ग्लोबल आइएमई बैङ्क लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो खुद मुनाफामा आकर्षक वृद्धि हासिल गरेको छ। समीक्षा अवधिमा बैङ्कले २४.४८ प्रतिशतले खुद नाफा वृद्धि गर्दै २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैङ्कले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
मुख्य रूपमा खुद ब्याज आम्दानीमा देखिएको सकारात्मक प्रगति तथा सम्भावित कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको उल्लेखनीय गिरावटले बैङ्कको नाफा उकास्न ठुलो टेवा पुर्याएको छ। चालू आवको असोज मसान्तसम्म बैङ्कले कर्जा नोक्सानीबापत ४८ करोड ८३ लाख रुपैयाँ मात्रै छुट्याएको छ, जबकि गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब १ करोड रुपैयाँ रहेको थियो।
नाफामा आएको वृद्धिसँगै बैङ्कका अन्य वित्तीय सूचकहरूमा पनि उल्लेख्य सुधार देखिएको छ। यस अवधिमा बैङ्कको प्रतिसेयर आम्दानी (EPS) १५.५१ रुपैयाँबाट बढेर २३.३५ रुपैयाँ पुगेको छ। त्यस्तै, बैङ्कको निष्क्रिय कर्जा (NPL) अनुपातमा पनि सुधार आएर ४.७९ प्रतिशतमा झरेको छ गत वर्ष यो ४.९८ प्रतिशत थियो।
यसै गरी, बैङ्कको कोषको लागत (Cost of Funds) ३.९२ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा सीमित भएको छ भने औसत आधार दर (Base Rate) घटेर ४.६१ प्रतिशतमा कायम भएको छ। यसले बैङ्कको कर्जा प्रवाह थप सस्तो हुँदै गएको सङ्केत गर्छ। यद्यपि, बैङ्कको प्राथमिक पुँजी कोष अनुपात (Core Capital Ratio) भने १०.४१ प्रतिशतबाट घटेर ९.३५ प्रतिशतमा झरेको छ। बैङ्कसँग हाल २ अर्ब ७ करोड रुपैयाँ बराबरको वितरणयोग्य मुनाफा समेत रहेको छ।
