ग्लोबल आइएमई र बीओके क्यापिटल मर्ज, ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु

ग्लोबल आइएमई बैङ्क लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैङ्क अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक रूपमा शुभारम्भ भएको छ ।

ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैङ्कको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबिच एकीकृत कारोबारको औपचारिक रूपमा शुभारम्भ गर्नुभएको छ ।

एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले मर्चेन्ट बैंकर कम्पनीले निष्कासन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताको रूपमा कार्य गर्दा संस्थागत दायित्व समेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेको तर्फ जोड दिँदै बजारको स्थायित्व र विकासमा समेत मर्चेन्ट बैंकरको अहम् भूमिका हुने भएकोले संस्थागत सुशासन सहित प्रभावकारी सेवा प्रवाहमा लाग्न मर्चेन्ट बैंकरहरुलाई आग्रह गर्नुभयो ।

साथै, नियामकीय निकाय नेपाल धितोपत्र बोर्डले आफ्नो अभिभावकीय भूमिका समेत खेल्दै मर्चेन्ट बैंकरहरु बजार विस्तारका सम्बन्धमा नयाँ वित्तीय औजारका लागि एक कदम अगाडि बढेमा बोर्ड दुई कदम अगाडि बढ्न तयार रहेको धारणा व्यक्त गर्दै बजार विकासका लागि नयाँ वित्तीय औजार ल्याउन जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पुँजीका आधारमा दोस्रो ठुलो कम्पनीको रूपमा स्थापित भएकोमा सोही अनुरूप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।

ढकालले नियामकीय निकाय नेपाल धितोपत्र बोर्डलाई मर्चेन्ट बैंकरहरुले हाल गर्दै आएका कामको दायरा विस्तार र आधुनिकीकरणका लागि पहल गर्न ध्यानाकर्षण समेत गराउनुभयो ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ग्लोबल आइएमई बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत बैङ्कका कर्मचारी, नियामकीय निकाय नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x