
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा अपेक्षाकृत न्यून राजस्व सङ्कलन गरेको छ। यस अवधिमा प्रदेशले वार्षिक लक्ष्यको ३६.२९ प्रतिशत मात्रै अर्थात् २४ अर्ब ४९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्न सकेको छ।
प्रदेश सरकारले साउनदेखि फागुनसम्मका लागि ३० अर्ब ८९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर सो अवधिमा १३ अर्ब ९३ करोड रुपैयाँ मात्रै उठ्न सकेको छ, जुन लक्ष्यको ४५.१३ प्रतिशत हो।
राजस्वका प्रमुख स्रोतका रूपमा घरजग्गा रजिस्ट्रेसन र सवारी साधन कर रहेका छन्। घरजग्गा रजिस्ट्रेसनतर्फ ७ अर्ब ७० करोड रुपैयाँ लक्ष्य राखिएकोमा २ अर्ब ५६ करोड रुपैयाँ मात्रै सङ्कलन भएको छ। यस्तै, सवारी करतर्फ ८ अर्ब २५ करोडको लक्ष्यमध्ये ४ अर्ब ४४ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।
बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि करतर्फ ८ अर्ब ७९ करोड रुपैयाँ अपेक्षा गरिएकामा ५ अर्ब ४ करोड रुपैयाँ सङ्कलन भएको छ भने अन्तःशुल्कतर्फ ४ अर्ब ३ करोडको लक्ष्यमा १ अर्ब ७५ करोड रुपैयाँ मात्रै प्राप्त भएको छ।
त्यसै गरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ १४ अर्ब ८१ करोड रुपैयाँ अपेक्षा गरिएकामा हालसम्म ७ अर्ब ९४ करोड रुपैयाँ मात्रै प्राप्त भएको छ। आन्तरिक स्रोतबाट ४ अर्ब ७७ करोड सङ्कलन गर्ने लक्ष्य राखिएकोमा २ अर्ब ५० करोड रुपैयाँ उठेको छ।
आर्थिक गतिविधिमा आएको सुस्तता, घरजग्गा तथा सवारी खरिद–बिक्रीमा कमी र केही समयअघि भएका आन्दोलनका कारण राजस्व सङ्कलन अपेक्षाअनुसार हुन नसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशको राजस्व सङ्कलन सुस्त, ८ महिनामा लक्ष्यको ३६ प्रतिशत मात्रै प्राप्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
