दियालो बङ्गला घुम्न एक वर्षमा २५ हजारभन्दा बढी पर्यटक, २४ लाख राजस्व सङ्कलन

भरतपुर महानगरपालिका–१ स्थित ऐतिहासिक दियालो बङ्गला अवलोकन गर्नेको सङ्ख्या पछिल्लो आर्थिक वर्षमा २५ हजार नाघेको छ। गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले बङ्गला भ्रमण गरेका छन्, जसमा भारत र चीनबाट आएका पर्यटकसमेत छन्।

भरतपुर महानगरपालिकाकी सूचना अधिकारी मेनुका पण्डितका अनुसार भ्रमण गर्नेमा १६९ जना ज्येष्ठ नागरिक र १ हजार ५३३ जना विद्यार्थी रहेका छन्। २०८१ साल असार २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको दियालो बङ्गला अवलोकनबाट गत आवमा २४ लाख ५८ हजार ४०० रुपैयाँ राजस्व सङ्कलन भएको छ।

बङ्गला नेपाल ट्रष्टको स्वामित्वमा रहे पनि भरतपुर महानगरपालिकाको पहलमा सर्वसाधारणका लागि खुला गरिएको हो। यहाँबाट प्राप्त राजस्वमध्ये ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत भरतपुर महानगरपालिकाले प्राप्त गर्ने व्यवस्था छ।

दियालो बङ्गला अवलोकनका लागि ज्येष्ठ नागरिक, विद्यार्थी र अपाङ्गता भएका व्यक्तिका लागि ५० रुपैयाँ, स्वदेशी अन्य पर्यटकका लागि १०० रुपैयाँ तथा विदेशी पर्यटकका लागि २०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।

राजपरिवारको हिउँदे मुकाम
ऐतिहासिक महत्त्व बोकेको दियालो बङ्गला तत्कालीन राजपरिवारको हिउँदे बसाइ र सिकारका क्रममा प्रयोग हुने प्रमुख स्थलमध्ये एक थियो। विशेष गरी जाडो महिनामा राजपरिवारले यहाँ लामो समय बिताउने गरेको बताइन्छ।

बङ्गलाको पहिलो तलामा रहेको ठुलो बैठक कक्षमा तत्कालीन राजा महेन्द्र र वीरेन्द्र तथा राजपरिवारका सदस्यका तस्बिरहरू राखिएका छन्। भर्‍याङमा राजा महेन्द्रले २०२६ सालमा सिकारका क्रममा मारेको घडियाल गोही सजाएर राखिएको छ भने बङ्गलाका भित्तामा बाघको टाउकोसमेत संरक्षण गरिएको छ।

दरबारमा पाँच वटा शयन कक्ष रहेका छन्। पहिलो कोठा मुमा रत्न राज्यका लागि प्रयोग हुने गरेको थियो भने दोस्रो र तेस्रो क्रमशः राजा र रानीका लागि तथा चौथो र पाँचौँ राजपरिवारका अन्य सदस्यका लागि प्रयोग गरिन्थ्यो। प्रत्येक कोठासँगै शौचालयको व्यवस्था छ। तत्कालीन राजपरिवारले प्रयोग गरेका विभिन्न सामग्री अहिले पनि बङ्गलामा संरक्षण गरेर राखिएका छन्।

बङ्गलाको परिसरमा राजपरिवारका महिला सुसारेका लागि ‘नानीगञ्ज’, सुरक्षा गार्डका लागि ‘एडिसी क्वाटर’ र सवारीसाधन राख्ने ग्यारेजसमेत छन्। परिसरमा रहेको पौडी पोखरी भने अहिले प्रयोगविहीन अवस्थामा छ। कपडा फेर्न निर्माण गरिएको संरचनामा हाल नेपाल ट्रष्टको एकाइ सञ्चालनमा रहेको छ।

राजपरिवारसँग जोडिएका ऐतिहासिक संरचना र सामग्री अवलोकन गर्न सर्वसाधारणको चासो बढेपछि भरतपुर महानगरपालिकाले नेपाल ट्रष्टसँग समन्वय गरी दियालो बङ्गला खुला गराएको महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताउनुभयो।

दियालो बङ्गला अहिले ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा सर्वसाधारणका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x