९ महिनामा व्यापार घाटा १३ खर्ब माथि, निर्यातमा भने ६९ प्रतिशतकाे वृद्धि

 
ज्ञानमाण्डू। चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालले १ खर्ब ६० अर्ब बढीको वस्तुको निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले चालु आर्थिक वर्षको साउन देखि चैत्र मसान्तसम्ममा मात्रै १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ अधिकको वस्तु निर्यात गरेको देखिएको छ ।
 
पछिल्ला आर्थिक वर्षको तथ्याङ्कलाई मूल्याङ्कन गर्दा निर्यातको व्यापार खर्ब पुर्‍याउन निकै अप्ठ्यारो हुने नेपालले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमै भने खर्ब बढीको निर्यात व्यापार गर्न सफल भएको प्रतिवेदनले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यात व्यापार ६९ दशमलव ४५ प्रतिशतले वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ को चैत्र मसान्तसम्मको अवधिमा नेपालबाट कुल ९४ अर्ब ७६ करोड रुपैंया अधिकको वस्तु निर्यात भएको थियो ।
 
समीक्षा अवधिमा निर्यात तर्फको व्यापार बढिरहँदा आयातको व्यापारमा पनि नेपालले उल्लेखनीय छलाङ मारेको देखिन्छ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा नेपालले विभिन्न देशबाट १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ अधिकको वस्तु आयात गरी खपत गरेको देखिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३१.९७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ११ अर्ब रुपैयाँ अधिकको वस्तु आयात गरेको थियो ।
 
 
यता आयात र निर्यात दुवै उकालो लाग्दा व्यापार घाटा पनि सोही अनुरूप २८ दशमलव ४७ प्रतिशतले उकालो लागेको छ । चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा नेपालले १३ खर्ब ०६ अर्ब ०८ करोड रुपैयाँ अधिकको व्यापार घाटा व्यहोरेको तथ्याङ्कले देखाएको छ । यस्तो व्यापार घाटा गत वर्षको सोही अवधिमा १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ अधिक रहेको थियो ।
 
यसरी निर्यात व्यापार बढिरहँदा हाल कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा २५.५७ प्रतिशतले वृद्धि हुँदै १० प्रतिशत कायम भएको छ । यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ८ प्रतिशतमा सीमित रहेको थियो । यता, उकालो लाग्दै गरेको आयात व्यापारले समीक्षा अवधिमा कुल वैदेशिक व्यापारको ९० प्रतिशत हिस्सा ओगटेको देखिन्छ। यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ९२ प्रतिशतमा कायम रहेको थियो । गत आर्थिक वर्षको तुलनामा आयात व्यापारको हिस्सामा २ दशमलव १८ प्रतिशतको गिरावट आएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x