लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सरकारले अवलम्बन गरेका राम्रा नीतिको निरन्तरताले मुलुकमा लगानीको वातावरण बनाउन र लगानीकर्तालाई प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजित विभिन्न सञ्चार माध्यमका प्रधान सम्पादक तथा सम्पादकहरूसँगको छलफलमा अर्थमन्त्री पुनले सरकार परिवर्तन भए पनि सरकारी नीतिहरूले निरन्तरता पाउने र लगानीकर्तालाई लगानीको प्रतिफल लैजान समस्या नहुने बताउनुभयो । उहाँले घरेलु राजनीतिक परिवर्तनले स्वदेशी तथा विदेशी लगानीसम्बन्धी नीतिमा फेरबदल नहुने स्पष्ट पार्नुभयो ।

“सरकार चाँडो परिवर्तन भइरहँदा लगानीसम्बन्धी नीतिहरूमा कस्तो प्रभाव पर्छ भनेर लगानीकर्ताले चासो राख्ने गर्नुभएको छ । सरकार परिवर्तन हुँदा पनि हाम्रा नीतिहरू परिवर्तन हुँदैनन् र घरेलु समस्याले लगानीकर्तालाई अप्ठ्यारो पार्दैन”, उहाँले भन्नुभयो, “पुँजीको विशेषता भनेको लगानीको वातावरण र प्रतिफल प्राप्ति हो । कुनै वाद वा व्यवस्थासँग लगानीकर्ताको मतलब हुँदैन । लगानीकर्ताले वातावरण छ वा छैन भनेर हेर्ने हो । नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ ।”

लगानी प्रतिबद्धताअनुसार उपलब्धि कम देखिए पनि सरकारले पछिल्लो समय विभिन्न कानुनी, प्रक्रियागत तथा संरचनागत सुधार गरेकाले आन्तरिक र वैदेशिक लगानी बढ्ने उहाँको भनाइ छ । पहिलो र दोस्रो लगानी सम्मेलनबाट प्राप्त उपलब्धि तथा सिकाईले तेस्रो लगानी सम्मेलनलाई थप परिष्कृत बनाएको अर्थमन्त्री पुनले बताउनुभयो । भारतमा पनि लगानी प्रतिबद्धताको तुलनामा प्राप्ति करिब ३० प्रतिशत हाराहारी रहेको उल्लेख गर्नुहुँदै उहाँले नेपालको अवस्था यो भन्दा राम्रो रहेको बताउनुभयो ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन विभिन्न कानुन परिमार्जन तथा संरचनागत सुधार हुँदै गएको उहाँको भनाई छ । लगानी सम्मेलनअघि सबै राजनीतिक दल, विषय विज्ञ तथा सरोकारवालसँग पर्याप्त छलफल गर्ने र सम्मेलनमा आबद्ध गराउने उहाँले स्पष्ट पार्नुभयो । “यो सरकारको मात्र सम्मेलन होइन । राष्ट्रकै सम्मेलन हो । यसमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन । आन्तरिक तथा वैदेशिक लगानीमा हामी सबैको समान धारणा छ भन्ने देखाउन चाहन्छौँ”, अर्थमन्त्री पुनले भन्नुभयो ।

निजी क्षेत्र र लगानीकर्ताको सुझाव समेटेर सरकारले अध्यादेशमार्फत कानुनी सुधारको प्रयास गरेको उहाँले बताउनुभयो । अहिले संसद् नचलेको बेला कानुन संशोधन गर्नुपर्ने अवस्था आएकाले अध्यादेशमार्फत प्रक्रिया अघि बढे पनि संशोधित कानुनहरू पारित हुनका लागि संसदमा जाने र त्यहाँबाट पारित भएपछि कार्यान्वयनको चरणमा जाने उहाँले स्पष्ट पार्नुभयो । नेपालमा लगानीका लागि ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृषि प्रशोधनलगायतका क्षेत्र बढी उपयुक्त रहेकाले ती क्षेत्रमा लगानी गर्न उहाँले लगानीकर्तालाई आह्वान गर्नुभयो । नेपालको दुई ठुला छिमेकी मुलुक भारत र चीनसँग मित्रवत् सम्बन्ध रहेकाले यहाँको उत्पादन छिमेकी मुलुकका बजारसम्म पुर्‍याउन समस्या नरहने  बताउनुभयो ।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले लगानी प्रवर्द्धन निरन्तरको प्रयास र प्रक्रिया भएकोले आन्तरिक वातावरण सुधारबाटै यसलाई थप परिष्कृत र नतिजामुखी बनाउनुपर्ने बताउनुभयो । नेपालमा लगानीका वातावरण छ भन्ने आधार स्पष्ट हुँदै गएको भट्टको भनाइ छ । लगानी सम्मेलनमा सार्वजनिक-निजी साझेदारी (पिपिपी) अवधारणाका परियोजना मात्र नभई अन्य सरकारी र निजी क्षेत्रका परियोजनासमेत सोकेसमा राखिने उहाँको भनाइ छ ।

वैशाख १६ र १७ गते दुई दिन चल्ने सम्मेलनका लागि सरकारी र निजी क्षेत्रबाट एक सय ५० हाराहारी आयोजना सोकेसमा लैजाने तयारी सरकारले गरेको छ । सम्मेलनमा विभिन्न विषयका १० वटा सत्रमा छलफल हुनेछ । जसमा ५० जनाको हाराहारीमा वक्ता रहनेछन् । सम्मेलनमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x