नाफामा वाणिज्य बैङ्कहरू मध्ये एनआईसी एशिया १ नम्बर, ईपिएसमा राष्ट्रिय वाणिज्य बैंक अब्बल


ज्ञानमाण्डू।चालु आ.व.को पहिलो ३ महिनाको सार्वजनिक वितिय विवरण अनुसार वाणिज्य बैङ्कहरू मध्ये सबैभन्दा धेरै नाफा एनआईसी एशिया बैङ्कले आर्जन गरेको छ भने समीक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी सरकारकी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको रहेको देखिएको छ । 

चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको अवधिमा नेपालका अधिकांश वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.०६ प्रतिशत नाफा वृद्धि गर्न सफल हुँदै कुल १८ अर्ब ११ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको मुनाफा १४ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । नाफामा उल्लेख्य सुधार देखिए पश्चात् बैङ्कहरूको प्रतिशेयर आम्दानीमा पनि वृद्धि आएको तथ्याङ्कले देखाएको छ ।

banks of nepal

  • नाफामा एनआईसी एशिया १ नम्बर

चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा बैङ्कहरूले प्रकाशित वित्तीय विवरण अनुसार कुल १८ अर्ब अधिक मुनाफा आर्जन गरेका २७ वाणिज्य बैङ्कहरूले औसतमा ६७ करोड १० लाख नाफा कमाएको देखिएको छ। यस अवधिमा ११ वटा बैङ्कले औसत भन्दा बढी खुद नाफा आर्जन गरेका छन् भने १६ यस्ता बैङ्कको नाफा औसत सिमा भन्दा कम रहेको देखिएको छ । विवरण प्रकाशित गरेकामध्ये एनआईसी एशिया बैङ्क, नबिल बैङ्क, ग्लोबल आइएमई बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र एनएमबि बैङ्कले अर्ब बढी नाफा कमाएका छन् ।

चालु आ.व.को पहिलो ३ महिनामा सबैभन्दा धेरै नाफा एनआईसी एशिया बैङ्कले गरेको छ । बैङ्कले चालु आ.व.को पहिलो ३ महिनामा नै १ अर्ब १८ करोड रुपैंया खुद मुनाफा गरेको छ । त्यसै गरी, नबिल बैङ्कले नाफा १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै अर्ब अधिक नाफा कमाएको ग्लोबल आइएमई बैङ्कले १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले १ अर्ब ५ करोड रुपैयाँ र एनएमबी बैङ्कले १ अर्ब ४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सर्वाधिक कम नाफा कमाउने वाणिज्य बैङ्क, बैङ्क अफ काठमाण्डू लिमिटेड रहेको छ। उक्त बैङ्कले चालु आ.व.को पहिलो ३ महिनामा २५ करोड ३४ लाख रुपैंया मुनाफा आर्जन गरेको छ।

धेरै जसो बैङ्कले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गर्दा चार वाणिज्य बैङ्कहरूले भने गत वर्षको पहिलो त्रैमासको तुलनामा नाफामा गिरावट आएको विवरण प्रकाशित गरेका छन्। चालु आर्थिक वर्षको पहिलो ३ महिनाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नाफा घटाउने नेपाल बङ्गलादेश बैङ्क देखिएको छ ।

  • ईपिएसमा राष्ट्रिय बाणिज्य बैंक अब्बल

चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको अवधिको वित्तीय विवरण अनुसार अधिकांश वाणिज्य बैङ्कहरूको प्रति शेयर आम्दानी १० रुपैंया अधिक रहेको छ। तथ्याङ्क अनुसार उक्त वाणिज्य बैङ्कहरूको प्रथम त्रैमासमा प्रति शेयर आम्दानी औसतमा २२ रुपैंया ४२ पैसा रहेको देखिएको छ। यस अवधिमा १५ वटा बैङ्कको प्रति शेयर आम्दानी औसत भन्दा बढी रहेको छ भने १२ यस्ता बैङ्कको प्रति शेयर आम्दानी औसत सिमा भन्दा कम रहेको देखिएको छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी सरकारकी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको रहेको छ । राष्ट्रिय वाणिज्य बैङ्कको प्रति शेयर आम्दानी यस अवधिमा ४१ रुपैंया २६ पैसा रहेको छ। उक्त बैङ्कले चालु आ.व.को पहिलो ३ महिनामा १ अर्ब ५ करोड रुपैंया मुनाफा आर्जन गरेको छ। त्यस्तै, एनआईसी एशिया बैङ्कको प्रति शेयर आम्दानी गत वर्षको तुलनामा वृद्धि हुँदै ४० रुपैंया ८४ पैसा पुगेको छ।

त्यसै गरी, यस अवधिमा सिद्धार्थ बैङ्कको प्रति शेयर आम्दानी ३४ रुपैंया ६२ पैसा, नबिल बैङ्कको ३२ रुपैंया १४ पैसा, एभरेष्ट बैङ्कको २५ रुपैंया ९२ पैसा, एनएमबी बैङ्कको २५ रुपैंया ५९ पैसा, मेगा बैङ्कको २४ रुपैंया ९७ पैसा, माछापुच्छ्रे बैङ्कको २४ रुपैंया ८१ पैसा र प्राइम कमार्सियल बैङ्कको प्रति शेयर आम्दानी २४ रुपैंया ३२ पैसा पुगेको छ।

यस अवधिमा सर्वाधिक कम प्रति शेयर आम्दानी बैङ्क अफ काठमाण्डूको रहेको छ। बैङ्क अफ काठमाण्डूको प्रति शेयर आम्दानी यस अवधिमा १० रुपैंया ५० पैसा रहेको छ। त्यस्तै पश्चात्, सबै भन्दा कम प्रति शेयर आम्दानी भएको अर्को वाणिज्य बैङ्क, कृषि विकास बैङ्कको प्रति शेयर आम्दानी यस अवधिमा ११ रुपैंया ८२ पैसा रहेको छ। त्यस्तै, सेञ्चुरि कमर्सियल बैङ्कको प्रति शेयर आम्दानी १२ रुपैंया ०६ पैसा र सिभिल बैङ्कको प्रति शेयर आम्दानी १३ रुपैंया ५१ पैसा रहेको तथ्याङ्कले जनाएको छ।

धेरै जसो बैङ्कले प्रति शेयर आम्दानी बढाएको वित्तीय विवरण प्रकाशित गर्दा चार वाणिज्य बैङ्कहरूले भने गत वर्षको पहिलो त्रैमासको तुलनामा प्रति शेयर आम्दानीमा गिरावट आएको विवरण प्रकाशित गरेका छन्। चालु आर्थिक वर्षको पहिलो ३ महिनाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै प्रति शेयर आम्दानी घटाउने नेपाल बङ्गलादेश बैङ्क देखिएको छ । गत वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशतले प्रति शेयर आम्दानी घटाएको नेपाल बङ्गलादेश बैङ्कको प्रति शेयर आम्दानी १८ रुपैंया २९ पैसा रहेको छ। गत वर्षको सोही अवधिमा नेपाल बङ्गलादेश बैङ्कको प्रति शेयर आम्दानी २५ रुपैयाँ ३७ पैसा रहेको थियो ।

अस्वीकरण: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x