सम्मेलन महत्त्वपूर्ण हुने आयोजक संस्थाको विश्वास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x