ग्लोबल आइएमई बैङ्क लिमिटेडले काठमाडौँको उत्तर ढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रवार निर्माण स्थलमा आयोजित एक समारोहबिच बैङ्क सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमि पूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गर्नुभएको हो ।
करिब एक लाख ४६ हजार वर्ग फिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ । जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन् । वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधि समेटेर बैङ्कले यसलाई उपत्यकाकै नमुना व्यावसायिक भवनका रूपमा उभ्याउन खोजेको छ ।
भूमि पूजापछि बोल्दै बैङ्कका अध्यक्ष ढकालले यो भवन वाणिज्य बैङ्कहरूका कर्पोरेट कार्यालय मध्य सबैभन्दा आधुनिक र ठुलो संरचना हुने बताउनुभयो । नयाँ भवन अत्याधुनिक तथा सुविधा सम्पन्न हुनुका साथै काठमाडौँ उपत्यकाको एउटा नमुना (आइकन) भवन बन्नेछ, उहाँले भन्नुभयो । उहाँले अत्याधुनिक भवन निर्माणसँगै सेवाग्राहीलाई बैङ्कको सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी हुने बताउनुभयो ।
त्यस्तै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैङ्कका सेवाग्राही तथा कर्मचारीलाई ध्यानमा राखेर पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले भवनलाई पूर्णतः ऊर्जा बचत गर्ने शैलीमा ढाल्न लागिएको, पानीको समस्या नहोस् भनेर आकाशे पानी सङ्कलन तथा प्रशोधन गर्ने प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा (सोलार) जडान गरिने र यसबाट प्राकृतिक स्रोतको सही उपयोग हुनुका साथै वातावरणीय सन्तुलनमा पनि सघाउ पुग्ने बैङ्कको विश्वास रहेको बताउनुभयो ।
उक्त अवसरमा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूह तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी उत्कृष्ट ग्राहक सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैङ्कले ‘बैङ्क अफ द इयर २०१४’, ‘वेस्ट इन्टरनेट बैङ्क २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘वेस्ट बैङ्क नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैङ्कले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, वेस्ट बैङ्क ईएसजी नेपाल २०२४ र वेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैङ्क हो । बैङ्कले हाल ३४१ शाखा, ३६६ एटिएम, १३६ शाखारहित बैङ्किङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदै आइरहेको छ ।
यसका साथै, बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिटेन्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
ग्लोबल आइएमई बैङ्कले काठमाडौँको उत्तर ढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमि पूजा सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
