स्काइपिक एडभेन्चर्स पार्क लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को लागि बिक्री प्रबन्धकको रूपमा नाबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले यसको लागि कार्तिक १ गते सम्पन्न साधारण सभाबाट निर्णय गरेको थियो। त्यस पश्चात् नबिलसँग नियुक्तिको सम्झौता गरेको हो। सम्झौता पत्रमा बैङ्किङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशी र कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक पोस्टबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ।
साहसिक पर्यटकीय पूर्वाधार तयार गरी व्यावसायिक अर्थोपार्जन गर्ने उद्देश्य बोकेको यस कम्पनीको अधिकृत पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने जारी पुँजी ८८ करोड रुपैयाँ रहनेछ। प्रवर्द्धक बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, आरकेडी होल्डिङ लिमिटेड, टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेड, बिजबजार लिमिटेड र १ हजार जना व्यक्तिहरूको गरी जम्मा ६९ करोड ५२ लाख रुपैयाँको चुक्ता पुँजी रहेको छ। आइपिओ अन्तर्गत, प्रति कित्ता १०० रुपैयाँको दरले सर्वसाधारणलाई १८ करोड ४८ लाख रुपैयाँको शेयर, प्रस्ताव गरिने कम्पनीले उल्लेख गरेको छ।
यसै गरी आइपिओ प्रयोजनको लागी इक्विटी रेटिङ गर्न कम्पनीले क्यर रेटिङ लिमिटेडसँग पनि सम्झौता गरेको छ। यसको लागि क्यर रेटिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झा, र कम्पनीको तर्फबाट सञ्चालक धुर्व प्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ।
कम्पनीले बन्दीपुरमा केबलकार सँगै सञ्चालनमा ल्याउने गरी विश्वकै सबैभन्दा लामो (९७ मिटर) क्यान्टिलिभर स्काई-ब्रिज, बन्जी-जम्प, सोप-स्विङ, स्काई ग्लास वाक-थ्रू, मेटल टावर क्लाइम्बिङ, बि-लेट जम्प, मेकानिकल स्विङ, क्याप्सुल लिफ्ट, भयूज-रुम टावर, एज-वाक, स्काई डाइनिङ, फ्लाइङ डाइनिङ, एटिभी सफारी, आदि योगी धार्मिक-पार्क, रक-क्लाइम्बिङ,पिकनिक क्याम्प, लगायतका साहसिक पर्यटकीय गतिविधिका पूर्वाधारहरू निर्माण गरिरहेको छ। यो परियोजनाको कुल लागत १ अर्ब ७० करोड रुपैयाँ रहेको छ। विश्वकै सबैभन्दा लामो (९७ मिटर) क्यान्टिलिभर स्काई-ब्रिज, बन्जी-जम्प, सोप-स्विङ बाहेकका बाँकी सम्पूर्ण पूर्वाधार 2082 फागुन मसांतर भित्र व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ। हालसम्म कम्पनीले बैङ्किङ ऋण नलिएको निजको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ। सम्पूर्ण परियोजना निर्माण सम्पन्न हुने अन्तिम चरणमा मात्र बैङ्क ऋण लिने नीति रहेको वित्तीय निर्देशक श्री धुर्ब प्रसाद पौडेलले बताउनुभयो।
स्काइपिक एडभेन्चर्स पार्क लिमिटेडले आइपिओको लागि बिक्री प्रबन्धक नियुक्त गर्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
